सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

मैले सिक्न कहिल्यै छोडेको छैनँ

मैले सिक्न कहिल्यै छोडेको छैनँ

“महान्‌ शिक्षक” यहोवाबाट सिक्ने सुअवसर पाएकोमा म उहाँप्रति निकै धन्यवादी छु। (यसै. ३०:२०) उहाँ आफ्ना उपासकहरूलाई आफ्नो वचन बाइबल, सृष्टिका अचम्मलाग्दा कुराहरू र आफ्नो सङ्‌गठनमार्फत सिकाउनुहुन्छ। साथै उहाँ हामीलाई सिकाउन भाइबहिनीलाई पनि प्रयोग गर्नुहुन्छ। हुनत म ९७ वर्ष भइसकेँ तैपनि यी सबै तरिकाहरूमा यहोवाले सिकाउनुभएका कुराहरूबाट लाभ उठाइरहेको छु। कसरी? आउनुहोस्‌, तपाईँहरूलाई बताउँछु।

सन्‌ १९४८ मा परिवारसित

मेरो जन्म सन्‌ १९२७ मा अमेरिकाको सिकागो नजिकैको एउटा सानो सहरमा भयो। हामी परिवारमा पाँच जना छोराछोरी थियौँ—जेथा, डन, म, कार्ल र जोइ। हामी सबै जना तनमनले यहोवाको सेवा गर्न कटिबद्ध थियौँ। मेरी दिदी जेथा १९४३ मा गिलियड स्कुलको दोस्रो कक्षामा गइन्‌। अरू भने ब्रुक्लिन बेथेलमा सेवा गर्न गए। डन १९४४ मा, कार्ल १९४७ मा र जोइ १९५१ मा बेथेल गए। परिवारका सबैको राम्रो उदाहरणले गर्दा मैले पनि यहोवाको सेवामा अझ धेरै गर्न प्रोत्साहन पाएँ।

हाम्रो परिवारले कसरी सत्य सिक्यो?

मेरो आमाबुबा बाइबल पढ्‌नुहुन्थ्यो, परमेश्‍वरलाई प्रेम गर्नुहुन्थ्यो। उहाँहरूले हामी छोराछोरीलाई पनि परमेश्‍वरलाई प्रेम गर्न सिकाउनुभयो। तर प्रथम विश्‍वयुद्धको दौडान युरोपेली सेनामा काम गरेपछि बुबालाई चर्चहरूमा विश्‍वास लाग्न छोड्यो। बुबा सहीसलामत घर फर्कनुभएकोमा आमा निकै खुसी हुनुभयो र परमेश्‍वरलाई धन्यवाद दिनुभयो। अनि आमाले बुबालाई यसो भन्‍नुभयो: “हामी पहिला जस्तै फेरि चर्च जाऔँ न!” बुबाले यसो भन्‍नुभयो: “तिमीलाई पुऱ्‍याइदिन्छु तर मचाहिँ जान्‍नँ।” आमाले “किन नजाने?” भनेर सोध्नुहुँदा बुबाले यसो भन्‍नुभयो: “युद्धको दौडान एउटै धर्म मान्‍ने दुवै पक्षका पादरीहरूले आफ्नो सेनालाई जिताइदिन प्रार्थना गरिरहेका थिए। के परमेश्‍वर दुवै पक्षलाई समर्थन गर्दै हुनुहुन्थ्यो त?”

पछि आमा चर्च जानुभएको बेला हाम्रो घरमा दुई जना यहोवाका साक्षीहरू आए। तिनीहरूले बुबालाई ज्योति (अङ्‌ग्रेजी) भन्‍ने दुई खण्ड भएको किताब दिए। त्यस बाइबल अध्ययन सामग्रीमा प्रकाशको किताबबारे व्याख्या गरिएको थियो। बुबालाई त्यो कुरा बुझ्न मन लाग्यो। त्यसैले उहाँले ती किताबहरू स्विकार्नुभयो। पछि आमाले ती किताबहरू देख्नुभयो र पढ्‌न थाल्नुभयो। एकदिन आमाले स्थानीय अखबारमा ती किताबहरूबाट बाइबल अध्ययन गर्न चाहनेहरूलाई निम्तो दिइएको कुरा देख्नुभयो अनि उहाँले त्यहाँ जाने निर्णय गर्नुभयो। त्यहाँ पुगेपछि एउटी दिदीले ढोका खोल्नुभयो। एउटा किताब देखाउँदै आमाले सोध्नुभयो: “यसबाट यहीँ अध्ययन हुँदै छ हो?” ती दिदीले “हो, भित्रै आउनुहोस्‌ न!” भन्‍नुभयो। त्यसको अर्को हप्ता आमाले हामी सबैलाई त्यहाँ लानुभयो र त्यसपछिदेखि हामी नियमित रूपमा त्यहाँ गयौँ।

एउटा सभामा सञ्चालकले मलाई भजन १४४:१५ पढ्‌न लगाउनुभयो, जहाँ यहोवाको उपासना गर्ने मानिसहरू आनन्दित हुन्छन्‌ भनिएको छ। त्यो पद मलाई एकदमै मन पऱ्‍यो। मलाई पहिलो तिमोथि १:११ पनि एकदमै मन पऱ्‍यो, जहाँ यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ भनिएको छ। एफिसी ५:१ पनि मलाई मन पर्ने शास्त्रपद हो, जहाँ हामीलाई ‘परमेश्‍वरको देखासिकी गर्न’ आग्रह गरिएको छ। सृष्टिकर्ताको उपासना गर्न पाउनु खुसीको कुरा हो र यस्तो सुअवसर पाएकोमा उहाँप्रति धन्यवादी हुनुपर्छ भनेर मैले महसुस गरेँ। मैले जीवनभर यसै गर्ने कोसिस गरेको छु।

हाम्रो घरबाट सबैभन्दा नजिक पर्ने मण्डली ३२ किलोमिटर टाढा सिकागोमा थियो। तैपनि हामी सभाहरूमा उपस्थित हुन्थ्यौँ र बाइबलको मेरो ज्ञान बढ्‌दै गयो। एकचोटि सञ्चालकले मेरी दिदी जेथालाई टिप्पणी दिने मौका दिनुभयो। उहाँको टिप्पणी सुनेपछि मैले यस्तो सोचेँ: “मलाई पनि त्यो आउँथ्यो। मैले पनि हात उठाएको भए टिप्पणी दिन सक्थेँ।” त्यसपछि मैले सभाको तयारी गर्न र टिप्पणीहरू बनाउन थालेँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, म यहोवासित नजिक हुँदै गएँ र १९४१ मा बप्तिस्मा गरेँ।

अधिवेशनहरूमा यहोवाबाट सिक्दै

खासगरि १९४२ मा ओहायोको क्लिभल्याण्डमा भएको अधिवेशन मेरो सम्झनामा ताजै छ। त्यो कार्यक्रम अमेरिकाको अरू ५० ठाउँहरूमा फोनमार्फत सुनाउने प्रबन्ध मिलाइएको थियो। हामी अधिवेशनस्थल नजिकै भाइबहिनीहरूसित पालमा बसेका थियौँ। त्यतिबेला यहोवाका साक्षीहरूमाथि खेदो पनि बढ्‌दै थियो। साँझ मैले केही भाइहरूले आ-आफ्नो गाडी हामी बसेको ठाउँपट्टी होइन, अर्कोपट्टी फर्काएर पार्क गरिरहनुभएको देखेँ। सुरक्षाको लागि रातभरि प्रत्येक गाडीको छेउमा एक-एक जना बस्ने कुरामा सबै जना सहमत हुनुभयो। खतराको कुनै सङ्‌केत देखिएमा आक्रमणकारीहरूले केही पनि देख्न नसकून्‌ भनेर गाडीको लाइट बाल्नुपर्ने थियो र हर्न बजाउनुपर्ने थियो। त्यसपछि अरू सबै जना मदत गर्न त्यहाँ जान सक्ने थिए। मलाई लाग्यो, ‘जस्तोसुकै परिस्थिति आइपरे तापनि यहोवाका सेवकहरू त्यसको लागि तयार छन्‌।’ मैले सुरक्षित महसुस गरेँ र ढुक्क भएर निदाउन सकेँ। त्यस रात कुनै नराम्रो घटना घटेन।

त्यतिबेला आमा अलिकति पनि नआत्तिनुभएको र नडराउनुभएको मलाई अझ पनि याद छ। आमाले यहोवा र उहाँको सङ्‌गठनमाथि पूर्ण भरोसा राख्नुभएको थियो। म उहाँको असल उदाहरण कहिल्यै बिर्सन्‍नँ।

त्यो अधिवेशनको केही समयअघि आमाले नियमित अग्रगामी सेवा सुरु गर्नुभएको थियो। त्यसैले पूर्ण-समय सेवाबारे दिइएका भाषणहरू उहाँले निकै ध्यान दिएर सुन्‍नुभयो। घर फर्कँदै गर्दा उहाँले हामीलाई यसो भन्‍नुभयो: “म अग्रगामी सेवा गरिरहन चाहन्छु। तर एक्लैले घरको सबै काम गर्दै अग्रगामी गर्न गाह्रो छ।” त्यसपछि आमाले हामीसित मदत माग्नुभयो। हामीले ‘हुन्छ, हामी मदत गर्छौँ’ भन्यौँ। त्यसैले उहाँले हामी प्रत्येकलाई बिहानको खाजा खानुअघि एउटा वा दुई वटा कोठा सफा गर्ने जिम्मा दिनुभयो। हामी स्कुल गएपछि आमाले घरमा सबै कुरा ठीक छ कि छैन भनेर हेर्नुहुन्थ्यो। त्यसपछि साक्षीकार्यमा जानुहुन्थ्यो। उहाँ एकदमै व्यस्त हुनुहुन्थ्यो तर उहाँले हामी छोराछोरीलाई कहिल्यै पनि बेवास्ता गर्नुभएन। हामी दिउँसो खाना खान आउँदा र स्कुलबाट फर्किँदा उहाँ सधैँ घरमा हुन्थ्यो। हप्ताको केही दिन स्कुलपछि हामी आमासित साक्षीकार्यमा जान्थ्यौँ, जसले गर्दा अग्रगामीहरूको जीवन कस्तो हुन्छ भनेर बुझ्न सक्यौँ।

पूर्ण-समय सेवा सुरु गर्दै

मैले १६ वर्षको उमेरमा अग्रगामी सुरु गरेँ। हुनत बुबा यहोवाको साक्षी हुनुभएको थिएन। तैपनि मैले साक्षीकार्यमा कस्तो गर्दै छु भनेर चाहिँ उहाँलाई चासो थियो। एक साँझ मैले उहाँलाई जत्ति कोसिस गरे पनि बाइबल अध्ययन भेट्टाउन सकेको छैनँ भनेर बताएँ। अनि एकछिन रोकिएर मैले उहाँलाई नै सोधेँ: “तपाईँ मसित बाइबल अध्ययन गर्नुहुन्छ?” उहाँले एकछिन सोच्नुभयो र यस्तो जवाफ दिनुभयो: “मसित नाइँ भन्‍ने कुनै कारण नै छैन!” हो, मेरो पहिलो बाइबल विद्यार्थी मेरो बुबा हुनुहुन्थ्यो। कत्ति ठूलो सुअवसर!

हामीले ‘सत्यले तपाईँलाई स्वतन्त्र तुल्याउनेछ’ (अङ्‌ग्रेजी) भन्‍ने किताबबाट अध्ययन गर्न थाल्यौँ। अध्ययन गर्दै जाँदा मैले के महसुस गरेँ भने बुबाले मलाई अझ राम्रो विद्यार्थी र शिक्षक हुन मदत गरिरहनुभएको थियो। एकचोटिको कुरा हो, एउटा अनुच्छेद पढेपछि बुबाले यसो भन्‍नुभयो: “यो त मैले बुझेँ। तर यहाँ लेखिएको कुरा सत्य हो भनेर तिमी किन भन्‍न सक्छौ?” मसित त्यस प्रश्‍नको जवाफ थिएन। त्यसैले मैले उहाँलाई यसो भनेँ: “अहिले त म यसको जवाफ दिन सक्दिनँ तर अर्को अध्ययनसम्ममा म तपाईँलाई यसको जवाफ पक्कै दिनेछु।” हामीले छलफल गरिरहेको बुँदालाई समर्थन गर्ने बाइबल पदहरू मैले खोजेँ र बुबालाई जवाफ दिएँ। त्यसपछिदेखि मैले अध्ययनको लागि अझ राम्ररी तयारी गरेँ र अनुसन्धान गरेँ। यसले गर्दा हामी दुवै जना आध्यात्मिक तवरमा अझ परिपक्व हुँदै गयौँ। आफूले सिकिरहेको कुरा उहाँले लागू गर्नुभयो र १९५२ मा बप्तिस्मा गर्नुभयो।

बेथेलमा अझ धेरै सिक्दै

सत्र वर्षको छँदा म घर छोडेर छुट्टै बस्न थालेँ। त्यही समयतिर जेथा a दिदी मिसनरी हुनुभयो र डन दाइले बेथेल सेवा गर्न थाल्नुभयो। उहाँहरू दुवै जना आ-आफ्नो असाइनमेन्टमा रमाइरहनुभएको थियो। त्यो कुरा देखेर मैले निकै प्रोत्साहन पाएँ। मैले बेथेलको र गिलियड स्कुलको फाराम भरेँ र बाँकी कुरा यहोवाको हातमा छोडिदिएँ। नतिजा कस्तो भयो? मैले १९४६ मा बेथेल सेवा गर्ने निम्तो पाएँ।

वर्षौँको दौडान मैले बेथेलमा विभिन्‍न किसिमका असाइनमेन्टहरू पाएँ, जसले गर्दा मैले नयाँ-नयाँ कुराहरू सिक्न सकेँ। मैले ७५ वर्ष बेथेल सेवा गर्दा किताबहरू छाप्ने र लेखाको काम गर्ने तरिका सिकेँ। साथै बेथेलमा आवश्‍यक पर्ने कुराहरू किन्‍ने र सामानहरू ढुवानी गर्ने काम पनि सिकेँ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, बिहानको उपासना र बेथेल लेक्चरहरूमार्फत दिइने आध्यात्मिक भोजनबाट मैले निकै लाभ उठाएको छु।

एल्डरहरूको स्कुलमा सिकाउँदै

सन्‌ १९४७ मा मेरो भाइ कार्ल पनि बेथेल आयो। मैले ऊबाट थुप्रै कुराहरू सिकेँ। ऊ बाइबलको राम्रो विद्यार्थी र शिक्षक थियो। एकपटक मैले आफूले दिनुपर्ने भाषणको लागि ऊसित मदत मागेँ। मैले थुप्रै जानकारी जम्मा गरेको तर ती कसरी प्रयोग गर्ने भनेर चाहिँ अलमलिरहेको कुरा उसलाई बताएँ। उसले मलाई एउटा प्रश्‍न सोध्यो: “जोयल, तिम्रो भाषणको मुख्य विषय के हो?” मैले कुरा बुझिहालेँ। मैले भाषणको मुख्य बुँदामा जोड दिन मदत गर्ने जानकारी मात्र प्रयोग गर्नुपर्थ्यो। आफूले सिकेको यो पाठ मैले अहिलेसम्म बिर्सेको छैनँ।

आनन्दित भई बेथेल सेवा गर्न हामीले साक्षीकार्यमा पूरापूर भाग लिनुपर्छ। यसो गऱ्‍यौँ भने प्रोत्साहनदायी अनुभवहरू बटुल्न सक्छौँ। मैले अक्सर सम्झिने एउटा अनुभव न्यु योर्क सहरको हो। म र एक जना भाइ पहिला हाम्रो प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाहरू स्विकारेकी एक महिलालाई भेट्‌न गयौँ। हामीले यसो भन्दै आफ्नो परिचय दियौँ: “आज हामी मानिसहरूलाई बाइबलबाट केही राम्रा कुराहरू बताउँदै छौँ।” तिनले यसो भनिन्‌: “बाइबलको कुरा हो भने भित्रै आउनुस्‌ न!” हामीले परमेश्‍वरको राज्य र आउँदै गरेको नयाँ संसारबारे थुप्रै बाइबल पदहरू पढ्यौँ र छलफल गऱ्‍यौँ। त्यो कुरा तिनलाई पक्कै मन परेको हुनुपर्छ। किनभने तिनले अर्को हप्ता हामीसित कुरा गर्न केही साथीहरूलाई पनि बोलाएकी थिइन्‌। पछि तिनी र तिनको पतिले वफादार भई यहोवाको सेवा गरे।

जीवनसाथीबाट सिक्दै

म विवाह गर्न चाहन्थेँ। त्यसैले मैले सुहाउँदो जीवनसाथी खोज्न थालेँ। तर सजिलो भने थिएन, झन्डै १० वर्ष लाग्यो। सुहाउँदो जीवनसाथी भेट्टाउन मैले एउटा प्रश्‍नबारे प्रार्थनापूर्वक विचार गरेँ। त्यो प्रश्‍न थियो: “विवाह गरिसकेपछि म के गर्न चाहन्छु?”

मेरीसित क्षेत्रीय भ्रमणमा

मैले १९५३ मा याङ्‌की रङ्‌गशालामा भएको अधिवेशनपछि मेरी आन्योललाई भेटेँ। उनी जेथा दिदीसितै गिलियड स्कुलको दोस्रो कक्षामा गएकी थिइन्‌। अनि उनले र दिदीले एउटै ठाउँमा मिसनरीको असाइनमेन्ट पाएका थिए। एकदमै उत्सुक भएर मेरीले क्यारेबियन टापुहरूमा आफूले पाएको मिसनरी असाइनमेन्टबारे र त्यहाँ वर्षौँको दौडान आफूले गरेका बाइबल अध्ययनहरूबारे बताइन्‌। हामीले एकअर्कालाई अझै राम्रोसँग चिन्दै गएपछि हाम्रो आध्यात्मिक लक्ष्य एउटै रहेछ भन्‍ने महसुस गऱ्‍यौँ। हामीले एकअर्कालाई मन पराउन थाल्यौँ र अप्रिल १९५५ मा विवाह गऱ्‍यौँ। उनी मेरो लागि यहोवाले दिनुभएको उपहार साबित भएकी छिन्‌ र मैले उनीबाट थुप्रै राम्रा कुराहरू सिकेको छु। जस्तोसुकै असाइनमेन्ट पाए पनि उनी खुसीसाथ त्यो पूरा गर्छिन्‌। उनी मेहनती छिन्‌, अरूको साँचो ख्याल राख्छिन्‌ र राज्य गतिविधिलाई सधैँ प्रथम स्थान दिन्छिन्‌। (मत्ति ६:३३) हामीले तीन वर्षसम्म क्षेत्रीय निरीक्षकको रूपमा सेवा गऱ्‍यौँ अनि १९५८ मा बेथेल सेवा गर्ने निम्तो पायौँ।

मैले मेरीबाट थुप्रै कुराहरू सिकेको छु। जस्तै, विवाहपछि हामीले सँगै बाइबल पढ्‌ने तालिका बनायौँ। हामी एकचोटिमा लगभग १५ वटा पदहरू पढ्‌थ्यौँ। बाइबल पढेपछि हामी दुवै जना ती पदहरूबारे केही बताउँथ्यौँ र त्यसबाट सिकेको कुरा जीवनमा कसरी लागू गर्ने भनेर छलफल गर्थ्यौँ। मेरीले गिलियड स्कुलमा र मिसनरीको रूपमा सेवा गर्दा सिकेका कुराहरू बताइरहन्थिन्‌। यस्ता कुराकानीबाट मैले आफ्नो भाषण कसरी अझ राम्रो बनाउने र दिदीबहिनीहरूलाई मन छुने तरिकामा कसरी प्रोत्साहन दिने भनेर सिकेँ।—हितो. २५:११.

सन्‌ २०१३ मा मेरीको मृत्यु भयो। म नयाँ संसारमा उनलाई भेट्‌ने दिनको बाटो हेर्दै छु। त्यतिन्जेल म यहोवाबारे सिकिरहन र सारा हृदयले यहोवामा भर परिरहन कटिबद्ध छु। (हितो. ३:५, ६) नयाँ संसारमा हाम्रो जीवन कस्तो हुनेछ भनेर सोच्दा म धेरै खुसी हुन्छु र सान्त्वना पाउँछु। त्यतिबेला हामीले महान्‌ शिक्षक यहोवाबाट थुप्रै कुराहरू सिक्नेछौँ र उहाँबारे पनि धेरै कुराहरू थाह पाउनेछौँ। हो, यहोवाले मलाई सिकाउनुभएका कुराहरूबारे सोच्दा र उहाँले मलाई देखाउनुभएको असीम अनुग्रहबारे विचार गर्दा म उहाँलाई धन्यवाद नदिई बस्नै सक्दिनँ।

a जेथा सुनालको जीवनी मार्च १, २००३ अङ्‌कको प्रहरीधरहरा-को पृ. २३-२९ मा हेर्नुहोस्‌।