सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सत्यको पक्षमा दृढ अडान लिने न्यायकर्ता

सत्यको पक्षमा दृढ अडान लिने न्यायकर्ता

परमेश्‍वरको नजिक हुनुहोस्‌

सत्यको पक्षमा दृढ अडान लिने न्यायकर्ता

गन्ती २०:२-१३

मानव न्यायकर्ताहरूले अन्यायी वा एकदमै कठोर भई न्याय गर्लान्‌ तर ‘इन्साफ प्रेम गर्नुहुने’ यहोवा परमेश्‍वर त्यसो गर्नुहुन्‍न। (भजन ३७:२८) उहाँ धीरजी हुनुहुन्छ भन्दैमा जे मन लाग्यो त्यही गर्ने छुटचाहिं दिनुहुन्‍न। उहाँ सत्यको पक्षमा दृढ अडान लिनुहुन्छ। गन्ती अध्याय २० मा लिपिबद्ध झगडा र विद्रोहको घटनामा उहाँले कस्तो प्रतिक्रिया देखाउनुभयो त्यसबारे विचार गर्नुहोस्‌।

उजाडस्थानको यात्राको अन्ततिर आइपुग्दा इस्राएलीहरूलाई पानीको अभाव भयो। a अनि मानिसहरू मोशा र हारूनसित यसो भन्दै झगडा गर्न थाले: “अब हाम्रा गाई-वस्तुसमेत हामी सब यहाँ मर्नेछौं। किन परमप्रभुको समुदायलाई तपाईंले यस उजाडस्थान[मा] ल्याउनुभयो?” (पद ४) तिनीहरूले उजाडस्थानलाई “खराब ठाउँ” भन्दै गनगन गरे। किनभने त्यहाँ वर्षौंअघि इस्राएली गुप्तचरहरूले प्रतिज्ञा गरिएको देशबाट ल्याएजस्तै फलहरू अर्थात्‌ “नेभारा वा दाख वा अनारहरू” थिएनन्‌ र “पिउने पानीधरि” थिएन। (पद ५; गन्ती १३:२३) वास्तवमा तिनीहरूले मोशा र हारूनलाई दोष लगाउनुको कारण यो उजाडस्थान ती गनगनेहरूको अघिल्लो पुस्ता जान नचाहेको उर्वरभूमि जस्तो नभएकोले हो।

यहोवाले ती गनगनेहरूलाई त्याग्नुभएन। बरु उहाँले मोशालाई तीनवटा निर्देशन दिनुभयो: लौरो लिनू, समुदायलाई भेला गर्नू र ‘तिनीहरूका आँखाकै सामने पहरालाई हुकूम गरेर पानी निकाल्नू।’ (पद ८) मोशाले सुरुका दुइटा निर्देशन पालन गरे तर तेस्रो निर्देशनमा भने चुके। यहोवालाई भरोसा गर्दै पहरालाई हुकूम गर्नुको साटो तिनले झर्किंदै मानिसहरूलाई यसो भने: “सुन, ए बागी मानिस हो! के यही पहराबाट हामी तिमीहरूलाई पानी निकालिदिऊँ?” (पद १०; भजन १०६:३२, ३३) त्यसपछि मोशाले पहरामा दुईपल्ट हिर्काए “तब त्यहाँबाट प्रशस्त पानी फूटेर निस्क्यो।”—पद ११.

यसरी मोशा र हारून दुवैले गम्भीर पाप गरे। परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरू मेरो वचनको विरुद्ध गयौ।’ (गन्ती २०:२४) इस्राएलीहरूलाई विद्रोही भनेका मोशा र हारून अहिले भने परमेश्‍वरविरुद्ध चलेर स्वयम्‌ विद्रोही भए। परमेश्‍वरको न्याय स्पष्ट थियो: मोशा र हारूनले इस्राएलीहरूलाई प्रतिज्ञा गरेको देशसम्म डोऱ्‍याउन पाउने थिएनन्‌। के यो सजाय एकदमै कठोर थियो? थिएन। यी कारणहरू विचार गर्नुहोस्‌:

पहिलो, परमेश्‍वरले मोशालाई इस्राएलीहरूसित बोल्ने अनुमति त दिनुभएको थिएन भने, तिनीहरूलाई विद्रोही ठहऱ्‍याउने अनुमति दिनु त परै जाओस्‌। दोस्रो, मोशा र हारून परमेश्‍वरलाई महिमा दिन चुके। परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभयो: ‘मलाई पवित्र तुल्याएनौ।’ (पद १२) मोशाले “हामी तिमीहरूलाई पानी निकालिदिऊँ” भन्दा चमत्कार गरेर पानी निकाल्ने परमेश्‍वर होइन तर आफूहरू नै हो भन्‍ने भान पार्न खोजे। तेस्रो, त्यसअघि यहोवाले जसरी न्याय गर्नुहुन्थ्यो अहिले पनि त्यसरी नै न्याय गर्नुभयो। परमेश्‍वरले विद्रोह गर्ने अघिल्लो पुस्तालाई कनानमा पस्न दिनुभएको थिएन अनि मोशा र हारूनलाई पनि त्यसै गर्नुभयो। (गन्ती १४:२२, २३) चौथो, मोशा र हारून इस्राएलीहरूका अगुवा थिए। जत्ति धेरै जिम्मेवारी सुम्पिएको हुन्छ, परमेश्‍वरलाई त्यत्ति नै धेरै लेखा दिनुपर्ने हुन्छ।—लूका १२:४८.

यहोवा सत्यको पक्षमा दृढ अडान लिनुहुन्छ। न्यायलाई प्रेम गर्ने भएकोले उहाँ पक्षपात गरेर इन्साफ गर्नुहुन्‍न। स्पष्ट छ, त्यस्तो न्यायकर्ता हाम्रो भरोसा र आदरको योग्य हुनुहुन्छ।

w 09 9/1)

[फुटनोट]

a मिश्रबाट प्रस्थान गरिसकेपछि इस्राएलीहरू परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गरेको कनान देशमा पस्नै लागेका थिए। तर १० जना गुप्तचरले खराब समाचार ल्याउँदा तिनीहरूले मोशाविरुद्ध गनगन गरे। त्यसैले यहोवाले तिनीहरूलाई ४० वर्षसम्म उजाडस्थानमा भौंतारिनू भन्‍ने आदेश दिनुभयो। त्यतिन्जेल ती विद्रोही पुस्ताका कोही पनि जीवित रहने थिएनन्‌।