सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 आवरण लेख

के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?

के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?

“पुस्ताहरू आउँछन्‌, पुस्ताहरू जान्छन्‌, तर पृथ्वीचाहिं सदासर्वदै रहिरहन्छ।”—राजा सुलेमान, येशू ख्रीष्टको जन्मभन्दा झन्डै ११०० वर्ष अघि *

पुरातन समयका यी बाइबल लेखकले सधैंभरि रहने पृथ्वीको तुलनामा मानिसहरूको जीवन त कर्कलाको पानी जस्तै छ भन्ने महसुस गरे। हुन पनि हजारौं वर्ष बितिसक्यो, कैयौं पुस्ता आए र गए, तर पृथ्वीले भने आजसम्म जीवन धानिरहेको छ। साँच्चै! पृथ्वी निकै टिकाउपूर्ण र भरपर्दो साबित भएको छ।

दोस्रो विश्वयुद्ध पछि संसारभरि तीव्र गतिमा ठूलठूला परिवर्तनहरू भए। बितेको ७०/८० वर्षभित्रै मानिसहरूले सवारीसाधन, सञ्चार माध्यम र अरू प्रविधिका क्षेत्रहरूमा निकै उन्नति गरिसकेका छन्‌। यसले गर्दा संसारको आर्थिक अवस्थाले पनि ठूलो फड्को मारेको छ। अहिले थुप्रै मानिसहरूले उच्च जीवनस्तरको आनन्द उठाइरहेका छन्‌, जुन केही वर्ष अगाडि असम्भव ठानिन्थ्यो। अर्कोतिर पृथ्वीको जनसङ्ख्या भने तीन गुणा बढेको छ।

तर यी सबै कुराहरू प्राप्त गर्न ठूलो मूल्य चुकाउनु परेको छ। मानिसहरूको क्रियाकलापले गर्दा पृथ्वीको अवस्था झन्‌झन्‌ खस्कँदै गइरहेको छ। यस्तै भइरहने हो भने अब चाँडै पृथ्वीमा जीवन धान्न अत्यावश्यक प्राकृतिक चक्रहरूले सही तरिकामा काम गर्न छोड्नेछ। हामी आन्थ्रोपोसिन भनिने भौगर्भिक युगमा प्रवेश गरिसकेका छौं भनी केही वैज्ञानिकहरू बताउँछन्‌। यस युगमा मानिसहरूले पृथ्वीको इतिहासमा पहिला कहिल्यै नभएका विनाशकारी कामहरू गरेका छन्‌ र यो क्रम दिन प्रति दिन बढ्दै गइरहेको छ।

मानिसले ‘पृथ्वीलाई विनाश’ गर्ने समय आउनेछ भनी बाइबलमा पहिले नै भविष्यवाणी गरिएको थियो। (प्रकाश ११:१८) हामी त्यही समयमा बाँचिरहेका छौं कि भनी केही मानिसहरू सोच्ने गर्छन्‌। मानिसहरूले पृथ्वीलाई अझै कति क्षति पुऱ्याउने हो? पृथ्वीको अवस्थामा अब कहिल्यै सुधार आउँदैन त? के वास्तवमै मानिसहरूले पृथ्वीलाई सधैंको लागि विनाश गर्नेछन्‌?

 पृथ्वीको अवस्थामा कहिल्यै सुधार आउँदैन त?

के साँच्चै पृथ्वीको अवस्था कहिल्यै सुध्रिंदैन? केही वैज्ञानिकहरूका अनुसार पृथ्वीमा आएका परिवर्तनहरूले कुन हदसम्म असर पुऱ्याउन सक्छ भनेर पूर्वानुमान लगाउन गाह्रो छ। जलवायुमा अचानक र आशै नगरेको परिवर्तन आएमा त्यसले भयानक विपत्ति ल्याउनेछ भनेर वैज्ञानिकहरू निकै चिन्तित छन्‌।

उदाहरणको लागि पश्‍चिमी अन्टार्टिकाको बरफको तहबारे विचार गरौं। यदि समुद्र र पृथ्वीको वायुमण्डलको तापक्रम अहिले जस्तै वृद्धि भइरहने हो भने अन्टार्टिकाको बरफको तह पग्लेर जानेछ र फेरि कहिल्यै जम्ने छैन भनी केही मानिसहरू विश्वास गर्छन्‌। किन? किनभने बरफको तहले सूर्यका किरणहरूलाई फर्काउने काम गर्छ। बरफको तह पग्लिंदै गएमा बरफको तहमुनि भएको समुद्र बाहिर देखापर्छ। समुद्री पानीले भने सूर्यका किरणहरूलाई बरफले जस्तै फर्काउन सक्दैन। समुद्रको सतह कालो हुने भएकोले समुद्रले अझ धेरै घाम सोस्छ र झन्‌ धेरै बरफ पग्लिन्छ। यस्तो भएमा यस विनाशकारी प्रक्रियालाई रोक्न असम्भव हुन सक्छ। बरफ पग्लिने क्रम नरोकिएमा समुद्रमा पानीको मात्रा बढ्दै जान सक्छ र यसले गर्दा करोडौं मानिसहरूले विपत्ति भोग्नुपर्ने पनि हुन सक्छ।

वातवरणीय समस्याहरू झन्‌झन्‌ बढ्दै

वातावरणमा आएका समस्याहरूको समाधान गर्न विभिन्न योजनाहरू बनाइएका छन्‌। त्यस्तै एउटा योजना हो, दिगो विकास, जुन धेरै अघिदेखि चलिरहेको छ। दिगो विकास भन्नाले पृथ्वीको वातावरणमा क्षति नपुऱ्याई आर्थिक र सामाजिक विकासका कामहरू गर्नु भन्ने बुझिन्छ। यो योजनाको परिणाम कस्तो भएको छ?

दुःखलाग्दो कुरा मानिसहरूले प्राकृतिक स्रोतसाधनको दुरुपयोग गरेका छन्‌ र यो क्रम बढ्दै गइरहेको छ। पृथ्वीको प्राकृतिक स्रोतसाधनमा केही कमी भएमा त्यसको क्षतिपूर्ति गर्ने क्षमता पृथ्वीसित छ। तर पृथ्वीले क्षतिपूर्ति गर्नै नसक्नेगरि मानिसहरूले प्राकृतिक स्रोतसाधनको प्रयोग गर्ने गरेका छन्‌। यो समस्याको कुनै समाधान छ त? एक जना वातावरणविद् यसो भन्छन्‌: “एक अर्थमा भन्ने हो भने पृथ्वीमा भएका प्राकृतिक स्रोतसाधनको प्रयोगलाई सुव्यवस्थित पार्न हामीसित कुनै उपाय नै छैन।” हो, बाइबलले भनेझैं “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्ति मानिसमा छैन।”—यर्मिया १०:२३.

तर बाइबलले हामीलाई यो कुरामा ढुक्क बनाएको छ: सृष्टिकर्ताले मानिसहरूलाई पृथ्वीको वातावरण सधैंका लागि नष्ट गर्न दिनुहुनेछैन। भजन ११५:१६ मा यसो लेखिएको छ: ‘पृथ्वीचाहिं परमेश्वरले मानिस जातिलाई दिनुभएको छ।’ हो, यो पृथ्वी त स्वर्गमा हुनुहुने हाम्रा बुबाले हामीलाई दिनुभएको “असल वरदान” अर्थात्‌ उपहार हो। (याकूब १:१७) परमेश्वरले दिनुभएको उपहार केही समयको लागि राम्ररी चलेर तुरुन्तै बिग्रने खालको हुन सक्ला  र? अहँ! हुन सक्दैन। हाम्रो पृथ्वीको डिजाइनबाट यो कुरा प्रस्ट हुन्छ।

सृष्टिकर्ताले के गर्नुहुनेछ

परमेश्वरले कसरी पृथ्वीको सृष्टि गर्नुभयो र यसलाई राम्ररी डिजाइन गर्नुभयो भनेर बाइबलले विस्तृत रूपमा बताएको छ। बाइबलमा बताइएअनुसार सुरुमा पृथ्वी “आकार विनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार थियो।” साथै जीवन धान्न अत्यावश्यक चीज “पानी” पनि थियो भनेर बाइबलले तोकेरै बताएको छ। (उत्पत्ति १:२) त्यसपछि परमेश्वरले भन्नुभयो: “उज्यालो होस्।” (उत्पत्ति १:३) तब सूर्यका किरणहरू वायुमण्डल चिर्दै पृथ्वीसम्म आइपुग्यो र पहिलो पटक पृथ्वीमा उज्यालो भयो। अनि परमेश्वरले सुख्खा जमिन र समुद्र छुट्टयाउनुभयो भनी विवरण बताउँछ। (उत्पत्ति १:९, १०) त्यसपछि उहाँले “वनस्पति, बिउ हुने बोटहरू र आफ्ना आफ्नै किसिमका बिउ हुने फल-वृक्षहरू” सृष्टि गर्नुभयो। (उत्पत्ति १:१२) यसरी यी सम्पूर्ण थोकहरू अस्तित्वमा आएपछि प्रकाश संश्लेषण (फोटोसिन्थेसिस) जस्ता जीवन धान्न अत्यावश्यक प्राकृतिक चक्रहरू पृथ्वीमा सुरु भयो। सृष्टिकर्ताले यी सबै गर्नुको उद्देश्य के थियो?

प्राचीन समयका भविष्यवक्ता यशैयाले परमेश्वरबारे यसो लेखे: “जसले पृथ्वीको रूप रच्नुभयो र बनाउनुभयो, र त्यो बसाल्नुभयो, उहाँले त्यो खाली हुनलाई सृष्टि गर्नुभएन तर उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।” (यशैया ४५:१८, NRV) मानिसहरूले सधैंका लागि पृथ्वीमा बास गरून्‌ भन्ने उद्देश्य राखेर परमेश्वरले पृथ्वी सृजनुभएको थियो भन्ने कुरा स्पष्ट छ।

तर अफसोस! मानिसहरूले माल पाएर चाल नपाएको जस्तो गरेका छन्‌। परमेश्वरले दिनुभएको सुन्दर उपहार पृथ्वीलाई तिनीहरूले जीर्ण अवस्थामा पुऱ्याएका छन्‌। तर सृष्टिकर्ताको उद्देश्य भने परिवर्तन भएको छैन। पुरातन समयका एक व्यक्तिले यसो भने: “परमेश्वर ढाँट्नुहुन्न, कारण उहाँ मानिस हुनुहुन्न, औ उहाँ मान्छेको सन्तान पनि हुनुहुन्न। उहाँले मन बद्लनुहुन्न। उहाँले भनेपछि के त्यो गर्नुहुन्न र?” (गन्ती २३:१९) परमेश्वरले पृथ्वीलाई सदाका लागि विनाश हुन दिनुहुने छैन। बरु उहाँले ‘पृथ्वीका विनाशकारीहरूलाई विनाश गर्नुहुनेछ।’ अनि त्यो समय छिट्टै आउँदैछ।—प्रकाश ११:१८.

पृथ्वी सधैंभरि रहिरहनेछ

डाँडाको उपदेश भनिने येशू ख्रीष्टको प्रख्यात उपदेशमा उहाँले यसो भन्नुभएको थियो: “आनन्दित हुन्‌ ती मानिसहरू, जो कोमल स्वभावका छन्‌, किनकि तिनीहरू पृथ्वीको उत्तराधिकारी हुनेछन्‌।” (मत्ती ५:५) त्यही उपदेशमा पृथ्वीलाई विनाश हुनदेखि जोगाउन परमेश्वरले चलाउनुहुने माध्यमबारे पनि येशू ख्रीष्टले बताउनुभयो। उहाँले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो:  “तपाईंको राज्य आओस्। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।” हो, परमेश्वरले पृथ्वी सृजनुहुँदा राख्नुभएको उद्देश्य उहाँको राज्य अर्थात्‌ सरकारले पूरा गर्नेछ।—मत्ती ६:१०.

त्यस राज्यले ल्याउने उल्लेखनीय परिवर्तनहरूबारे परमेश्वर यसो भन्नुहुन्छ: “हेर, म सबै थोक नयाँ बनाउँदैछु।” (प्रकाश २१:५) यसको मतलब परमेश्वरले यो पृथ्वीलाई नष्ट गरेर नयाँ पृथ्वी बनाउनुहुनेछ भन्न खोजेको हो त? अहँ! होइन। किनभने हाम्रो पृथ्वीको बनावटमा कुनै खोट छैन। त्यसैले परमेश्वरले पृथ्वीमा समस्याहरू निम्त्याउने “पृथ्वीका विनाशकारीहरू” अर्थात्‌ अहिले संसारमा शासन गरिरहेका मानव सरकारहरूलाई विनाश गर्नुहुनेछ। यिनीहरूको ठाउँ ‘नयाँ आकाश र नयाँ पृथ्वीले’ लिनेछ। नयाँ आकाशले स्वर्गबाट शासन गर्ने नयाँ सरकारलाई बुझाउँछ भने नयाँ पृथ्वीले चाहिं पृथ्वीमा बस्ने मानिसहरूको नयाँ समाजलाई बुझाउँछ।—प्रकाश २१:१.

मानिसहरूको कारण पृथ्वीको प्राकृतिक स्रोतसाधनमा पर्न गएका सम्पूर्ण असरको परमेश्वरले क्षतिपूर्ति गर्नुहुनेछ र त्यसपछि सबै प्राणीहरूले सधैंका लागि आफ्नो जीवन धान्न सक्ने अवस्थामा पृथ्वी हुनेछ। परमेश्वरले गर्नुहुने कामबारे भजनको किताबका एक जना लेखकले यसो भने: ‘पृथ्वीको हेरचाह गरेर तपाईंले त्यसलाई ज्यादै फलिफाप तुल्याउनुहुन्छ।’ तब पूरै पृथ्वी एउटा सुन्दर बगैंचा हुनेछ, जहाँ प्रशस्त उब्जनी हुनेछ, प्राकृतिक विपत्तिहरू आइपर्ला कि भनेर चिन्ता गर्नुपर्ने छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरले त्यहाँका सबै कुरामा आशिष्‌ दिनुहुनेछ।—भजन ६५:९-१३.

भारतका आध्यात्मिक नेता मोहनदास गान्धीका सचिव प्यारेलालका अनुसार गान्धीले यसो भनेका थिए: “पृथ्वीसित सबै मानिसको आवश्यकता पूरा गर्ने क्षमता छ तर सबैको स्वार्थी चाहना पूरा गर्ने क्षमता भने छैन।” परमेश्वरको राज्यले पृथ्वीका समस्याहरूको मूल कारणलाई हटाउनेछ। कसरी? मानिसहरूको मनमा परिवर्तन ल्याएर। भविष्यवक्ता यशैयाले परमेश्वरको राज्य शासनअन्तर्गत मानिसहरूले एकअर्कालाई र पृथ्वीलाई “नता केही हानि न नोक्सानी गर्नेछन्‌” भनेर भविष्यवाणी गरेका थिए। (यशैया ११:९) साँच्चै भन्नुपर्दा, अहिले पनि विभिन्न संस्कृति र परिस्थिति भएका मानिसहरूले परमेश्वरको उच्च स्तरअनुरूप जीवन बिताउन सिकिरहेका छन्‌। तिनीहरूले परमेश्वर र छिमेकीलाई माया गर्न, धन्यवादी मनोवृत्ति देखाउन, वातावरणको ख्याल राख्न, प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न र मानिसजाति अनि पृथ्वीको लागि परमेश्वरले राख्नुभएको उद्देश्यसित मेल खाने तरिकामा जीवन बिताउन सिकिरहेका छन्‌। परमेश्वरले तिनीहरूलाई सुन्दर पृथ्वीमा जीवन बिताउन तयार पार्दै हुनुहुन्छ।—उपदेशक १२:१३; मत्ती २२:३७-३९; कलस्सी ३:१५.

यस सुन्दर पृथ्वीलाई परमेश्वरले कहिल्यै नष्ट हुन दिनुहुने छैन

बाइबलमा लेखिएको सृष्टिको विवरण यी शब्दहरूसहित टुङ्गिन्छ: “आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” (उत्पत्ति १:३१) साँच्चै! यस सुन्दर पृथ्वीलाई परमेश्वरले कहिल्यै नष्ट हुन दिनुहुने छैन। पृथ्वीको भविष्य हाम्रो मायालु सृष्टिकर्ता यहोवाको हातमा सुरक्षित छ भन्ने कुरा थाह पाउँदा हामी सान्त्वना पाउँछौं। धर्मात्माहरूले पृथ्वी अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌ भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ। (भजन ३७:२९) “धर्मात्माहरू” अर्थात्‌ परमेश्वरको स्तरअनुसार चल्ने मानिसहरूले मात्र पृथ्वीलाई आफ्नो घर मानेर सदाका लागि त्यसमा बस्नेछन्‌। तपाईं पनि तिनीहरूमध्ये एक हुन सकोस् भन्ने हाम्रो चाहना छ।

^ अनु. 3 बाइबलको उपदेशक १:४ बाट उद्धरण गरिएको।