डेन्टिस्टकहाँ किन जानुपर्छ?
डेन्टिस्टकहाँ किन जानुपर्छ?
दाँतको उपचारमा आधुनिक प्रविधि भित्रनुअघि, उमेरै नपुगी दाँत दुख्ने वा दाँत झर्ने समस्या सामान्य थियो। थुप्रैको दाँत कालो, बाङ्गोटिङ्गो भएर वा फुक्लिएर अनुहारै कुरुप हुन्थ्यो। थोते बूढाबूढीहरू भने खाना चपाउन नसक्ने हुँदा कुपोषण र असामयिक मृत्युको सिकार बन्थे। आज, डेन्टिस्टकहाँ गएर उपचार गराउने व्यक्तिहरूको भने दाँत दुख्दैन, बूढाबूढी होउन्जेलसम्मै दाँत रहिरहन्छ अनि मीठो मुस्कानको आनन्द उठाउन सक्छन्। दाँतसम्बन्धी उपचारविधिले यी तीनवटा उल्लेखनीय सफलता कसरी हात पार्न सक्यो?
दाँतको दुखाइ र दाँत फुक्लिने समस्याबाट जोगिन जनचेतना र नियमित उपचारले प्रमुख भूमिका खेलेको छ। येशूले यसो भन्नुभयो: “निरोगीलाई वैद्यको दरकार हुँदैन।” (लूका ५:३१) दाँत र गिजाको सरसफाइसम्बन्धी शिक्षाबाट कोही-कोहीलाई यति धेरै फाइदा भएको छ कि, उनीहरूले हतपती दाँतको उपचारै गराउनु पर्दैन। a तर अर्कोतिर दाँतको उपचार गराउनुपर्ने थुप्रै व्यक्तिहरू समेत डेन्टिस्टकहाँ जाँदैनन्। दाँतको उपचार गराउँदैमा के पो होला र, भन्दै कोही-कोहीले वास्तै गर्दैनन्। अरू भने दाँतको उपचारमा लाग्ने खर्चले गर्दा तर्सिन्छन्। अरू थुप्रै भने डेन्टिस्टकहाँ जानै डराउँछन्। यीमध्ये तपाईंको परिस्थिति जुनसुकै भए तापनि यी प्रश्न सोध्नु जायज छ: म किन डेन्टिस्टकहाँ जानुपर्छ? कुनै फाइदा होला र? दाँत बिग्रन नदिई यसलाई जोगाउनुपर्ने महत्त्व बुझ्नुअघि डेन्टिस्टहरूले वास्तवमा के गर्छन् भनेर बुझ्नुपर्छ।
दाँत कसरी बिग्रन थाल्छ?
दाँत दुखाइको पीडा कम गर्न र दाँत झर्नदेखि रोक्न डेन्टिस्टले मदत गर्न सक्छन्। तपाईंले साथ दिनुभएको खण्डमा डेन्टिस्टहरूले प्लाकको असर कम गर्न पनि मदत गर्छन्। प्लाक भनेको दन्त लेउ अर्थात् दाँतमा टाँसिने ब्याक्टेरियाको पातलो पत्र हो। दाँतको बीचमा खानेकुराको टुक्राटाक्री अड्किएको छ भने ब्याक्टेरिया पनि रहिरहन्छ। ब्याक्टेरियाले चिनीलाई एसिडमा परिणत गर्छ र एसिडले दाँतको इनामेललाई बिगारेर सा-सानो प्वाल पार्न थाल्छ। ती सा-साना प्वालहरू बढेर ठूलै प्वाल बन्छ अनि दाँत बिग्रन्छ। यो अवस्थामा तपाईंलाई केही पनि असजिलो महसुस हुँदैन तर बिग्रिएर नसासम्म पुगेपछि भने असाध्यै दुख्छ।
प्लाक बन्ने ब्याक्टेरियाले तपाईंलाई अर्कै तरिकामा पनि सताउन सक्छ। राम्ररी बुरुस गरेर दाँत माझ्नुभएन भने क्याल्सियमयुक्त क्यालकुलस वा टार्टर बन्छ। यसले गर्दा गिजा सुनिन र दाँत र गिजाको बीचमा खाली ठाउँ बन्न सक्छ। यो ठाउँमा खानेकुराको टुक्राटाक्री अड्किन्छ र ब्याक्टेरिया जम्मा भएर गिजालाई कमजोर बनाउन थाल्छ। डेन्टिस्टले यो समस्या सुल्झाउन सक्छन् तर बेलैमा उपचार गरिएन भने दाँत वरपरको गिजा अत्यन्तै बिग्रिएर दाँतै फुक्लन थाल्छ। दाँत बिग्रिएरभन्दा पनि प्रायजसो यसरी गिजाको कारणले दाँत झर्ने गर्छ।
ब्याक्टेरियाले दुइटा तरिकामा आक्रमण गर्छ तर थुकले केही हदसम्म सुरक्षा दिन्छ। तपाईंले खाना खानुभएको होस् वा सानो मिठाई, मुखमा बाँकी भएको खानाको टुक्राटाक्री हटाउन अनि प्लाकमा भएको एसिड कम गर्न थुकलाई
१५ देखि ४५ मिनेटसम्म लाग्छ। कति समय लाग्छ भन्ने कुरा च्याप-च्याप हुने गुलियो पदार्थ वा खानाको टुक्राटाक्री दाँतमा कति अड्किएको छ, त्यसमा भर पर्छ। यही समयभित्र नै तपाईंको दाँत बिग्रन्छ। यसकारण दाँत कत्तिको बिग्रन्छ भन्ने कुरा गुलियो चीज कति खानुहुन्छ त्यसमा होइन तर खानेकुरा वा गुलियो चीज कति चोटि खानुहुन्छ, त्यसमा भर पर्छ। सुतिरहेको अवस्थामा मुखमा थोरै मात्र थुक आउने हुँदा, राती सुत्नुअघि गुलियो खानेकुरा वा पेयपदार्थ खाएर दाँत नमाझी सुत्नु सबैभन्दा हानिकारक हुन्छ। भनिन्छ, खाना खाइसकेपछि चिनी नभएको चुइँगम चपाउँदा थुक धेरै आउनुको साथै दाँत जोगाउन पनि मदत पुऱ्याउँछ।दाँत बिग्रन नदिन पूर्वसावधानी
डेन्टिस्टहरू दाँतको अवस्था हेरेर वर्षमा एक वा दुई चोटि नियमित रूपमा जँचाउने सल्लाह दिन्छन्। जँचाउन जाँदा दाँतको एक्स-रे लिई दाँतमा प्वाल परेको छ कि छैन हेरिन्छ। उपचार गर्नुपर्ने दाँतको वरपर नदुख्ने इन्जेक्सन लगाएपछि हाई-स्पीड ड्रील प्रयोग गरेर दाँत भरिदिन सक्छन्। एकदमै डराउनेहरूको लागि केही डेन्टिस्टहरूले लेजर प्रविधि वा कुहिएको फोहोर पदार्थ हटाउने जेल प्रयोग गर्न सक्छन्। यो विधि अपनाउँदा ड्रीलको प्रयोग गर्न वा नदुख्ने सुई लगाउनै पर्दैन। बच्चाहरूको सन्दर्भमा भने भर्खरै निस्केको बङ्गारालाई डेन्टिस्टले विशेष ध्यान दिन्छन् किनभने नयाँ दाँतमा चिरा वा खाल्टो परेको छ भने बुरुसले दाँत माझ्न गाह्रो हुन्छ। डेन्टिस्टले यी खाली ठाउँ भर्ने सुझाव दिन सक्छन् किनभने यसो गर्दा दाँतको सतह सम्म हुन्छ अनि सफा गर्न सजिलो हुने हुँदा दाँत बिग्रन पाउँदैन।
वयस्कहरूको सन्दर्भमा भने डेन्टिस्टहरूले विशेष गरी गिजाको रोग लाग्न नदिन होस पुऱ्याउँछन्। त्यसकारण दाँत जाँच्दा कतै कडा टार्टर जम्मा भएको छ भने खुर्केर सफा गरिदिन्छन्। प्रायजसो मानिसहरूले दाँत माझ्दा कुनै न कुनै ठाउँ छुटाउँछन्। त्यसकारण डेन्टिस्टले तपाईंलाई सबै दाँत अझ राम्ररी कसरी माझ्ने भनेर सिकाउन सक्छन्। कोही-कोही डेन्टिस्टले दाँतको यस्तो विशेष स्याहारको लागि विशेष तालिम प्राप्त दन्तकर्मीकहाँ जाने सुझाव दिन्छन्।
बिग्रेको दाँत बनाउने
तपाईंको दाँत बिग्रेको, झरेको अनि बाङ्गोटिङ्गो भएको छ भने ती दाँतहरू फेरि बनाउने थुप्रै नयाँ प्रविधि डेन्टिस्टहरूसित छ भनेर थाह पाउँदा तपाईं दङ्ग पर्नुहोला। तर यस्तो उपचार महँगो हुन्छ। यसकारण आफ्नो औकातले भ्याएजति मात्र खर्च गर्न होसियार हुनुहोस्। तैपनि, यस्तो उपचारको लागि गरिने खर्च बेकार जाँदैन भन्ने धेरैको सोचाइ छ। सायद, उपचार गरिसकेपछि तपाईं चपाउन पनि सक्नुहुन्छ होला। अथवा तपाईंको मीठो मुस्कान अझ आकर्षक बन्न सक्छ। यो कुनै चानचुने कुरा होइन किनभने कुरूप दाँतले गर्दा जीवनको रमाइलो नै गुम्न सक्छ।
अगाडिको दाँत टुक्रिएको वा त्यसमा दाग लागेको छ भने डेन्टिस्टले भिनिर लगाउने सुझाव दिन सक्छन्। भिनिर प्रायजसो पारदर्शी पोर्सिलिनबाट बनाइन्छ र साँच्चिकै दाँतको इनामेलजस्तै देखिन्छ। भिनिर, बिग्रेको दाँतको सतहमा टाँसिन्छ र यसले गर्दा राम्रो आकार बन्नुका साथै रूप पनि राम्रो हुन्छ। एकदमै बिग्रेको दाँतको लागि भने डेन्टिस्टले दाँतमा खोल अर्थात् क्याप लगाउने सुझाव दिन सक्छन्। यसलाई क्राउन पनि भनिन्छ। यसले बिग्रेको दाँत पूरै छोप्ने हुँदा बिग्रेको दाँतलाई नयाँ रूप दिन्छ।
क्राउन सुनको अथवा सक्कली दाँतजस्तै देखिने पदार्थको हुन्छ।दाँत फुक्लिसकेको छ भने डेन्टिस्टले के गर्न सक्छन्? तिनले झिक्न मिल्ने खालको नक्कली दाँत वा स्थायी प्रकारको फिक्स्ड ब्रिज लगाइदिन सक्छन्। फिक्स्ड ब्रिज लगाउँदा दाँत फुक्लिएको ठाउँको दुवैपट्टिको दाँतमा क्याप लगाइन्छ र यसले बीचमा राखिने नक्कली दाँत(हरू)लाई च्याप्प समाउँछ। अहिले लोकप्रिय हुँदै गइरहेको अर्को उपाय इम्प्लान्ट अर्थात् दाँत प्रत्यारोपण पनि हो। यो प्रविधिअनुसार टाइटानियम धातुले बनेको पेच दाँत फुक्लेको ठाउँमा घुसाइन्छ अनि पेचलाई हड्डी र गिजाले राम्रोसित समाइसकेपछि त्यहाँ नक्कली दाँत कसिन्छ। यो सक्कली दाँतजस्तै हुन्छ।
दाँत बाङ्गोटिङ्गो छ भने, अरूको अगाडि असजिलो महसुस हुन सक्छ अनि बुरुस गर्न पनि गाह्रो हुने हुँदा त्यसको कारण विभिन्न रोग लाग्न सक्छ। दाँत राम्ररी मिलेको छैन भने चपाउनै गाह्रो हुने गरी अत्यन्तै दुख्न सक्छ। तर खुसीको कुरा, डेन्टिस्टहरूले दाँतमा तार लगाइदिएर यो समस्याको समाधान गर्न सक्छन्। अहिलेको तारको डिजाइनमा निकै प्रगति भइसकेको हुँदा झट्ट हेर्दा देखिंदैन अनि घरिघरि गएर मिलाइरहनु पनि पर्दैन।
कोही-कोही डेन्टिस्टहरूले सास गनाउने समस्यालाई पनि विशेष ध्यान दिइरहेका छन्। धेरैजसो मानिसको कहिलेकाहीं सास गनाउँछ अनि कसैको भने सधैं गनाउँछ। यसका विभिन्न कारण हुन सक्छन्। कोही-कोही डेन्टिस्टले यसको खास कारण पत्ता लगाउन सक्छन्। यो समस्या प्रायजसो जिब्रोको पछिल्लो भागतिर लुकिरहने ब्याक्टेरियाले गर्दा हुन्छ। दाँत माझ्दा वा जिभ्रीको प्रयोग गर्दा यसको असरलाई कम गर्न सकिन्छ। साथै, चिनी नभएको चुइँगम चपाउँदा मुखमा थुक धेरै आउँछ र ब्याक्टेरिया हटाउन मदत गर्छ। दूधबाट बनेका खानेकुरा वा माछामासु खाइसकेपछि कुल्ला गर्नुपर्छ।
डर हटाउने
डेन्टिस्टकहाँ जान तपाईंलाई असाध्यै डर लाग्छ भने तपाईंको डर कम गर्ने केही उपाय डेन्टिस्टले बताउन सक्छन्। त्यसकारण तपाईंलाई कस्तो महसुस भइरहेको छ, सो बताउनुहोस्। उपचारको क्रममा दुख्यो वा डर लाग्यो भने आफ्नो हात प्रयोग गरेर कस्तो संकेत दिनुहुनेछ, त्यसबारे पहिल्यै कुरा गर्नुहोस्। यसो गर्दा आफ्नो आत्मविश्वास बढेको धेरैले महसुस गरेका छन्।
हुनसक्छ, डेन्टिस्टले गाली पो गर्ने हो कि भनेर तपाईंलाई डर लागिरहेको छ। दाँतको राम्रो हेरचाह किन नगरेको भनेर डेन्टिस्टले गिज्याउने पो हो कि भनेर तपाईंलाई चिन्ता लाग्न सक्छ। तर डेन्टिस्टले यस्तो व्यवहार गरे भने मानिसहरू तिनीकहाँ आउनै छोड्छन्। त्यसकारण तपाईंले त्यस्तो चिन्ता नलिनुभए हुन्छ। प्रायजसो डेन्टिस्टहरू आफ्ना बिरामीहरूसित मीठो बोली गर्छन्।
थुप्रै मानिसहरू भने दाँतको उपचार गराउँदा लाग्ने खर्चले गर्दा पछि हट्छन्। तर तपाईंले अहिले जँचाउनुभयो भने पछि हुन सक्ने समस्या र महँगो खर्चबाट जोगिन सक्नुहुन्छ। धेरैजसो ठाउँमा आ-आफ्नो औकातले भ्याउने विभिन्न किसिमको दन्त उपचार सेवा उपलब्ध छन्। एकदमै आधारभूत उपकरणहरू मात्र भएका दन्त उपचार क्लिनिकमा समेत एक्स-रे र हाई-स्पीड ड्रील हुन सक्छ। बिरामीलाई नदुख्ने गरी डेन्टिस्टहरूले उपचार गरिदिन्छन्। उपचार गरिने दाँतको वरपर मात्र नदुख्ने सुई लाउने तरिका प्रायः सबैको अनि एकदमै सीमित आयस्रोत भएकाहरूको औकातले पनि भ्याउने हुन्छ।
डेन्टिस्टहरू तपाईंको दुखाइ बढाउन हैन, दुखाइ कम गर्न चाहन्छन्। आजकल दाँतसम्बन्धी उपचार भनेको तपाईंका बाजेबज्यैले सम्झनुहुने नमीठो पीडादायी अनुभव होइन। स्वस्थ दाँतले तपाईंको समग्र स्वास्थ्यमा असर पुऱ्याउने अनि जीवनको पूर्ण आनन्द उठाउन मदत गर्ने हुँदा, तपाईं पनि डेन्टिस्टकहाँ जानुभए कसो होला? अनि त्यहाँ जानुको फाइदा देख्नुभएपछि दङ्गै पर्नुहोला। (g 5/07)
[फुटनोट]
a आफूकहाँ जँचाउन आउने व्यक्तिको लागि डेन्टिस्टले के-के गर्न सक्छन् भनेर यस लेखले बताउनेछ। आफ्नो दाँत जोगाउन तपाईं के गर्न सक्नुहुन्छ भन्ने जानकारीको लागि ब्यूँझनुहोस्!, डिसेम्बर ८, २००५ को अंकमा प्रकाशित “स्वस्थ दाँत, मीठो मुस्कान” भन्ने लेख हेर्नुहोस्।
[पृष्ठ २९-मा भएको रेखाचित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
स्वस्थ दाँतको बनोट
क्राउन
इनामेल
डेन्टिन
नसा तथा रक्तनलीहरू भएको भाग
जरा
गिजाको तन्तु (जिन्जिभा)
हड्डी
[पृष्ठ २९-मा भएको रेखाचित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
बिग्रेको दाँत
प्वाल
फिलिङले प्वाल ठूलो हुन दिंदैन
[पृष्ठ २९-मा भएको रेखाचित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
गिजाको रोग
प्लाक बुरुस वा फ्लस प्रयोग गरेर हटाउनुपर्छ
क्याल्कुलस वा टार्टर हटाउन गाह्रो हुन्छ र यसले गर्दा गिजा खिइन्छ
खिइएको गिजा
[पृष्ठ ३०-मा भएको रेखाचित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
दाँत बनाउने
भिनिर दाँतमा टाँसिन्छ
क्याप
प्रत्यारोपण
फिक्स्ड ब्रिज लगाउँदा दाँत फुक्लेको ठाउँको दुवैपट्टिको दाँतमा क्याप लगाइन्छ र यसले बीचमा राखिने नक्कली दाँतलाई च्याप्प समाउँछ