सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Georgette Douwma/Stone via Getty Images

के पृथ्वी रहिरहला?

समुद्र

समुद्र

समुद्रबाट हामी थुप्रै किसिमका खानेकुराका साथै औषधी बनाउनको लागि चाहिने कच्चा पदार्थहरू पाउँछौँ। पृथ्वीका जीवजन्तुलाई चाहिने ५० % भन्दा धेरै अक्सिजन समुद्रबाटै उत्पादन हुन्छ र मानव गतिविधिबाट निस्किएको कार्बन ग्याँस समुद्रले सोस्छ। त्यति मात्र होइन, समुद्रले जलवायुलाई सन्तुलनमा राख्न पनि मदत गर्छ।

जोखिममा समुद्र

जलवायु परिवर्तनले गर्दा मुगाढिस्काहरू, स्रिम्प, प्राउन र गङ्‌गटाजस्ता खपटे जीवहरू र अन्य समुद्री जीवहरू खतरामा परेका छन्‌। समुद्रका एक चौथाइ जलजन्तु मुगाढिस्काहरूमै निर्भर छन्‌। तर वैज्ञानिकहरूको अनुमानअनुसार अबको ३० वर्षभित्र ती ढिस्काहरू लोप हुन सक्छन्‌।

विज्ञहरूका अनुसार आहाराको लागि समुद्रमा भर पर्ने ९० % भन्दा धेरै चराले प्लास्टिक खाएका हुन सक्छन्‌ र समुद्रमा फालिएका प्लास्टिकहरूले गर्दा प्रत्येक वर्ष लाखौँ जलजन्तु मर्ने गरेका छन्‌।

सन्‌ २०२२ मा संयुक्‍त राष्ट्र सङ्‌घका महासचिव एन्टोनियो गुटेरेसले यसो भने: “हामीले समुद्रलाई बेवास्ता गरेका छौँ। त्यसैले समुद्र अहिले आकस्मिक अवस्थामा पुगेको छ।”

कहिल्यै नाश नहुनेगरि बनाइएको ग्रह—पृथ्वी

समुद्र र त्यसमा भएका जीवहरू आफैलाई सफा र स्वच्छ राख्न सक्नेगरि बनाइएका छन्‌। तर मानिसहरूले गर्दा भएको प्रदूषणले त्यस प्रक्रियामा बाधा पुगेको छ। एउटा किताबअनुसार a उद्योगहरूबाट निस्कने फोहोरबाट समुद्रलाई जोगाउन सकियो भने “आफैलाई सफा र स्वच्छ राख्ने समुद्रको क्षमताले काम गरिरहन्छ।” केही उदाहरण विचार गरौँ:

  • पृथ्वीको तापक्रम वृद्धि गराउने एउटा ग्याँस कार्बन डाइअक्साइड हो। फाइटो-प्लाङ्‌क्टन भन्‍ने सूक्ष्मजीवले त्यो ग्याँस लिन्छ र सञ्चय गर्छ। रूखहरू, घाँसहरू र जमिनमा पाइने अरू बोटबिरुवाले समग्रमा जति कार्बन डाइअक्साइड सञ्चय गर्न सक्छन्‌, फाइटो-प्लाङ्‌क्टन भन्‍ने जीवहरूले पनि लगभग त्यति नै कार्बन डाइअक्साइड सञ्चय गर्न सक्छन्‌।

  • सूक्ष्मजीवहरूले मरेको माछाको कत्ला र काँडाहरू खान्छन्‌, जसले गर्दा समुद्र दूषित हुन पाउँदैन। अनि ती सूक्ष्मजीवहरूलाई पनि अन्य समुद्री जीवहरूले खान्छन्‌। यस्तो चक्रले गर्दा “समुद्र सफा र स्वच्छ भइरहन्छ” भनी स्मिथसोनियन इन्स्टिट्युसन ओसन पोर्टल बताउँछ।

  • समुद्रको अम्लीय पानीले मुगाढिस्काहरू, खपटे जीवहरू र अन्य समुद्री जीवहरूलाई हानि पुऱ्‍याउँछ। समुद्रका थुप्रै जीवको पाचन प्रणालीले त्यस्तो अम्लीय पानीलाई क्षारयुक्‍त (अल्कालाइन) स्वस्थकर पानीमा परिणत गर्छ।

सुधारका प्रयासहरू

पुनःप्रयोग गर्न मिल्ने झोला र बोतलहरू प्रयोग गऱ्‍यौँ भने समुद्रमा प्लास्टिकको मात्रा निकै कम हुन्छ

समुद्रमा फोहोर नै फ्याँकिएन भने त्यसलाई सफा गर्नै पर्दैन। त्यसैले विज्ञहरूले एक चोटि प्रयोग गरेर फ्याँकिने प्लास्टिकका सामानहरू प्रयोग नगर्न बरु त्यसको सट्टा पुनःप्रयोग गर्न सकिने झोला, भाँडाकुँडा र अन्य सरसामानहरू प्रयोग गर्न मानिसहरूलाई प्रोत्साहन दिएका छन्‌।

तर यति प्रयास पर्याप्त छैन। हालै वातावरण संरक्षणसम्बन्धी एउटा सङ्‌गठनले एक वर्षमा समुद्रका किनाराहरूबाट ९ हजार २०० टन फोहोर जम्मा गऱ्‍यो। यो अभियान ११२ वटा देशमा चलाइएको थियो। तर यो फोहोर प्रत्येक वर्ष समुद्रमा फालिने फोहोरको हजार भागको एक भागजति मात्र हो।

नेसनल जियोग्राफिक पत्रिकाअनुसार ‘समुद्रमा अम्लीयपन यत्ति धेरै बढिसक्यो कि त्यसलाई पहिलाकै अवस्थामा फर्काउन असम्भवजस्तो देखिन्छ। मानिसहरूले अत्यधिक मात्रामा जैविक इन्धन खपत गरिरहेका छन्‌। त्यसैले समुद्र यसमा भएका जीवहरूले सफा गर्नै नसक्ने हदसम्म पुगिसक्यो।’

बाइबलमा कस्तो आशा पाउँछौँ?

“पृथ्वी तपाईँको सृष्टिले भरिपूर्ण छ। अनि समुद्र कत्ति विशाल र फराकिलो छ! साना-ठूला सबै किसिमका अनगिन्ती जलजन्तुले त्यो भरिभराउ छ।”—भजन १०४:२४, २५.

हाम्रो सृष्टिकर्ताले समुद्रलाई आफै स्वच्छ हुने क्षमतासहित सृष्टि गर्नुभयो। सोच्नुहोस्‌ त, उहाँलाई समुद्र र त्यसमा भएका जीवजन्तुबारे यत्ति धेरै कुरा थाह छ भने के उहाँले त्यसमा पुऱ्‍याइएको हानिलाई सच्याउन सक्नुहुन्‍न होला र? पृष्ठ १५ मा भएको “परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ” भन्‍ने लेख हेर्नुहोस्‌।

a Regeneration: Ending the Climate Crisis in One Generation