के परमेश्वरले लडाइँलाई अनुमोदन गर्नुहुन्छ?
बाइबलको दृष्टिकोण
के परमेश्वरले लडाइँलाई अनुमोदन गर्नुहुन्छ?
शासक, सेनापति तथा पादरीहरूले समेत कयौं पटक परमेश्वरको नाउँमा लडाइँ घोषणा गरेका छन् वा लडाइँ गर्न सहमति जनाएका छन्! सन् १०९५ मा पोप अर्बान द्वितीयको समर्थन पाएर “पवित्र शहर” यरूशलेमलाई आफ्नो अधीनमा लिनको लागि मसीहीजगत्ले पहिलो धार्मिक युद्ध मच्चायो। तर ती धार्मिक योद्धाहरू आफ्नो लक्ष्यमा पुग्नुभन्दा अगावै तिनीहरूको त्रिएकमा जति बलियो विश्वास थियो, अल्लाहका लागि त्यत्ति नै जोस भएका तुर्कीका मानिसहरूले ती धार्मिक योद्धाहरूलाई परास्त गरे।
प्रथम विश्वयुद्धको दौडान झ्यालखानामा परेका एक जना जवान जर्मनले अगस्त १९१४ मा यस्तो लेखे: “मानव इतिहासमा न्याय तथा ईश्वरीय डोऱ्याइ छ भने जित हाम्रै हुन्छ। अनि यस्तो डोऱ्याइ छ भनेर म पक्का छु।” त्यही महिनामा जार निकोलास द्वितीयले यस्तो घोषणा गर्दै जर्मनीको विरुद्ध रूसी सेना परिचालन गरे: “मेरा वीर सिपाहीहरू तथा मेरा उत्कृष्ट मित्रहरूलाई म व्यग्र अभिवादन पठाउँछु। परमेश्वर हामीसँग हुनुहुन्छ!”
त्यसकारण परमेश्वर आफ्नो पक्षमा हुनुहुन्छ भन्ने कुरामा पूर्णतया विश्वस्त भएर साहसी हुँदै करोडौं सिपाहीहरू युद्धभूमिमा उत्रेका छन्। स्वतन्त्रता प्राप्त गर्न गरिएका यस्ता लडाइँहरूलाई परमेश्वरले समर्थन गर्नुहुन्छ भनी थुप्रै मानिसहरू विश्वास गर्छन् र यो कुरा प्रमाणित गर्न तिनीहरूले हिब्रू धर्मशास्त्रमा (सामान्यतया पुरानो नियम) दिइएका लडाइँहरूलाई औंल्याउँछन्। के तिनीहरूले परमेश्वरको वचनको सही अर्थ लगाइरहेका थिए?
प्राचीन इस्राएलका लडाइँहरू
भ्रष्ट कनानीहरूको हातबाट प्रतिज्ञा गरिएको देशलाई मुक्त गर्न यहोवा परमेश्वरले इस्राएलीहरूलाई लडाइँ गर्ने आज्ञा दिनुभयो। (लेवी १८:१, २४-२८; व्यवस्था २०:१६-१८) परमेश्वरले दुष्ट मानिसहरूलाई नूहको दिनमा जलप्रलयले तथा सदोम र गमोराको सन्दर्भमा आगोले सजाय दिनुभएझैं उहाँले इस्राएल राष्ट्रलाई मृत्युको सजाय दिने माध्यमको रूपमा चलाउनुभयो।—उत्पत्ति ६:१२, १७; १९:१३, २४, २५.
बाइबलले बताएअनुसार प्रायजसो आफूले केही नगर्दा पनि आफूमाथि आइलाग्ने शत्रुहरूको विरुद्ध इस्राएलले परमेश्वरको निर्देशनमा अन्य लडाइँहरू पनि लडे। यस राष्ट्रले यहोवाको आज्ञा पालन गर्दा तिनीहरूकै जित हुन्थ्यो। (प्रस्थान ३४:२४; २ शमूएल ५:१७-२५) तर इस्राएलले परमेश्वरको सल्लाह विपरीत लडाइँ गर्न खोज्दा नतिजा प्रायजसो विपत्तिजनक हुन्थ्यो। राजा यारोबामलाई विचार गर्नुहोस्। अगमवक्ताद्वारा दिइएको सुस्पष्ट चेताउनीलाई बेवास्ता गर्दै तिनले यहूदा विरुद्धको गृहयुद्धमा ठूलो संख्यामा सेना परिचालन गरे। अन्ततः जब युद्धको अन्त भयो, यारोबामका ५,००,००० सेनाहरू मरिसकेका थिए। (२ इतिहास १३:१२-१८) विश्वासी राजा योशियाहले समेत एक पटक आफ्नो सरोकारै नभएको लडाइँमा भाग लिए। यस अविवेकी निर्णयका कारण तिनले आफ्नो ज्यानै गुमाउनुपऱ्यो।—२ इतिहास ३५:२०-२४.
यी घटनाहरूले के देखाउँछ? यही कि प्राचीन इस्राएलमा लडाइँ गर्ने वा नगर्ने भन्ने कुराको निर्णय परमेश्वरमा निर्भर थियो। (व्यवस्था ३२:३५, ४३) उहाँले खास उद्देश्यहरूका लागि आफ्ना जनहरूलाई लडाइँ गर्न लगाउनुहुन्थ्यो। तथापि, ती उद्देश्यहरू निकै अघि नै पूरा भइसके। अर्को कुरा, “पछिल्ला दिनमा” यहोवाको सेवा गर्नेहरूले “आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली” बनाउनेछन् र “अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्” भनेर उहाँले भविष्यवाणी गर्नुभयो। (यशैया २:२-४) स्पष्टतया, बाइबलकालीन लडाइँहरूले आधुनिक समयका द्वन्द्वहरूको औचित्य प्रमाणित गर्दैन र यीमध्ये कुनै पनि परमेश्वरको निर्देशनमा वा उहाँबाट आज्ञा पाएर लडिएका होइनन्।
ख्रीष्टको शिक्षाको असर
येशूले पृथ्वीमा हुनुहुँदा घृणाको साटो निस्वार्थ प्रेम कसरी देखाउने भनी बताउँदै यस्तो आज्ञा दिनुभयो: “तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु।” (यूहन्ना १५:१२) उहाँले यसो पनि भन्नुभयो: “धन्य मेल-मिलाप गराउनेहरू।” (मत्ती ५:९) यहाँ, “मेलमिलाप[को]” लागि चलाइएको युनानी शब्दले शान्तिपूर्ण अवस्थालाई मात्र संकेत गर्दैन। यसमा शान्ति खेती गर्नु र अरूसँग राम्रो सम्बन्ध विकास गर्न सक्रियतासाथ काम गर्नु पनि समावेश छ।
येशूको गिरफ्तार हुँदा प्रेरित पत्रुसले घातक हतियार प्रयोग गरेर उहाँलाई बचाउन खोजे। तर परमेश्वरको पुत्रले तिनलाई यसो भन्दै हप्काउनुभयो: “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्।” (मत्ती २६:५२) प्रथम शताब्दीका मसीहीहरूले यी शब्दहरू कसरी प्रयोगमा ल्याए? निम्न भनाइहरू ध्यान दिनुहोस्।
“प्राप्त सबै जानकारीहरूलाई राम्ररी नियालेर हेर्दा यो देखिन्छ कि मार्कस अरिलियसको समयसम्म [सा.यु. १२१-१८०] कोही पनि मसीही सिपाही बन्दैनथ्यो र मसीही भइसकेपछि कुनै पनि सिपाही सैनिक सेवामा लागिरहँदैनथ्यो।”—द राइज अफ क्रिश्चियानिटी।
“[प्रारम्भिक] मसीहीहरूको व्यवहार रोमीहरूको भन्दा एकदमै भिन्न थियो। . . . ख्रीष्टले शान्तिको प्रचार गर्नुभएको हुँदा, तिनीहरूले सिपाही बन्न इन्कार गरे।”—आवर वर्ल्ड थ्रु दि एजेज्।
ख्रीष्टका चेलाहरूले रोमी सम्राट्को पल्टनमा सेवा गर्न इन्कार गरेकोले तिनीहरूमध्ये थुप्रैलाई रोमीहरूले मारे। मसीहीहरूले किन यस्तो अलोकप्रिय अडान लिए? किनभने येशूले तिनीहरूलाई शान्ति स्थापक हुन सिकाउनुभएको थियो।
आधुनिक लडाइँ
ख्रीष्टका अनुयायीहरू नै विपक्षी सेनाको तर्फबाट लडाइँ गर्नुपर्ने र एकअर्कालाई मार्नुपर्ने भएको भए कस्तो भयावह स्थिति हुने थियो होला कल्पना गर्नुहोस् त! यो दृश्य मसीही सिद्धान्त विपरीत हुनेछ। वास्तवमा, बाइबलको परमेश्वरको आज्ञा पालन गर्नेहरूले आफ्नो शत्रुलगायत कसैलाई पनि हानि गर्ने छैनन्। a—मत्ती ५:४३-४५.
स्पष्टतया, परमेश्वरले आज मानवहरूबीचको शारीरिक लडाइँलाई अनुमोदन गर्नु हुन्न। शान्तिपूर्ण भएर साँचो मसीहीहरूले परमेश्वरको राज्यले विश्वव्यापी तवरमा स्थापना गर्ने शान्तिको पक्ष लिन्छन्। (g02 5/8)
[फुटनोट]
a बाइबलले “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लडाइँ” भनेर पनि चिनिने “आर-मागेडोन[बारे]” बताउँछ। यसले मानव लडाइँलाई नभई परमेश्वरले दुष्टहरूलाई छानेर गर्नुहुने विनाशलाई संकेत गर्छ। त्यसकारण आरमागेडोनलाई आधुनिक समयका मानव द्वन्द्वहरूको औचित्य प्रमाणित गर्न वा आफूमाथि परमेश्वरको अनुमोदन छ भन्ने अनुमान गर्नको लागि प्रयोग गर्न सकिंदैन।—प्रकाश १६:१४, १६; २१:८.
[पृष्ठ २३-मा भएको चित्र]
स्पेनका सेनापति फ्रान्सिस्को फ्रान्को क्याथोलिक पादरीहरूसँग
[स्रोत]
U.S. National Archives photo
[पृष्ठ २३-मा भएको चित्र]
कोसोभो जानुभन्दा अघि सिपाहीहरूलाई ग्रीक अर्थोडक्स पादरीले आशिष् दिंदै, जून ११, १९९९
[स्रोत]
AP Photo/Giorgos Nissiotis