के कुनै ख्रिष्टियनले उपचारविधि स्विकार्न मिल्छ?
बाइबलको जवाफ
मिल्छ। येसुले आफ्ना चेलाहरूलाई यस्तो भन्नुभयो, “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको खाँचो पर्छ।” यसबाट उहाँले तिनीहरूलाई आवश्यक उपचारविधि स्विकार्न मिल्छ भन्न खोज्दै हुनुहुन्थ्यो। (मत्ति ९:१२) हुनत बाइबल चिकित्सासम्बन्धी किताब होइन तर यसमा परमेश्वरलाई खुसी बनाउन चाहनेहरूको लागि मदत दिने केही सिद्धान्तहरू पाइन्छ।
आफैलाई सोध्नुपर्ने प्रश्नहरू:
१. के मैले आफूले गर्नुपर्ने उपचारहरूबारे राम्ररी बुझेको छु? बाइबलले हामीलाई आफूले ‘सुनेको सबै कुरा पत्याउनु’ भन्दा भरपर्दो जानकारी खोज्न सल्लाह दिन्छ।—हितोपदेश १४:१५
२. के मैले यसबारे अरू डाक्टरहरूसित पनि परामर्श लिनुपर्छ? विशेषगरि सिकिस्त बिरामी परेको अवस्थामा तपाईँले “धेरै जनासँग सल्लाह” गर्नुभयो भने बुद्धिमानी निर्णय गर्न सक्नुहुनेछ।—हितोपदेश १५:२२
३. के मैले यो उपचारविधि अपनाउँदा “रगतबाट अलग रहनू” भनेर बाइबलमा दिइएको आज्ञा उल्लङ्घन हुन्छ?—प्रेषित १५:२०
४. के यो उपचारविधिमा तन्त्रमन्त्र मुछिएको छ? बाइबलमा परमेश्वरले ‘तन्त्रमन्त्रमा लागिरहने’ मानिसहरूलाई स्विकार्नुहुन्न भनिएको छ। (गलाती ५:१९-२१) कुनै उपचारमा तन्त्रमन्त्र मुछिएको छ कि छैन भनेर थाह पाउन निम्न प्रश्नहरू विचार गर्नुहोस्:
के मेरो उपचार गर्ने डाक्टरले तन्त्रमन्त्रलाई समर्थन गर्ने र अरूलाई पनि त्यसै गर्ने सुझाव दिन्छन्?
कतै यो उपचारविधि देवीदेवता रिसाएकोले वा बोक्सीविद्या गर्नेहरूले बिगार गरेकोले बिरामी भएको हो भन्ने विश्वासमा त आधारित छैन?
औषधी तयार पार्दा वा प्रयोग गर्दा बलि चढाइने, मन्त्र पढिने वा टुनामुना पो गरिन्छ कि?
५. के म आफ्नो स्वास्थ्यबारे ज्यादै चिन्ता लिने गर्छु? बाइबल यसो भन्छ: “तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्।” (फिलिप्पी ४:५) तपाईँ व्यावहारिक हुनुभयो भने आध्यात्मिक गतिविधिहरूजस्ता ‘अझ महत्त्वपूर्ण कुराहरूमा’ ध्यान दिन मदत पाउनुहुनेछ।—फिलिप्पी १:१०; मत्ति ५:३