सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलको दृष्टिकोण

लोभमा फस्नु

लोभमा फस्नु

लोभमा फस्यौं भने पछि गएर दोषी महसुस हुने, वैवाहिक सम्बन्ध वा स्वास्थ्य बिग्रने जस्ता खराब नजिताहरू भोग्नुपर्ने हुन सक्छ। त्यसोभए हामी कसरी लोभमा फस्नदेखि जोगिन सक्छौं?

लोभमा फस्नु भनेको के हो?

कुनै कुरा पाउने इच्छा अझ विशेषगरि गलत कुरा पाउने इच्छा तीव्र भयो भने तपाईं लोभमा फस्ने सम्भावना बढी हुन्छ। एउटा परिस्थिति कल्पना गर्नुहोस्, तपाईं बजारमा किनमेल गर्दै हुनुहुन्छ। अनि तपाईंले एउटा एकदमै आकर्षक सामान देख्नुभयो। त्यो सामान चोरेर अरूले थाह नपाउने गरी सजिलै भाग्न सक्छु जस्तो तपाईंलाई लाग्छ। तर तपाईंको मनले भने त्यसो गर्न मान्दैन। त्यसैले तपाईं त्यस्तो गलत इच्छालाई हटाउनुहुन्छ र आफ्नो बाटो लाग्नुहुन्छ। यसरी तपाईं लोभमा फस्नदेखि जोगिनुहुन्छ।

बाइबले के भन्छ?

 

कसैको मनमा लोभ जाग्यो भन्दैमा उसलाई नराम्रो व्यक्ति भनिहाल्न मिल्दैन। वास्तवमा लोभमा पर्ने अवस्था हामी सबैमाथि आइपर्न सक्छ भनी बाइबल बताउँछ। (१ कोरिन्थी १०:१३) तर लोभमा पर्दा हामी के गर्छौं, त्यो चाहिं महत्त्वपूर्ण छ। कोही-कोही गलत इच्छालाई आफ्नो मनबाट हटाउँदैनन्‌ र लोभमा फस्छन्‌। अरू भने गलत इच्छा आउने बित्तिकै आफ्नो मनबाट ती हटाइहाल्छन्‌।

“तर हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ।”—याकूब १:१४.

लोभलाई आफ्नो मनबाट हटाउन किन तुरुन्तै कदम चाल्नुपर्छ?

हामी गलत काम गर्ने हदसम्म कसरी पुग्छौं भनेर बाइबलमा बताइएको छ। याकूब १:१५ यसो भन्छ: “जब [अनुचित] तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ; अनि पाप गरेपछि मृत्यु उत्पन्न हुन्छ।” सरल शब्दमा भन्नुपर्दा, कुइच्छालाई मनमा खेलाइरहन्छौं भने गर्भवती महिलाले बच्चा जन्माउने कुरा पक्का भएजस्तै हामी पनि एक न एक दिन गलत काम गर्ने हदसम्म पुग्छौं। तर हामी गलत इच्छाहरूको वशमा पर्नदेखि जोगिन सक्छौं; त्यस्ता इच्छाहरूलाई काबूमा राख्न सक्छौं।

बाइबलले कसरी मदत गर्न सक्छ?

 

मनमा खेलिरहेका गलत इच्छाहरूलाई हामी हटाउन सक्छौं। कसरी? आफ्नो ध्यान अन्तै मोडेर। जस्तै: कुनै गतिविधिमा भाग लिएर, साथीसँग कुराकानी गरेर वा कुनै राम्रो विषयमा मनन गरेर। (फिलिप्पी ४:८) साथै लोभमा फस्दा त्यसले निम्त्याउन सक्ने भावनात्मक, शारीरिक र आध्यात्मिक हानिबारे पहिल्यै विचार गर्नु पनि फाइदाजनक हुन्छ। (व्यवस्था ३२:२९) प्रार्थनाले पनि मदत गर्छ। येशू ख्रीष्टले यसो भन्नुभयो: “परीक्षामा नपर्न तिमीहरू जागा रहो र निरन्तर प्रार्थना गर।”—मत्ती २६:४१.

“नबहकिओ: परमेश्वरलाई झुक्क्याउन सकिंदैन। किनकि मानिसले जे छर्दैछ, त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७.

लोभमा फस्नदेखि जोगिन तपाईं के गर्न सक्नुहुन्छ?

वास्तविकता

 

मूर्ख वा कम अनुभवी व्यक्ति सजिलै लोभमा फस्न सक्छ। कुनै कुराको पासोमा परेर उसले आफैमाथि दुःख निम्त्याउँछ। (याकूब १:१४) यौन अनैतिकताको पासोमा फस्नेहरूको सन्दर्भमा यो कुरा अझ सत्य साबित हुन्छ। यसले दुःखदायी नतिजाहरू निम्त्याउन सक्छ।—हितोपदेश ७:२२, २३.

बाइबलले कसरी मदत गर्न सक्छ?

 

येशू ख्रीष्टले यसो भन्नुभयो, “यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेऊ।” (मत्ती ५:२९) येशूले साँच्चैको आँखा निकाल्ने कुरा गरिरहनुभएको थिएन। बरु, कुइच्छाहरू उत्पन्न हुने शरीरका अङ्‌गहरूलाई मार्नुपर्छ अर्थात्‌ लोभमा फस्नदेखि जोगिन ठोस कदम चाल्नै पर्छ भन्न खोज्दै हुनुहुन्थ्यो। (कलस्सी ३:५) यसरी हामी परमेश्वरलाई खुसी बनाउन सक्छौं र अनन्त जीवन पाउन योग्य हुन सक्छौं। परमेश्वरका एक वफादार जनले यसरी प्रार्थना गरे, “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्।”—भजन ११९:३७.

साँच्चै, आत्मसंयम देखाउन सजिलो छैन। बाइबलले “शरीर . . . कमजोर छ” भनेर बताउँछ। (मत्ती २६:४१) त्यसैले हामीबाट गल्तीहरू हुन्छ। तर हामीले साँचो पश्‍चात्ताप गऱ्यौं र गल्ती नदोहोऱ्याउने कोसिस गऱ्यौं भने हाम्रो सृष्टिकर्ता यहोवाले हामीलाई ‘दया र अनुग्रह’ देखाउनुहुन्छ। (भजन १०३:८) कत्ति सान्त्वनादायी कुरा!

“हे परमप्रभु, तपाईंले पापको लेखा लिनुभयो भने त, हे प्रभु, को खडा हुन सक्छ र?”—भजन १३०:३, NRV.