सृष्टि या संयोग?
डिएनए-को जानकारी सञ्चय गर्न सक्ने क्षमता
कम्प्युटर प्रयोगकर्ताहरू तीन थुप्रो डिजिटल डाटा बनाउँछन् र ती चाहिएको बेला प्रयोग गर्न सक्ने गरी सञ्चय गर्छन्। वैज्ञानिकहरू डिएनए-को जानकारी सञ्चय गर्न सक्ने उत्कृष्ट क्षमताको नक्कल गरेर अहिले डाटा सञ्चय गर्ने तरिकामा क्रान्ति ल्याउन जुटेका छन्।
विचार गर्नुहोस्: जीवित प्राणीमा पाइने डिएनए-ले अरबौं जैविक जानकारीहरू सञ्चय गर्छ। युरोपको बायोइन्फरम्याटिक्स सम्बन्धी संस्थाका निक गोल्डम्यान यसो भन्छन्, “हामी लोप भइसकेका ठूला भुत्ले जनावरहरूको हड्डीको कोषमा भएको डिएनए-बाट अनेकौं जानकारी पाउन सक्छौं। यो एकदमै सूक्ष्म भए तापनि यसमा जानकारीको भण्डारै हुन्छ अनि यसमा जानकारी सञ्चय गर्न उर्जा चाहिंदैन साथै यसलाई यताउता पठाउन र भण्डार गर्न पनि सजिलो छ।” के डिएनए-ले मानिसले बनाएको डाटा सञ्चय गर्न सक्छ? अनुसन्धानकर्ताहरू अवश्य सकिन्छ भन्छन्।
डिजिटल मिडिया स्टोरमा डाटा सञ्चय गरेजस्तै वैज्ञानिकहरूले कृत्रिम डिएनए-मा लेख, तस्बिर र श्रव्य फाइलहरू सञ्चय गरेका छन्। ती जानकारीहरू पछि जाँच्दा बिग्रिएको थिएन, जस्ताको तस्तै थियो। यो तरिका अपनाउँदा एक ग्राम कृत्रिम डिएनए-मा ३०,००,००० सी डी-मा अट्ने जानकारी सञ्चय गर्न सकिन्छ अनि यी सबै जानकारी हजारौं वर्षसम्म जोगाएर राख्न नसके तापनि कम से कम सयौं वर्ष त जोगाउन सकिन्छ भनेर वैज्ञानिकहरू विश्वास गर्छन्। यो प्रविधिबाट संसारभरिका डिजिटल अभिलेखालय सञ्चय गर्ने आशा गरिएको छ। त्यसैले डिएनए-ले “संसारकै उत्कृष्ट हार्ड ड्राइभ” भन्ने नाम कमाएको छ।
तपाईंलाई कस्तो लाग्छ? डिएनए-को जानकारी सञ्चय गर्न सक्ने क्षमता विकासवादको उपज हो या सृष्टि? (g13-E 12)