सीधै सामग्रीमा जाने

सृष्टि या संयोग?

कार्पेन्टर कमिलाको एन्टेना सफा गर्ने विधि

कार्पेन्टर कमिलाको एन्टेना सफा गर्ने विधि

 उड्‌न, चढ्‌न र वरपरको अवस्थाप्रति सचेत रहन किरा-फट्याङ्‌ग्राहरू सफा रहनु अत्यावश्‍यक छ। उदाहरणको लागि, कमिलाको एन्टेना फोहोर छ भने त्यसले कमिलालाई बाटो पत्ता लगाउन, जानकारी आदान-प्रदान गर्न र सुँघ्न बाधा पुऱ्‍याउँछ। त्यसैले जीवशास्त्री एलेक्जान्डर ह्‍याकम्यान भन्छन्‌, “किराहरू कहिल्यै फोहोरी हुँदैनन्‌। कसरी सफा रहने भनेर तिनीहरूलाई थाह हुन्छ।”

 विचार गर्नुहोस्‌: ह्‍याकम्यान र तिनको टोलीले कार्पेन्टर कमिलाको एक प्रजातिले (Camponotus rufifemur) आफ्नो एन्टेना सफा गर्ने विधिबारे अध्ययन गरे। त्यस कमिलाले एन्टेनामा टाँसिएको विभिन्‍न साइजका कणहरू सफा गर्न आफ्नो खुट्टाको प्रयोग गर्छ। त्यसले खुट्टालाई दोबारेर अङ्‌कुसेजस्तो बनाउँछ अनि एन्टेनालाई काइँयोले जसरी कोर्छ। त्यसको खुट्टामा भएका खस्रा रौँहरूले ठूला साइजका कणहरूलाई हटाउँछन्‌। त्यसका खुट्टामा अझै पातला रौँहरू पनि हुन्छन्‌ अनि यी रौँहरूबीचको दुरी एन्टेनामा भएका रौँको साइजसित ठ्याक्कै मिल्छ। यी पातला रौँहरूले स-साना कणहरूलाई हटाउँछन्‌। कमिलाको एन्टेनामा त्योभन्दा पनि सूक्ष्म कणहरू टाँसिएका हुन्छन्‌, जसको साइज मानिसको केशको व्यासको ८० भागको १ भाग हुन्छ। ती सूक्ष्म कणहरूलाई हटाउने अझै मसिना किसिमका रौँहरू पनि त्यसका खुट्टामा हुन्छन्‌।

 कार्पेन्टर कमिलाले आफ्नो एन्टेना सफा गरेको हेर्नुहोस्‌

 कमिलाले आफ्नो एन्टेना सफा गर्ने विधि उद्योगहरूले पनि अपनाउन सक्छन्‌ भन्‍ने निष्कर्षमा ह्‍याकम्यान र तिनको टोली पुगेका छन्‌। उदाहरणको लागि, सूक्ष्म पाटपुर्जा भएका विद्युतीय उपकरण तथा अर्ध-सुचालक उत्पादन गर्दा फोहोरका स-साना कणहरू राम्ररी सफा गर्नु एकदमै महत्त्वपूर्ण हुन्छ किनकि ती कणहरू राम्ररी सफा नगरिएमा उपकरणहरूले ठीकसित काम गर्दैनन्‌। त्यस्ता उद्योगहरूको लागि सरसफाइको यो विधि उपयोगी साबित हुन सक्छ।

 तपाईँको विचार कस्तो छ? कार्पेन्टर कमिलाको एन्टेना सफा गर्ने प्रभावकारी विधि क्रमविकासको उपज हो या सृष्टि?