सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बच्चाहरूको आवश्‍यकता र चाहना

बच्चाहरूको आवश्‍यकता र चाहना

बच्चाहरूको आवश्‍यकता र चाहना

जन्मेको बेलादेखि नै नवजात शिशुलाई कोमल हेरचाह, जस्तै सुकुमार हातले सुम्सुम्याउनु अनि छालाले स्पर्श गर्नुपर्ने हुन्छ। कोही-कोही चिकित्सकहरूका अनुसार जन्मने बित्तिकैको १२ घण्टा अत्यन्तै निर्णायक हुन्छ। तिनीहरू भन्छन्‌, बच्चा जन्मने बित्तिकै आमा र बच्चालाई सबैभन्दा चाहिने र तिनीहरूले खोज्ने कुरा, “निद्रा वा भोजन होइन तर सुम्सुम्याउनु र लुटपुट्याउनु अनि एक-अर्कालाई हेर्नु र एक-अर्काको कुरा सुन्‍नु हो।” a

सहज ज्ञानले गर्दा आमाबाबुले आफ्नो बच्चालाई छुन्छन्‌, लुटपुट्याउँछन्‌, सुम्सुम्याउँछन्‌ अनि गुटमुट्याउँछन्‌। अनि बच्चाले पनि आफ्ना आमाबाबुसित असाध्यै ढुक्क महसुस गर्छ र आमाबाबुको कुरा सुन्छ। यो बन्धन प्रगाढ हुनेहुँदा आमाबाबुले कुनै कसर बाँकी नराखी आफ्नो बच्चाको हेरचाह गर्न थुप्रै त्यागहरू गर्छन्‌।

अर्कोतर्फ, आमाबाबुसितको मायालु बन्धनबाट वञ्चित शिशु साँच्चिकै ओइलाउन अनि मर्न सक्छ। तसर्थ, बच्चा जन्मने बित्तिकै आमालाई बच्चा दिनु महत्त्वपूर्ण छ भन्‍ने कुनै-कुनै डाक्टरहरूको विश्‍वास पाइन्छ। तिनीहरू आमा र बच्चाबीच सुरुको ३० देखि ६० मिनेटभित्र सम्पर्क भइहाल्नुपर्छ भन्‍ने सुझाव दिन्छन्‌।

बच्चा र आमाबीच सम्पर्क भइहाल्नुपर्ने आवश्‍यकताबारे जोड दिइए तापनि कुनै-कुनै अस्पतालमा तुरुन्तै त्यसो गर्न गाह्रो वा असम्भवसमेत हुन सक्छ। अक्सर, बच्चालाई संक्रमण होला भन्‍ने डरको कारण नवजात शिशुलाई आमाबाट अलग्गै राखिन्छ। तर कुनै-कुनै प्रमाणले देखाएअनुसार नवजात शिशुहरू आमासित बस्दा घातक संक्रमण दर वास्तवमा घट्‌न सक्छ। त्यसकारण अहिले थुप्रै अस्पतालहरूले आमा र नवजात शिशुलाई सकेसम्म चाँडो अनि लामो समयको लागि सँगै राख्न थालेका छन्‌।

आमा र बच्चाबीचको बन्धनप्रति चिन्ता

कोही-कोही आमाहरू आफ्नो बच्चालाई पहिलो चोटि देख्ने बित्तिकै तिनीहरूसित भावनात्मक बन्धनमा बाँधिदैनन्‌। त्यसकारण तिनीहरू सोच्छन्‌, ‘के त्यस्तो बन्धनमा बाँधिन मलाई गाह्रो हुनेछ?’ हो, सबै आमाहरू बच्चालाई पहिलो चोटि देख्ने बित्तिकै तिनीहरूप्रति मोहित हुँदैनन्‌। यद्यपि, चिन्तित हुनुपर्ने कुनै कारण छैन।

बच्चाप्रति मातृ वात्सल्य ढिलो भए तापनि पछि पूरा विकास हुन सक्छ। “तपाईंको बच्चासित सम्बन्ध गाँस्ने वा तोड्‌ने एउटा खास घडीलाई औंल्याउन सकिंदैन” भनी एउटी अनुभवी आमा टिप्पणी गर्छिन्‌। तैपनि, तपाईं दुई जीउकी हुनुहुन्छ र केही चिन्तित हुनुहुन्छ भने तपाईंले जँचाइरहनुभएको प्रसूति विशेषज्ञसित पहिल्यै छलफल गर्नु बेस हुनेछ। तपाईं आफ्नो नवजात शिशुसित कहिले अनि कति समयको लागि सम्पर्क गर्न चाहनुहुन्छ भनेर स्पष्टसित बताउनुहोस्‌।

“मसित कुरा गर्नुहोस्‌!”

बच्चाहरू कुनै-कुनै चेतनाप्रति अत्यन्तै संवेदनशील हुने खास-खास समयावधिहरू हुन्छन्‌। ती समयावधिहरू केही समयपछि बन्द हुन्छन्‌। उदाहरणका लागि, सानो बच्चाको दिमागले एउटाभन्दा बढी भाषाहरू सजिलै सिक्न सक्छ। तर भाषा सिक्नको लागि सबैभन्दा उपयुक्‍त समय पाँच वर्षको उमेरपछि बन्द हुन थाल्छ जस्तो देखिन्छ।

बच्चाको उमेर १२ देखि १४ वर्षबीच पुगेपछि अर्को भाषा सिक्नु निकै चुनौतीपूर्ण हुन सक्छ। बाल चिकित्सक स्नायुविद्‌ पिटर हटनलोकरका अनुसार त्यो उमेरमा “मस्तिष्कको भाषासम्बन्धी इलाकामा सिनाप्सेस्‌ वा संयोजकहरूको घनत्व तथा संख्या घट्‌न थाल्छ।” स्पष्टतः भाषासम्बन्धी योग्यता हासिल गर्नको लागि सुरुका केही वर्षहरू अत्यन्तै निर्णायक हुन्छन्‌!

तिनीहरूको समष्टिगत ज्ञानको विकासको अत्यन्तै महत्त्वपूर्ण पक्ष अर्थात्‌ बोल्ने कला शिशुहरूले कसरी सिक्छन्‌? मुख्यतया आफ्ना आमाबाबुसित मौखिक अन्तरक्रियाद्वारा। शिशुहरूले विशेष गरी मानिसहरूका चेतनाप्रति प्रतिक्रिया देखाउँछन्‌। “बच्चाले . . . आफ्नी आमाको आवाज नक्कल गर्छ” भनी म्यासाच्युसेट्‌स इन्स्टिच्युट अफ टेक्नोलोजीका ब्यारी एरोन्स्‌ टिप्पणी गर्छन्‌। तथापि, चाखलाग्दो कुरा के हो भने, बच्चाहरूले सबै आवाज नक्कल गर्दैनन्‌। एरोन्स्‌ले टिप्पणी गरेझैं बच्चाले “आमाले बोल्दाबोल्दै अर्कोतिरबाट आएको कोक्रो चुइँकिएको आवाज भने नक्कल गर्दैन।”

विभिन्‍न सांस्कृतिक पृष्ठभूमिका आमाबाबुहरूले आफ्ना बच्चाहरूसित एक प्रकारको लयमा बोल्ने गर्छन्‌। आमाबाबुले मायालु ढङ्‌गमा कुरा गर्दा बच्चाको हृदयगति बढ्‌छ। भनिन्छ, यसो गर्दा बच्चाहरूले शब्दहरू र त्यसले जनाउने वस्तुहरूबीचको सम्बन्ध छिट्‌छिटो बुझ्न थाल्छन्‌। एक शब्द नबोली, बच्चाले “मसित कुरा गर्नुहोस्‌!” भनिरहेको हुन्छ।

“मलाई हेर्नुहोस्‌!”

यो तथ्य हो, पहिलो वर्षको दौडान शिशुले आफूलाई हेरचाह गर्ने व्यक्‍ति, सामान्यतया आमासित भावनात्मक सम्बन्ध गाँसिसकेको हुन्छ। आमाबाबुको त्यस्तो सुरक्षित बन्धन नपाएको बच्चाको तुलनामा यस्तो बन्धनमा सुरक्षित महसुस गर्ने बच्चाहरू बढी मिलनसार हुन्छन्‌। भनिन्छ, बच्चा तीन वर्ष पुग्नुअघि नै आमासित त्यस्तो बन्धनमा बाँधिइसकेको हुनुपर्छ।

बच्चाको दिमाग बाह्‍य प्रभावप्रति अत्यन्तै संवेदनशील हुने यो निर्णायक अवधिमा बेवास्ता गरियो भने के हुन सक्छ? यसबारे २० वर्षभन्दा लामो समयको लागि २६७ जना आमा र तिनीहरूका बच्चाबारे अध्ययन गरेकी मार्था फारेल एरिक्सन यस्तो धारणा व्यक्‍त गर्छिन्‌: “बेवास्ता गर्दा बिस्तारै अनि एकनासले बच्चाको उत्साह हराउँदै जान्छ अनि अन्तमा गएर बच्चा बाह्‍य संसारसित सम्पर्क राख्न वा सम्बन्ध गाँस्न नचाहने हदसम्म पुग्छ।”

भावनात्मक बेवास्ताका गम्भीर परिणामहरूबारे प्रस्ट बुझाउने प्रयासमा टेक्सस बाल अस्पतालका डा. ब्रुस पेरी यसो भन्छन्‌: “एक जना छ महिने बच्चाको शरीरको सबै हड्डी भाँच्ने वा दुई महिनाको लागि भावनात्मक तवरमा बेवास्ता गर्नेबीच कुन छान्‍नुहुन्छ भनी मलाई सोध्नुभयो भने मेरो जवाफ यस्तो हुनेछ, बरु बच्चाको शरीरको सबै हड्डी भाँच्नु नै बेस हुनेछ।” किन? पेरीको विचारमा “हड्डीहरू जोडिन सक्छन्‌ तर बच्चाले दुई महिनाको लागि अत्यावश्‍यक मस्तिष्क उत्प्रेरणा पाएन भने बच्चाको मस्तिष्क सदाको लागि भताभुङ्‌ग हुनेछ।” त्यस्तो क्षति अपूरणीय हुनेछ भन्‍ने कुरामा सबै सहमत छैनन्‌। तैपनि, वैज्ञानिक अध्ययनहरूले देखाएअनुसार शिशुको दिमागको लागि भावनात्मक तवरमा उत्थानदायी वातावरण अत्यावश्‍यक हुन्छ।

इन्फन्ट्‌स (अंग्रेजी) भन्‍ने पुस्तक भन्छ, “सरल शब्दमा भन्‍ने हो भने, [शिशुहरू] माया गर्न र माया पाउन तयार हुन्छन्‌।” बच्चा रुँदा उसले आमाबाबुलाई अक्सर यस्तो बिन्ती गरिरहेको हुन्छ: “मलाई हेर्नुहोस्‌!” आमाबाबुले मायालु ढङ्‌गमा जवाफ फर्काउनु महत्त्वपूर्ण छ। यस्ता अन्तरक्रियाहरूद्वारा बच्चालाई आफ्ना आवश्‍यकताहरू अरूसामु राख्न सकिंदो रहेछ भनेर अझ बढी बोध हुन थाल्छ। उसले अरूसित सामाजिक सम्बन्ध गाँस्न सिकिरहेको हुन्छ।

‘कतै मैले आफ्नो बच्चालाई पुलपुल्याउँछु कि?’

‘बच्चा हरेक चोटि रुँदा मैले ध्यान दिन थालें भने, कतै मैले आफ्नो बच्चालाई पुलपुल्याउँछु कि?’ भनी तपाईं सोध्नुहोला। सायद हुन सक्छ। यस प्रश्‍नसम्बन्धी बेग्लाबेग्लै धारणाहरू पाइन्छन्‌। हरेक बच्चा बेग्लै हुने हुँदा आमाबाबुले आफ्नो बच्चाको लागि सर्वोत्तम तरिका कुन हो भनेर निर्धारण गर्नुपर्छ। तथापि, हालैका कुनै-कुनै अध्ययनले देखाएअनुसार नवजात शिशु भोकाउँदा, अप्ठ्यारो वा नमिठो महसुस गर्दा उसको तनाव-प्रतिक्रिया प्रणालीले तनावसम्बन्धी हर्मोनहरू निकाल्न थाल्छ। उसले रोएर आफ्नो असुविधा व्यक्‍त गर्छ। भनिन्छ, आमाबाबुले बच्चालाई ध्यान दिएर उसको आवश्‍यकता पूरा गर्दा ती वयस्कले बच्चाको मस्तिष्कमा आफैलाई फकाउने कोषहरूको संजाल बनाउन मदत गरिरहेको हुन्छ। साथै, डा. मेगान गुनारका अनुसार आफूले बोलाउँदा तुरुन्तै ध्यान पाएको बच्चाले कोर्टिजोल नामक तनाव-हर्मोन कम मात्र उत्पादन गर्छ। अनि ऊ खिन्‍न हुँदासमेत, तनावले गर्दा उत्पन्‍न प्रतिक्रियालाई तुरुन्तै बन्द गरिहाल्छ।

एरिक्सन भन्छिन्‌, “वास्तवमा, विशेष गरी सुरुको ६-८ महिनामा आफूले खोज्दा तुरुन्तै अनि नियमित तवरमा ध्यान पाएका बच्चाहरू, रुँदा पनि कसैले वास्ता नगरेका बच्चाहरूको तुलनामा कम रुन्छन्‌।” तपाईंले देखाउनुहुने प्रतिक्रियामा विविधता ल्याउनु पनि महत्त्वपूर्ण छ। तपाईंले हरेक चोटि एउटै प्रतिक्रिया देखाउनुभयो, जस्तै उसलाई खुवाउनुभयो वा बोक्नुभयो भने ऊ अवश्‍य पुलपुलिन सक्छ। कहिलेकाहीं ऊ रुँदा तपाईंको स्वर दिनु मात्र पनि पर्याप्त हुन सक्छ। वा बच्चाको नजिकै जानु वा उसको कानमा बिस्तारै बोल्नु पनि प्रभावकारी हुन सक्छ। अर्कोतर्फ, तपाईंको हातले उसको ढाड वा पेटमा छुनु मात्र पनि पर्याप्त हुन सक्छ।

“बच्चाको काम नै रुने हो।” पूर्वका देशहरूमा यस्तो भन्‍ने गरिन्छ। बच्चाले आफूलाई के चाहियो भनेर बताउने एउटा प्रमुख तरिका रोएर हो। तपाईंले केही माग्नुहुँदा हरेक चोटि बेवास्ता गरियो भने कस्तो लाग्नेछ? त्यसोभए, तपाईंको बच्चा जो सुसारेविना निस्सहाय छ, हरेक चोटि तपाईंको ध्यान खोज्दा बेवास्ता गरियो भने उसले कस्तो महसुस गर्नेछ? तर ऊ रुँदा ध्यान दिनुपर्ने कसले हो?

बच्चाको स्याहार कसले गर्छ?

संयुक्‍त राज्य अमेरिकामा हालै गरिएको सर्वेक्षणले देखाएअनुसार जन्मेदेखि ८-९ वर्षबीचका ५४ प्रतिशत केटाकेटीले आफ्ना आमाबाबुबाहेक अर्को व्यक्‍तिबाट कुनै न कुनै रूपमा नियमित तवरमा स्याहार पाइरहेका हुन्छन्‌। भौतिक आवश्‍यकता पूरा गर्न थुप्रै परिवारमा दुवैले काम गर्नुपर्ने हुन सक्छ। अनि थुप्रै आमाहरूले आफ्नो नवजात शिशुको केही हप्ता वा महिना स्याहार गर्न सम्भव छ भने, प्रसूति बिदा लिन्छन्‌। तर त्यसपछि बच्चाको स्याहारसुसार कसले गर्ने?

निस्सन्देह, यस्ता निर्णयहरू गर्नका लागि यस्तै हुनुपर्छ भन्‍ने नियमहरू छैनन्‌। तथापि, जीवनको यो निर्णायक समयमा बच्चा नाजुक हुन्छ भनेर सम्झनु राम्रो हो। आमाबाबु दुवैले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्छ। के गर्ने भनी निर्णय गर्दा, के कस्ता विकल्पहरू छन्‌ भनी तिनीहरूले होसियारीपूर्वक विचार गर्नुपर्छ।

“बच्चाहरूलाई आमा र बुबाले दिनुपर्ने समयको विकल्पमा जस्तोसुकै राम्रो शिशु स्याहारले पनि त्यसको क्षतिपूर्ति गर्न सक्दैन भनेर झन्‌-झनै स्पष्ट हुँदै गएको छ” भनी अमेरिकन एकेडमी अफ पेडियाट्रिक्सका डा. जोसेफ जांगा बताउँछन्‌। कुनै-कुनै विशेषज्ञहरूले शिशु स्याहार केन्द्रहरूमा बच्चाहरूले आफ्ना सुसारेहरूसित जति अन्तरक्रिया गर्नुपर्ने हो, त्यति गर्न पाएका हुँदैनन्‌ भनेर चिन्ता व्यक्‍त गरेका छन्‌।

केही कामकाजी महिलाहरू आफ्नो बच्चाको अत्यावश्‍यक आवश्‍यकताबारे सजग भएका हुनाले आफ्ना छोराछोरीको भावनात्मक लालनपालनको जिम्मा अरू कसैलाई दिनुभन्दा आफैले गर्न घरै बस्ने निर्णय गरेका छन्‌। एउटी महिलाले यसो भनिन्‌: “मैले अरू कुनै जागिरबाट प्राप्त गर्न नसक्ने सन्तुष्टि पाएको छु भनेर नढाँटी भन्‍न सक्छु।” निस्सन्देह, आर्थिक दबाबले गर्दा सबै आमाले यस्ता निर्णयहरू गर्न सक्दैनन्‌। थुप्रै आमाबाबुसित शिशु स्याहार केन्द्रको मदत लिनुबाहेक अर्को विकल्प हुँदैन, त्यसकारण तिनीहरू बच्चासँगै हुँदा तिनीहरूलाई बढी ध्यान र स्नेह देखाउन थप प्रयास गर्छन्‌। त्यसै गरी थुप्रै जागिरे एकल आमाबाबुसित यस सम्बन्धमा खासै अरू विकल्पहरू छैनन्‌ अनि आफ्ना छोराछोरी हुर्काउन उल्लेखनीय प्रयास गर्छन्‌ र राम्रा परिणाम पनि प्राप्त गरेका छन्‌।

आमाबाबुको काम रमाइलो, रोमाञ्चकारी हुन सक्छ। तैपनि, यो चुनौतीपूर्ण, कठिन काम हो। तपाईं कसरी सफल हुन सक्नुहुन्छ? (g03 12/22)

[फुटनोट]

a यी लेखहरूका शृङ्‌खलामा ब्यूँझनुहोस्‌!-ले सम्मानित शिशु-स्याहार विशेषज्ञहरूका विभिन्‍न दृष्टिकोण प्रस्तुत गर्छ किनभने अनुसन्धानबाट प्राप्त यी कुराहरू आमाबाबुहरूका लागि उपयोगी र जानकारीमूलक हुन्छ। तैपनि, मानिलिनै पर्ने एउटा कुरा के हो भने, ब्यूँझनुहोस्‌!-ले समर्थन गर्ने बाइबल स्तरहरू अपरिवर्तनीय छन्‌ तर यी दृष्टिकोणहरू समय-समयमा परिवर्तन र छाँटकाँट हुन सक्छन्‌।

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

मौन बच्चाहरू

जापानका कुनै-कुनै चिकित्सकहरू भन्छन्‌, रुँदा पनि नरुने अनि हाँस्दा पनि नहाँस्ने बच्चाहरूको संख्यामा वृद्धि भइरहेको छ। बाल चिकित्सक सातोशी यानागिसावाले तिनीहरूलाई मौन बच्चाहरू भन्‍ने नाउँ दिएका छन्‌। बच्चाहरूले किन आफ्ना भावनाहरू व्यक्‍त गर्न छोड्‌छन्‌? कोही-कोही डाक्टरको विचारमा आमाबाबुसितको सम्पर्कबाट वञ्चित गरिंदा बच्चाहरूमा यस्तो अवस्था देखापर्छ। यसलाई जबरजस्ती निस्सहाय बनाइएको अवस्था भनिन्छ। एउटा सिद्धान्तअनुसार कुराकानीको आवश्‍यकतालाई सधैं बेवास्ता गरिंदा वा गलत अर्थ लगाइँदा, बच्चाले अन्ततः कुराकानी गर्ने प्रयासै गर्न छोड्‌न सक्छ।

बच्चालाई ठीक समयमा चाहिने ठीक उत्प्रेरणा दिइएन भने, समानुभूतिशील बनाउने उसको दिमागको त्यो भाग विकास नहुन सक्छ भनी टेक्सस बाल अस्पतालका मनोचिकित्सा विभागका डा. ब्रुस पेरी बताउँछन्‌। भावनात्मक तवरमा अत्यन्तै बेवास्ता गरिएका अवस्थाहरूमा, समानुभूतिशील हुने क्षमता एक चोटि गुमाइसकेपछि फेरि प्राप्त गर्नै नसकिने गरी गुम्न सक्छ। कुनै-कुनै अवस्थामा भने, लग्गू बनाउने पदार्थको दुरुपयोग र किशोरावस्थामा हिंसात्मक व्यवहार पनि जीवनमा सुरुका क्षणहरूको त्यस्तो अवस्थाको कारण हुन सक्छ भनी डा. पेरी विश्‍वास गर्छन्‌।

[पृष्ठ ७-मा भएको चित्र]

आमाबाबु र बच्चाले एक-अर्कासित कुरा गर्दा तिनीहरूबीचको सम्बन्ध झन्‌-झन्‌ प्रगाढ हुँदै जान्छ