बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
बन्दुक नबोकी हिंडेको दिनै थिएन
-
जन्म मिति: १९५८
-
जन्म स्थान: इटाली
-
विगतमा: हिंस्रक समूहको सदस्य
मेरो विगत:
म रोम छेउछाउको एउटा गरिब बस्तीमा जन्में र त्यहीं हुर्कें। जीवन धान्न साह्रै गाह्रो थियो। मैले आमाको मुख कहिल्यै देखिनँ र बुबासँग पनि त्यति राम्रो सम्बन्ध थिएन। म हुर्केको ठाउँमा हिंसा, लुटपाट अक्सर भइरहन्थ्यो। त्यसैले ती कुराहरूले मलाई पनि प्रभाव पाऱ्यो।
दस वर्ष नपुग्दै मैले चोरी गर्न थालिसकेको थिएँ। बाह्र वर्षको उमेरमा म पहिलो चोटि घर छोडेर भागें। धेरै पटक बुबाले मलाई प्रहरी चौकीबाट घर ल्याउनुपऱ्यो। मानिसहरूसित झगडा गर्ने मेरो बानी नै भइसकेको थियो। मलाई पूरै संसारसित रिस उठ्थ्यो। चौध वर्ष पुग्दा मैले सधैंको लागि आफ्नो घर छोडें। अनि लागूपदार्थ सेवन गर्न थालें। सडक नै मेरो घर हुन थाल्यो। सुत्ने ठाउँ कतै पनि नपाउँदा म कसैको गाडी तोडफोड गर्थें अनि त्यही गाडीमा रात बिताउँथें। बिहानपख चाहिं हातमुख धुनको लागि कतै पानीको फोहरा छ कि भनेर खोज्ने गर्थें।
म चोर्न सिपालु भइसकेको थिएँ। अर्काको हातबाट ब्याग खोस्नेदेखि राति-राति अपार्टमेन्ट अनि ठूलठूला भवनहरू लुट्ने समेत गर्थें। मानिसहरूले मलाई खराब व्यक्तिको रूपमा चिन्न थाले। त्यसैले एउटा कुख्यात समूहले मलाई तिनीहरूसितै काम गर्न बोलायो। अब भने घरहरू मात्र नभई बैंकहरू समेत लुट्न थालें। म सन्की स्वभावको भएकोले त्यो समूहका सबैले मेरो आदर गर्थे। बन्दुक नबोकी हिंडेको त दिनै थिएन। बन्दुकलाई आफ्नो सिरानीमुनि राखेर सुत्थें। हिंसा, लागूपदार्थ, चोरी, छाडा बोली र अनैतिकता मेरो जीवनको भाग बनिसकेको थियो। प्रहरीहरू सधैं मेरो खोजीमा हुन्थे। म धेरै पटक पक्राउ परें अनि जेल भित्र र बाहिर गर्दागर्दै वर्षौं बित्यो।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
एकदिनको कुरा हो, जेलबाट छुटेपछि म सानीआमालाई भेट्न गएँ। मेरी सानीआमा र उहाँको छोराछोरी यहोवाको साक्षी भइसकेका रहेछन्। उहाँहरूले मलाई यहोवाका साक्षीहरूको सभामा जाऔं भन्नुभयो। मनमा खुलदुली लागेकोले म उहाँहरूसित गएँ। राज्यभवनमा पुगेपछि म ढोका छेउमै बस्छु भनेर जिद्दी गरें किनकि म त्यहाँ आउजाउ गर्ने सबैमाथि नजर राख्न चाहन्थें। त्यतिबेला पनि मसँग बन्दुक थियो।
त्यस सभाले मेरो जीवनमा ठूलो परिवर्तन ल्यायो। त्यहाँ उपस्थित हुँदा म अर्कै ग्रहमा छु कि जस्तो महसुस भएको थियो। मलाई स्वागत गर्ने सबैको अनुहार न्यानो र हँसिलो देखिन्थ्यो। ती साक्षीहरूको दया र निष्कपटता तिनीहरूको आँखामा झल्किन्थ्यो। अझै पनि यो कुरा म झलझली सम्झन्छु। मेरो संसार र त्यहाँको माहोलमा आकाश जमिनको अन्तर थियो!
मैले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालें। बाइबलबाट सिक्दै गएपछि आफ्नो जीवनशैलीलाई पूरै परिवर्तन गर्नुपर्छ भनेर बुझें। हितोपदेश १३:२० मा दिइएको यो सल्लाह मैले पालन गरें: “बुद्धिमानीहरूको सङ्गत गर्नाले बुद्धिमान होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।” आफूले सङ्गत गरेको खतरनाक समूहदेखि अलग रहनुपर्छ भनेर मैले बुझें। सजिलो त थिएन तर यहोवा परमेश्वरको मदत पाएकोले त्यो समूह छोड्न सकें।
जीवनमा पहिलो पटक मैले आफूलाई वशमा राख्न सकें
मैले आफ्नो बानीबेहोरा पनि सुधारें। निकै प्रयास गरेपछि चुरोट र लागूपदार्थ छोड्न सकें। लामो कपाल काटेर छोटो बनाएँ, मुन्द्री लगाउन अनि छाडा बोल्न पनि छोडिदिएँ। जीवनमा पहिलो पटक मैले आफूलाई वशमा राख्न सकें।
मलाई पढ्न भने फिटिक्कै मन पर्दैन थियो। त्यसैले बाइबल अध्ययन गर्दा ध्यान दिन निकै गाह्रो भयो। तैपनि धेरै कोसिस गरें। अनि यसो गर्दा यहोवा परमेश्वरप्रति मेरो प्रेम बढ्दै गयो। साथै आफूमा केही परिवर्तन हुन थालेको महसुस गरें। विगतमा गरेका गल्तीहरूले मलाई पिरोल्न थाल्यो। म आफैलाई बेकामको महसुस गर्थैं। मैले गरेका खराब कामहरूको लागि यहोवा परमेश्वरले कहिल्यै क्षमा दिनुहुन्न जस्तो लाग्थ्यो। तर राजा दाऊदले गम्भीर गल्ती गरेको भए तापनि यहोवा परमेश्वरले तिनलाई क्षमा दिनुभएको विवरण पढ्दा मैले निकै सान्त्वना पाएँ।—२ शमूएल ११:१–१२:१३.
घर-घरको प्रचारमा गएर आफ्नो विश्वासबारे अरूलाई बताउन पनि निकै गाह्रो भयो। (मत्ती २८:१९, २०) पहिला आफूले सताएको कोही व्यक्ति पो भेटिने हो कि भनेर डर लाग्थ्यो! तर बिस्तारै यो डर पनि हट्न थाल्यो। स्वर्गमा बस्नुहुने मायालु बुबा, जसले हामीलाई प्रशस्तै क्षमा दिनुहुन्छ, उहाँबारे अरूलाई बताउँदा साँचो सन्तुष्टि पाउन थालें।
मैले कसरी लाभ उठाएको छु?
यहोवा परमेश्वरबारे सिकेकोले नै म जीवित छु। मेरा पुराना साथीहरू या त मरिसकेका छन् या जेलमा छन्। तर म अहिले आनन्दित जीवन बिताइरहेको छु अनि मसित सुन्दर भविष्यको आशा पनि छ। मैले नम्र, आज्ञाकारी हुन अनि आफ्नो रिसाउने बानी त्याग्न सकेको छु। यसले गर्दा छिमेकी, साथीभाइसित राम्रो सम्बन्ध गाँस्न सकेको छु। मेरी प्यारी श्रीमती कार्मेनसित हाँसीखुसी जीवन बिताइरहेको छु। सँगै मिलेर अरूलाई बाइबलको सन्देश बाँड्न पाउँदा हामी धेरै खुसी छौं।
अँ साँच्चै! म अहिले इमान्दार छु। कहिलेकाहीं बैंक जाने गर्छु, त्यहाँ लुटपाट गर्न त होइन तर सरसफाइ गर्न।