बाइबल प्रश्नहरूको जवाफ
के स्वर्गदूतहरूले हामीलाई मदत गर्न सक्छन्?
मानिसहरू बनाउनु भन्दा धेरै समय अघि यहोवा परमेश्वरले करोडौं स्वर्गदूत सृष्टि गर्नु भएको थियो। (अय्यूब ३८:४, ७) स्वर्गदूतहरू परमेश्वरको सेवा गर्ने शक्तिशाली अदृश्य प्राणीहरू हुन्। पृथ्वीमा भएका आफ्ना सेवकहरूलाई डोऱ्याउन र रक्षा गर्न यहोवा परमेश्वर कहिलेकाहीं स्वर्गदूतहरूलाई चलाउनु हुन्छ। (भजन ९१:१०, ११) आज ख्रीष्टियनहरूले प्रचार गरिरहेको सुसमाचारबाट लाभ उठाउन सकून् भनेर स्वर्गदूतहरू मानिसहरूलाई मदत गर्दैछन्।—प्रकाश १४:६, ७ पढ्नुहोस्।
के हामीले मदतको लागि स्वर्गदूतहरूलाई प्रार्थना गर्न मिल्छ? अहँ, मिल्दैन। प्रार्थना गर्नु भनेको उपासनाको एउटा भाग हो। हामीले परमेश्वरको मात्रै उपासना गर्नुपर्छ। (प्रकाश १९:१०) स्वर्गदूतहरू परमेश्वरका सेवकहरू भएकाले तिनीहरू मानिसको होइन, परमेश्वरको निर्देशनहरू पालन गर्छन्। त्यसैले हामीले येशू मार्फत परमेश्वरलाई मात्र प्रार्थना गर्नुपर्छ।—भजन १०३:२०, २१; मत्ती २६:५३ पढ्नुहोस्।
दुष्ट स्वर्गदूतहरू पनि छन्?
मानिसहरूलाई जस्तै स्वर्गदूतहरूलाई पनि छनौट गर्ने स्वतन्त्रता दिइएको छ। मतलब, तिनीहरू सही र गलत छुट्टयाएर आफै निर्णय गर्न सक्छन्। तर दुःखको कुरा थुप्रै स्वर्गदूतहरूले परमेश्वरविरुद्ध विद्रोह गरे। (२ पत्रुस २:४) यस्तो विद्रोह गर्ने सबैभन्दा पहिलो स्वर्गदूत सैतान थियो। पछि अरू स्वर्गदूतहरूले पनि सैतानलाई साथ दिए र दुष्ट स्वर्गदूतहरू बने। केही समयअघि सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई स्वर्गबाट निकालियो अनि पृथ्वीमा फालियो।—प्रकाश १२:७-९ पढ्नुहोस्।
सन् १९१४ यता दुष्टता र हिंसा दिन दुई गुणा रात चौगुणा बढ्दै छ। यसले के देखाउँछ भने परमेश्वरले चाँडै नै सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई नाश गर्नु हुनेछ। त्यसपछि उहाँले पृथ्वी सृजनुहुँदा सुरुमा राख्नुभएको उद्देश्य अनुरूपै पृथ्वीलाई एउटा सुन्दर बगैंचा बनाउनुहुनेछ।—प्रकाश १२:१२; २१:३, ४ पढ्नुहोस्।