जीवनी
“मैले देख्न त देखें तर बुझ्न सकिनँ”
सन् १९७५ को कुरा हो, म दुई वर्षको छँदा मेरी आमाले मेरो अनौठो व्यवहार याद गर्नुभयो। आमाले मलाई बोकिरहनुभएको बेला उहाँको साथीले एउटा गह्रौं सामान भुइँमा खसाल्नुभयो र एकदमै ठूलो आवाज आयो। तर मैले केही प्रतिक्रिया देखाइनँ। तीन वर्षको भइसक्दा पनि मेरो बोली फुटेको थिएन। पछि मेरो परिवारले नराम्रो खबर सुन्नुपऱ्यो। डाक्टरहरूले म पूरै बहिरो भएको खबर सुनाए।
म सानै छँदा आमाबाबुको सम्बन्धविच्छेद भयो र आमा एक्लैले मलाई, दुई दाइ र दिदीलाई हुर्काउनुभयो। त्यतिबेला फ्रान्समा बहिरा केटाकेटीहरूलाई अहिले जस्तो गरी शिक्षा दिइँदैनथियो र सिकाउने तरिका निकै पीडादायी हुन्थ्यो। तर अरू थुप्रै बहिराहरूले नपाएको सुविधा मैले सानैदेखि पाएको थिएँ। त्यसबारे अब बताउँछु।
त्यतिबेलाका थुप्रै शिक्षकको मान्यता बहिरा बालबालिकाहरूलाई ओठको चाल हेरेर र बोलेर सिकाउनुपर्छ भन्ने थियो। अझ म हुर्केको ठाउँमा त साङ्केतिक भाषा प्रयोग गर्नै निषेध गरिएको थियो। त्यसैले कक्षा भइरहेको बेला बहिरा केटाकेटीहरूको हात पछाडि बाँध्ने गरिन्थ्यो।
सानो छँदा हरेक हप्ता म स्पीच थेरापिस्टकहाँ जान्थें र घण्टौं समय बिताउँथें। तिनीहरूले मेरो चिउँडो वा टाउको समातेर जबरजस्ती आवाज निकाल्न लगाउँथे जबकि मैले त्यो आवाज सुन्नै सक्दिनथें। म अरू केटाकेटीसँग कुराकानी गर्न सक्दिनथें। ती वर्षहरू मेरा लागि पीडादायी थिए।
म छ वर्षको छँदा मलाई बहिराहरूको स्कूल पठाइयो। त्यहाँ मजस्तै अरू सबै जना बहिरा थिए। यहाँ पनि साङ्केतिक गर्न निषेध गरिएको थियो। हामीले कक्षामा केही इसारा गऱ्यौं भने औंलाको जोर्नीमा हिर्काइन्थ्यो वा कन्सिरीको रौं तान्ने गरिन्थ्यो। तर आफैले बनाएका सङ्केतहरू गोप्य तरिकामा प्रयोग गर्थ्यौं। जेहोस् पछि म अरू केटाकेटीसित कुराकानी गर्न सक्ने भएँ। त्यसपछिका चार वर्ष रमाइलोसित बित्यो।
जब म दस वर्ष पुगें मलाई साधारण केटाकेटीहरू पढ्ने स्कूलमा पठाइयो। मेरो मन भरङ्ग भयो। संसारमा अब मबाहेक अरू कोही बहिरा केटाकेटी छैनन् जस्तो लाग्यो। मैले स्पीच थेरापीबाट फाइदा उठाउन नसक्ला भनेर चिन्ता गरेका डाक्टरहरूको सल्लाह सुनेर मेरो परिवारले साङ्केतिक भाषा सिकेन र मलाई कोही बहिरा केटाकेटीहरूसँग सङ्गत गर्न पनि दिइएन। एक जना श्रवण विशेषज्ञलाई भेट्न गएको मलाई अहिलेसम्म याद छ। तिनको टेबुलमा साङ्केतिक भाषाको किताब राखिएको थियो। त्यसको आवरण चित्र देखाउँदै मैले भनें, “मलाई त्यो चाहियो।” डाक्टरले हतपत किताब लुकाए। a
सानैमा बाइबल सत्य सिकें
आमाले हामी सबै छोराछोरीलाई बाइबलबाट सिकाउनुभयो। उहाँले हामीलाई बोर्डो सहर नजिकै रहेको यहोवाका साक्षीहरूको मेरिन्याक मण्डलीमा हुने सभाहरूमा लैजानुहुन्थ्यो। सानो भएकोले सभामा छलफल गरिने कुरा एकदम थोरै मात्र बुझ्न सक्थें। तर सधैं कोही न कोही मसँगै आएर बस्थे र मेरो लागि टिपोट लेखिदिन्थे। तिनीहरूले देखाएको प्रेम र चासोले मेरो मन छोयो। आमाले घरमा बाइबलबाट सिकाउनुहुन्थ्यो तर मैले कहिल्यै राम्रोसित बुझिनँ। मैले भविष्यवक्ता दानियलले जस्तै महसुस गरें। स्वर्गदूतको भविष्यवाणी सुनेपछि तिनले यसो भने: “मैले सुन्न ता सुनें तर बुझ्नसकिनँ।” (दानियल १२:८) तर मेरो सन्दर्भमा कुरा यस्तो थियो, “मैले देख्न त देखें तर बुझ्न सकिनँ।”
बिस्तारै मैले बाइबलको आधारभूत सत्य सिकें। स्पष्टसित बुझेको कुराहरूलाई म सम्झिरहन्थें र ती कुरा व्यवहारमा उतार्न प्रयास गर्थें। अरूको व्यवहार हेरेर पनि सिक्न सकें। उदाहरणको लागि, बाइबलले धैर्य गर्न सल्लाह दिन्छ। (याकूब ५:७, ८) मैले यो सल्लाहको अर्थ बुझेको थिइनँ। तर सङ्गी विश्वासीहरूले यो गुण झल्काएको देखेर धैर्य गर्नुको अर्थ बुझ्न सकें। साँच्चै भन्नुपर्दा ख्रीष्टियन मण्डलीले मलाई निकै मदत गरेको छ।
तीतो अनुभव तर मीठो परिणाम
एक पटकको कुरा, म किशोर छँदा केही जवान बहिराहरूलाई बाटोमा साङ्केतिक भाषामा कुरा गर्दै गरेको देखें। अरूले थाह नपाउने गरी म तिनीहरूलाई भेट्ने गर्थें र फ्रान्सेली साङ्केतिक भाषा सिक्न थालें। स्टेफान नाम गरेको एक जवान साक्षीले मलाई दाइले जस्तै माया गरे। तिनी जाने मण्डलीमा म नियमित जान थालें। मसित कुराकानी गर्न तिनी निकै प्रयास गर्थे र हामीबीच बलियो मित्रता गाँसियो। तर यो खुसी लामो समयसम्म रहेन। स्टेफानले सेनामा जान इन्कार गरेकोले तिनलाई जेलमा हालियो। मेरो मन भरङ्ग भयो। म एकदमै निराश भएँ र सभाहरूमा जानै छोडें भने पनि हुन्छ।
एघार महिनापछि स्टेफान जेलबाट मुक्त भएर घर फर्के। स्टेफानले साङ्केतिक भाषामा कुरा गर्न थाल्दा म कति खुसी भएँ होला, कल्पना गर्नुहोस् त! मैले पत्याउनै सकिनँ। यो सब कसरी भयो? जेलमा छँदा स्टेफानले फ्रान्सेली साङ्केतिक भाषा सिकेका रहेछन्। तिनको हातको इसारा र अनुहारको भाव हेरें अनि मैले बुझ्ने तरिकामा तिनले सत्य सिकाउन सक्छन् भनेर थाह पाउँदा मेरो उत्साह बढ्यो।
बल्ल बाइबल सत्य बुझें
स्टेफानसित मैले बाइबल अध्ययन सुरु गरें। त्यसपछि मैले पहिला सिकेका बाइबलका सत्यहरूको अर्थ बुझ्न थालें। सानो छँदा मलाई बाइबल प्रकाशनहरूमा भएका चित्रहरू हेर्न रमाइलो लाग्थ्यो। आफ्नो दिमागमा ती कथाहरू ठप्प राख्न चित्रमा देखाइएका पात्रहरूबारे विचार गर्थें र तिनीहरूबारे एक-एक कुरा केलाउँथें। मलाई अब्राहाम, तिनको “सन्तान” र “ठूलो भीड”-को विषयमा थाह थियो तर साङ्केतिक भाषामा बताइएपछि मात्र यी कुराहरूको वास्तविक अर्थ बुझ्न सकें। (उत्पत्ति २२:१५-१८; प्रकाश ७:९) बल्ल मैले आफ्नो मनको भाषामा कुरा गर्न सकें।
अब भने सभाहरूमा बताइएको कुरा बुझ्न सकें। यसले मेरो मन छोयो र सत्य सिक्ने चाहना बढ्यो। स्टेफानको मदतले मैले बाइबलका कुराहरू बुझ्दै गएँ। सन् १९९२ मा यहोवा परमेश्वरलाई आफ्नो जीवन समपर्ण गरेर बप्तिस्मा गरें। हुन त मैले प्रगति गरें तर लजालु स्वभाव र अरूसित कुराकानी गर्न नसक्ने भएकोले म त्यति घुलमिल हुन सकिरहेको थिइनँ।
लजालु स्वभाव हटाउने प्रयास
मैले बहिराहरूको सानो समूहसित सङ्गत गरिरहेको थिएँ। यो समूह पछि बोर्डो नजिकै पर्ने पेसाक सहरमा रहेको मण्डलीसित गाभियो। यो मेरो लागि राम्रो भयो किनभने मैले सत्यको ज्ञान अझ सिक्दै गएँ। अरूसित मजाले कुराकानी
गर्न सक्दिनथें तर मेरा साथीहरू जो बहिरा होइनन् तिनीहरू मैले सबै कुरा बुझें कि बुझिनँ भनेर पक्का गर्थे। जिल र एलोडी नाम गरेको दम्पतीले मसँग कुराकानी गर्न निकै प्रयास गरे। तिनीहरू सभापछि मलाई खाजा खान वा कफी पिउन बोलाउँथे। यसले गर्दा तिनीहरूसँग राम्रो मित्रता गाँसियो। परमेश्वरको मायालु मार्ग पछ्याउनेहरूमाझ हुन पाउनु कस्तो आनन्द!यही मण्डलीमा मैले एउटी राम्री बहिनीलाई भेटें। उनको नाम वानेशा थियो। उनी सबैसित घुलमिल हुन्थिन् र सबैलाई समान व्यवहार गर्थिन्। उनको यस्तो गुणले म आकर्षित भएँ। म बहिरा भए पनि मसित कुरा गर्न हिचकिचाइनन् बरु बहिराहरूसँग कुरा गर्ने तरिका सिकिन्। मलाई ऊ मन पऱ्यो र सन् २००५ मा हामीले बिहे गऱ्यौं। म अरूसित कुरा गर्न लजाउँथें तर वानेशाले मेरो लजालु स्वभाव हटाउन र अझ खुलेर कुराकानी गर्न मदत गरिन्। आफ्नो जिम्मेवारी सम्हाल्न उनको साथ पाएकोमा कृतज्ञ छु।
यहोवाले अर्को उपहार दिनुभयो
हामीले विवाह गरेको वर्षमा लुभ्रस्थित यहोवाका साक्षीहरूको फ्रान्स शाखा कार्यालयमा एक महिनाको लागि अनुवादसम्बन्धी तालिम लिन मैले निम्तो पाएँ। हालैका वर्षहरूमा फ्रान्सेली साङ्केतिक भाषाका विभिन्न प्रकाशनहरू डी भी डी-मा उत्पादन गर्न निकै मेहनत गरिंदै छ। तर धेरै काम बाँकी भएकोले अनुवादकहरूको खाँचो थियो।
वानेशा र मलाई यस्तो लाग्यो, मैले शाखा कार्यालयमा सेवा गर्न पाउनु यहोवा परमेश्वरले दिनुभएको उपहार र ठूलो सुअवसर हो। तर हामीलाई मनमा कता-कता चिन्ता लागिरहेको थियो। हाम्रो साङ्केतिक समूह के हुने होला? हाम्रो घर के गर्ने? वानेशाले नयाँ ठाउँमा काम पाउला? तर यहोवाले छक्कलाग्दो तरिकामा सबै समस्या समाधान गरिदिनुभयो। यहोवाले हामीलाई र बहिराहरूलाई कति प्रेम गर्नुहुँदो रहेछ भनेर महसुस गरें।
एकताबद्ध मानिसहरूको साथ
अनुवाद कार्य गर्दै गएपछि बहिराहरूलाई परमेश्वरको ज्ञान सिकाउन के-कस्तो गरिंदै छ भनेर राम्ररी बुझ्न सकें। साथै थुप्रै सहकर्मीले मसित कुरा गर्न प्रयास गरेको देख्दा एकदम खुसी लाग्छ। तिनीहरूले साङ्केतिक भाषाका केही इसारा सिकेर प्रयोग गर्न खोजेको देख्दा मेरो मन छुन्छ। अब म एक्लो महसुस गर्दिनँ। भाइबहिनीहरूले देखाएको यस्तो माया यहोवाका जनहरूमाझ पाइने गजबको एकताको प्रमाण हो।—भजन १३३:१.
मलाई मदत गर्न यहोवाले ख्रीष्टियन मण्डलीद्वारा सधैं कोही न कोही मिलाइ दिनुभएकोमा म उहाँप्रति कृतज्ञ छु। अरू बहिराहरूलाई हाम्रो मायालु सृष्टिकर्ता चिनाउन र उहाँको नजिक हुन मदत गर्न मेरो सानो भूमिकाको पनि कदर गर्छु। म त्यो दिन पर्खंदै छु, जब सबैले यहोवा परमेश्वर र उहाँको उद्देश्यबारे सत्य कुरा सिकेर “शुद्ध भाषा” बोल्नेछन्। साथै एउटा परिवारको रूपमा कुनै बाधा-अवरोधविना सबैसित कुराकानी गर्न सक्नेछन्।—सपन्याह ३:९. (w13-E 03/01)
a सन् १९९१ पछि मात्रै फ्रान्सेली सरकारले बहिरा बालबालिकालाई साङ्केतिक भाषामा शिक्षा दिन आधिकारिक अनुमति दियो।