सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं भगवान्‌मा भरोसा गर्न सक्नुहुन्छ?

के तपाईं भगवान्‌मा भरोसा गर्न सक्नुहुन्छ?

कल्पना गर्नुहोस्‌, तपाईंको एक जना साथी छ, जसलाई तपाईं एकदमै आदर गर्नुहुन्छ। तर तिनको एउटा काम तपाईंलाई साह्रै अनौठो लाग्यो। त्यो साथी निर्दयी छन्‌ भनेर अरूले तिनको आलोचना गर्छन्‌ र तिनको मनसायमाथि शङ्‌का गर्छन्‌। तपाईं उनीहरूको कुरा पत्याइहाल्नुहुन्छ कि पहिले साथीको कुरा सुन्‍नुहुन्छ? जवाफ दिन तपाईंको त्यो साथी छैनन्‌ भने पनि तपाईं तिनलाई नै भरोसा गर्नुहुन्छ नि, होइन र?

तुरुन्तै जवाफ दिनुको सट्टा यो कुरा विचार गर्नुहुन्छ होला: ‘म उसलाई कत्तिको राम्ररी चिन्छु अनि म किन उसको आदर गर्छु?’ के यही कुरा भगवान्‌मा पनि लागू हुँदैन र? भगवान्‌ निर्दयी हुन्‌ भन्‍ने निष्कर्षमा पुग्नुअघि उहाँबारे अरू कुरा थाह पाउनुपर्दैन र?

भगवान्‌को कुनै-कुनै काम तपाईंलाई अनौठो लाग्ला अथवा अरू कतिपय कुरा भने उहाँले किन हुन दिनुभएको जस्तो लाग्ला। भगवान्‌को मनसायमाथि शङ्‌का गर्न उक्साउने र उहाँ निर्दयी हुनुहुन्छ भन्‍ने मानिसहरू थुप्रै छन्‌। भगवान्‌बारे राम्ररी थाह नपाई उहाँको मनसायमाथि शङ्‌का गर्न मिल्छ र? भगवान्‌लाई यस्तो-उस्तो भन्‍नुअघि उहाँलाई राम्ररी चिन्‍नुपर्छ। अनि उहाँले हाम्रो लागि के गर्नुभएको छ, त्यो पनि विचार गर्नुपर्छ।

आफ्नो जीवन समस्यै-समस्याले भरिएको छ भने तपाईंलाई भगवान्‌ आफ्नो साथीजस्तो पटक्कै लाग्दैन होला। तर एकछिन सोच्नुहोस्‌। भगवान्‌ले तपाईंलाई के दिनुभएको छ—सुख कि दुःख? “यस संसारको शासक” सैतान हो, यहोवा होइन भनेर हामीले थाह पाइसक्यौं। (यूहन्‍ना १२:३१) त्यसकारण संसारमा जति पनि दुःखकष्ट अनि अन्याय भइरहेको छ, त्यसको पछाडि सैतानको हात छ। साथै आफ्नै कमीकमजोरी अनि अचानक आइपर्ने परिस्थितिले गर्दा कहिलेकाहीं समस्याको सिकार हुन्छौं, होइन र?

भगवान्‌ले तपाईंलाई के दिनुभएको छ—सुख कि दुःख?

भगवान्‌ले हामीलाई दिनुभएको कुराबारे बाइबल यसो भन्छ: उहाँले ‘स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो’; उहाँले हाम्रो शरीर ‘आश्‍चर्य रीतिले बनाउनुभयो’; यहोवाको ‘हातमा हाम्रो सास छ।’ (भजन १२४:८; १३९:१४; दानियल ५:२३) यसको अर्थ के हो?

यसको अर्थ हो, सृष्टिकर्ताले गर्दा नै हामीले जीवन पाएका हौं अनि हामी अस्तित्वमा छौं। (प्रेषित १७:२८) त्यसैले यो जीवन उहाँकै वरदान हो। यो सुन्दर पृथ्वी, एकअर्काको माया, मित्रता, स्वादिष्ठ भोजन, प्रियजनको न्यानो आलिङ्‌गन, सुमधुर सङ्‌गीत र मीठो बास्ना—यी सबै भगवान्‌कै वरदान हुन्‌। (याकूब १:१७) यस्ता वरदान दिनुहुने भगवान्‌ आदरयोग्य अनि भरोसायोग्य साथी होइन र?

केही मानिस भगवान्‌लाई किन निर्दयी ठान्छन्‌, त्यसको सबै कारण यी लेखहरूमा बताउन सम्भव छैन। हुन सक्छ, तपाईंले भगवान्‌लाई भरोसा गर्न सक्ने हदसम्म चिन्‍नुभएको छैन। त्यसैले उहाँमाथि भरोसा गर्न गाह्रो लाग्नु स्वाभाविकै हो। तर उहाँलाई अझ राम्ररी चिन्‍ने प्रयास गर्नुभयो भने त्यो प्रयास खेर जानेछैन। a यसो गर्दा तपाईंले भगवान्‌बारे साँचो कुरा थाह पाउनुहुनेछ। त्यसपछि पनि तपाईंलाई उहाँ निर्दयी लाग्नेछ? अहँ लाग्नेछैन किनभने “परमेश्‍वर प्रेम हुनुहुन्छ।”—१ यूहन्‍ना ४:८. (w13-E 05/01)

a भगवान्‌ले किन दुष्टता रहिरहन दिनुहुन्छ भन्‍नेबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ११ हेर्नुहोस्‌।