घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?
३ | घृणालाई जरैदेखि उखेल्नुहोस्
बाइबलको शिक्षा:
“आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्। तब तिमीहरूले परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक्नेछौ।”—रोमी १२:२.
यसको अर्थ के हो?
हामी के सोच्छौँ, त्यसमा ईश्वर चासो राख्नुहुन्छ। (यर्मिया १७:१०) हामीले घृणा झल्किने बोली नबोल्नु र व्यवहार नगर्नु मात्र पर्याप्त छैन। घृणा भन्ने दुर्गुण मन र दिमागबाट सुरु हुन्छ। त्यसैले हामीले आफ्नो मन र दिमागमा अलिकति पनि घृणा पलाउन दिनु हुँदैन। त्यसो गऱ्यौँ भने मात्र हामीमा “पूरै परिवर्तन” आउनेछ र घृणालाई जरैसमेत उखेलेर फ्याँक्न सक्नेछौँ।
तपाईँ के गर्न सक्नुहुन्छ?
अरू मानिसप्रति, खासगरि अरू जात वा राष्ट्रका मानिसहरूप्रति तपाईँको सोचाइ र भावना कस्तो छ, इमानदार भई जाँच्नुहोस्। आफैलाई सोध्नुहोस्: ‘म तिनीहरूप्रति कस्तो दृष्टिकोण राख्छु? मैले तिनीहरूलाई राम्ररी चिनेकोले त्यस्तो दृष्टिकोण राखेको हुँ कि पूर्वाग्रहले गर्दा?’ घृणा र हिंसालाई बढवा दिने सामाजिक सञ्जालका पोस्टहरू वा चलचित्रहरू नहेर्नुहोस्। साथै त्यस्ता कुराहरूलाई बढवा दिने मनोरञ्जनदेखि अलग रहनुहोस्।
ईश्वरको वचनले हामीलाई मन र दिमागबाट घृणा हटाउन मदत गर्छ
आफ्नो विचार र भावना जाँच्न सधैँ सजिलो हुँदैन। तर परमेश्वरको वचनले हामीलाई “हृदयको विचार र आशय जाँच्न” मदत गर्छ। (हिब्रू ४:१२) त्यसैले नियमित रूपमा बाइबल पढ्नुहोस्। बाइबलको शिक्षा अनि आफ्नो सोचाइ तुलना गरेर हेर्नुहोस्। त्यसपछि आफ्नो सोचाइलाई बाइबलको शिक्षाअनुसार ढाल्न सकेजति गर्नुहोस्। बाइबलले दिमाग र मनमा “गहिरो जरा गाडेर” बसेको घृणालाई उखेल्न मदत गर्छ।—२ कोरिन्थी १०:४, ५.