सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विनाशसूचक घडीले सङ्‌केत गरेझैं पृथ्वीमा महाविनाश कहिल्यै हुनेछैन किनभने परमेश्‍वरले मानिस र पृथ्वीको भविष्य उज्ज्वल बनाउने प्रतिज्ञा गर्नुभएको छ

आवरण लेख | के संसारको अवस्था कहिल्यै सुध्रिएला?

बाइबल के भन्छ?

बाइबल के भन्छ?

यस संसारको नाजुक अवस्थाबारे बाइबलमा शताब्दियौं अघि नै भविष्यवाणी गरिएको थियो। त्यति मात्र होइन, बाइबलमा मानिसजातिको भविष्य उज्ज्वल हुनेछ भनेर पनि पहिल्यै बताइएको थियो। बाइबलले बताउने कुराहरूमा एक रत्ती पनि फरक परेको छैन, एक-एक पूरा भएको छ। त्यसकारण बाइबलको कुरालाई त्यतिकै बेवास्ता गर्न मिल्दैन।

उदाहरणका लागि, बाइबलका केही भविष्यवाणीहरू विचार गरौं:

  • “जातिको विरुद्धमा जाति अनि राज्यको विरुद्धमा राज्य उठ्‌नेछ र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछ।”—मत्ती २४:७.

  • ‘अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, परमेश्‍वरको निन्दा गर्ने, आमाबाबुको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्‍वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्‍वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने हुनेछन्‌।’—२ तिमोथी ३:१-४.

यी भविष्यवाणीहरू पढ्‌दा संसारको अवस्था सुधार्नै नसकिनेगरि दिनदिनै खस्कँदै गइरहेको छ भनेर कसै-कसैलाई लाग्न सक्छ। एक अर्थमा यो संसार अनियन्त्रित भइसक्यो, यो मानिसको नियन्त्रणबाहिर गइसक्यो। विभिन्‍न समस्याको स्थायी समाधान गर्न चाहिने बुद्धि र क्षमता मानिसहरूसँग छैन भनी बाइबलले बताउँछ। तल दिइएका शास्त्रपदहरूले यो कुराको पुष्टि गर्छ:

  • “कुनै बाटो मानिसलाई सीधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमा नै पुऱ्‍याउने हुन्छ।” —हितोपदेश १४:१२.

  • “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।”—उपदेशक ८:९.

  • “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।”—यर्मिया १०:२३.

यदि मानिसहरूले मनपरी गर्न छोडेनन्‌ भने पृथ्वीमा महाप्रलय हुन सक्छ। तर यस्तो कदापि हुनेछैन! किन? किनभने बाइबल यसो भन्छ:

  • परमेश्‍वरले “त्यो कहिल्यै नडग्मगाओस्‌ भनेर . . . पृथ्वीको जग बसाल्नुभयो।”—भजन १०४:५.

  • “पुस्ताहरू आउँछन्‌, पुस्ताहरू जान्छन्‌, तर पृथ्वीचाहिं सदासर्वदै रहिरहन्छ।”—उपदेशक १:४.

  • “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

  • “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्त गरी अन्‍न हुनेछ।”—भजन ७२:१६.

यी बाइबलका शिक्षाहरूले स्पष्ट जवाफ दिन्छ। मानिसजाति प्रदूषण, अनिकाल वा कुनै महामारीको कारण लोप भएर जानेछैन। पृथ्वी आणविक युद्धको कारण विनाश हुनेछैन। किन? वास्तवमा हाम्रो पृथ्वीको भविष्य परमेश्‍वरको हातमा छ। परमेश्‍वरले मानिसलाई स्वतन्त्र इच्छाअनुसार चल्न र त्यसको नतिजा भोग्न दिनुभएको छ। (गलाती ६:७) संसार ब्रेक फेल भएर डरलाग्दो दुर्घटनामा पर्न लागेको गाडीजस्तो पूर्णतया अनियन्त्रित भएको छैन। मानिसहरूलाई कुन हदसम्म आफूमाथि समस्या निम्त्याउन दिने भनेर परमेश्‍वरले सीमा तोक्नुभएको छ।—भजन ८३:१८; हिब्रू ४:१३

उहाँले पृथ्वीको अवस्था सुधार्नु मात्र हुन्‍न, उहाँले पृथ्वीमा “प्रशस्त शान्ति” पनि ल्याउनुहुनेछ। (भजन ३७:११) यस लेखको सुरुमा हाम्रो भविष्यबारे बताइएको सकारात्मक कुरा पछि हुने कुराको एउटा सानो झल्को मात्र हो, जसबारे लाखौं यहोवाका साक्षीहरूले बाइबलबाट अध्ययन गरेर थाह पाएका छन्‌।

यहोवाका साक्षीहरू एउटा विश्‍वव्यापी समाज हो, जुन सबै उमेर-समूहका अनि सबै संस्कृतिका मानिसहरू मिलेर बनेको छ। उनीहरू एक जना साँचो परमेश्‍वरको उपासना गर्छन्‌ अनि उहाँको नाम यहोवा हो भनेर बाइबलले बताउँछ। उनीहरू भविष्यमा के होला भनेर डराउँदैनन्‌ किनभने बाइबल भन्छ: “स्वर्ग सृजने परमप्रभु यसो भन्‍नुहुन्छ, (उहाँ परमेश्‍वर हुनुहुन्छ!) जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो। (उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आवाद गर्नलाई बनाउनुभयो।) म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन।”—यशैया ४५:१८.

यस लेखले पृथ्वी र मानिसको भविष्यबारे बाइबलले के सिकाउँछ भनेर स्पष्ट पाऱ्‍यो। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिकाको अध्याय ५ हेर्नुहोस्‌। यो पुस्तिका www.mt1130.com/ne मा उपलब्ध छ।

तपाईंले www.mt1130.com/ne मा उपलब्ध परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो? भन्‍ने भिडियो पनि हेर्न सक्नुहुन्छ। (प्रकाशनहरू > भिडियोहरू अन्तर्गत हेर्नुहोस्‌)