तिनीहरूको विश्वास अनुकरण गर्नुहोस् | यूसुफ
‘मैले कसरी यस्तो घोर दुष्ट काम गर्नु?’
यूसुफ हप्प गर्मी भएको महसुस गर्दै छन्। कमलको फूलका साथै अरू जलबिरुवाको मन्द-मन्द बास्ना पनि आइरहेको छ। तिनलाई व्यापारीहरूको एउटा दलले लैजाँदै छ। तिनीहरू विशाल नाइल डेल्टा प्रान्तको बेसी पार गरिरहेका छन्। नदीको किनार हुँदै मिश्र देशको (हाल इजिप्ट) अर्को सहरमा जान ती मानिसहरू ऊँटहरूसितै ताँती लाएर हिंडिरहेका छन्। आकलझुकल मैना र सारस पनि उड्दै छ। यूसुफलाई सयौं किलोमिटर टाढा रहेको आफ्नो घरको यादले सताइरहेको छ। चिसो हावाको सिरेटो चल्ने हेब्रोनको एउटा डाँडामा तिनको घर छ। तर अब तिनी भने अर्कै संसारमा छन्।
कल्पना गर्नुहोस् त, त्यहाँ खजूर अनि अन्जीरको रूखको टुप्पोमा बसेर बाँदरहरू च्याँ च्याँ कराइरहेका छन्। तिनीहरूको बोली पटक्कै बुझ्न नसकेझैं यूसुफले त्यहाँका मानिसहरूको भाषा पनि बुझ्न सकेका छैनन्। सायद तिनले केही शब्द वा वाक्य बुझ्ने अथवा भाषा सिक्ने प्रयास गरे होलान्। किनभने आफ्नो घर कहिल्यै फर्कन पाउने छैन भनेर तिनलाई थाह थियो।
यूसुफ त्यतिखेर केवल १७/१८ वर्षको ठिटो थिए। तैपनि तिनले वयस्कहरूको समेत आङ सिरिङ्ग हुने खालका समस्याहरू भोगे। बुबाले यूसुफलाई सबैभन्दा धेरै माया गरेको देखेर डाहले जलेका तिनका दाइहरूले तिनलाई मार्न खोजेका थिए। तर तिनीहरूले यूसुफलाई मार्नुको सट्टा व्यापारीहरूको हातमा बेचेका थिए। (उत्पत्ति ३७:२, ५, १८-२८) हप्तौं यात्रा गरिसकेपछि अब ती व्यापारीहरू निकै खुसी छन्। किनभने तिनीहरू एउटा ठूलो सहर नजिकै आइपुगेका छन्, जहाँ तिनीहरूले आफूसित ल्याएका बहुमूल्य सामग्रीहरूका साथै यूसुफलाई बेचेर टन्नै पैसा कमाउने योजना बनाएका छन्। यस्तो अवस्थामा निराशाले आफ्नो हृदयमा जरा गाड्न अनि मुटु छियाछिया हुन नदिन यूसुफले के गरे? आज हामीले पनि चुनौती र निराशाको सामना गर्नुपर्दा आफ्नो विश्वास कमजोर हुन नदिन के गर्न सक्छौं? यूसुफबाट हामी धेरै कुरा सिक्न सक्छौं।
“परमप्रभु यूसुफको साथमा हुनुहुन्थ्यो”
“यूसुफ मिश्रमा लगिए, र फिरऊनका एउटा अफिसर, अङ्ग-रक्षकका कप्तान पोतीफर भन्ने एक जना मिश्रीले तिनलाई त्यहाँ ल्याउने इश्माएलीहरूका हातबाट किने।” (उत्पत्ति ३९:१) एक पटक फेरि बेचिंदा जवान यूसुफले कत्ति अपमानित महसुस गरे होलान् भनेर कल्पना गर्न बाइबलका ती शब्दहरूले हामीलाई मदत गर्छ। तिनी त व्यापारीहरूको हातमा मालसामान जस्तै भए! अबदेखि तिनी मिश्र देशको एक जना सरकारी अफिसरको दास हुने थिए। चारैतिर बजार अनि मानिसहरूको भीड भएको त्यो व्यस्त सहरको सडक हुँदै यूसुफ आफ्नो नयाँ घर जान मालिकको पछिपछि लाग्छन्।
घर! वास्तवमा यो नयाँ घर र यूसुफ हुर्केको घरमा आकाश-जमिनको भिन्नता थियो। किनभने तिनी पालमा जीवन बिताउने अनि भेडा चराउने फिरन्ते परिवारमा हुर्केका थिए। तर धनाढ्य मिश्री पोतीफर भने रङ्गरोगन गरेको अति नै सुन्दर घरमा बस्थे। पुरातत्त्वविद्हरूका अनुसार पुरातन मिश्रीहरू आफ्नो घरको वरिपरि रूखहरूले ढपक्क ढाकेको बगैंचा बनाउन रुचाउँथे। साथै पपाइरस, कमलको फूल अनि अरू जलबिरुवाहरू फुलाउन पोखरी बनाउँथे। कुनै-कुनै घर ठूलठूला बगैंचाले पूरै ढाकेको हुन्थ्यो। घरमा चिसो हावाको आनन्द लिन ठूलठूला बरन्डा बनाइएका हुन्थे; अग्लाअग्ला झ्याल र थुप्रै कोठा हुन्थे। साथै खाना खानको लागि ठूलो कोठा र नोकरहरूका लागि छुट्टाछुट्टै कोठाहरू पनि हुन्थे।
यस्तो सुखसयल देखेर के यूसुफ दङ्ग परे? अहँ, परेनन्। बरु तिनले असाध्यै एक्लो महसुस गरेको हुनुपर्छ। मिश्र देशको लवाइखवाइ, भाषा र सबैभन्दा मुख्य कुरा धर्म नै तिनको लागि नौलो थियो। त्यहाँका मानिसहरू असङ्ख्य देवीदेवतालाई पुज्थे। साथै तिनीहरू जादुगरी र टुनामुना गर्थे अनि मृत्यु र त्यसपछिको जीवनमा निकै चासो राख्थे। तैपनि एक्लोपनले यूसुफलाई शिथिल पार्न सकेन। त्यसको एउटा कारण बाइबलमा यसरी बताइएको छ: “परमप्रभु यूसुफको साथमा हुनुहुन्थ्यो।” (उत्पत्ति ३९:२) तिनले पक्कै पनि आफ्नो मनको बह परमेश्वरलाई पोखाए। बाइबलमा यस्तो लेखिएको छ: “उहाँमा पुकारा गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ।” (भजन १४५:१८) अरू कुन-कुन तरिकामा यूसुफ परमेश्वरको नजिक भए?
यूसुफले निराशाको बाबजुद हार मानेनन्। बरु तिनले आफूलाई दिइएको काममा निकै मेहनत गरे। यसरी तिनले आफूलाई यहोवा परमेश्वरबाट आशिष् पाउन योग्य बनाए र चाँडै आफ्नो नयाँ मालिकको मन जित्न पनि सफल भए। पोतीफरले आफ्नो जवान दास यूसुफलाई तिनका परमेश्वर यहोवाले आशिष् दिनुभएको छ भनेर देखे। यस्तो आशिष्ले पोतीफरको घरमा समेत समृद्धि ल्यायो। बिस्तारै यूसुफले मालिक पोतीफरबाट आदर पाउँदै गए र पछि पोतीफरले आफूसित भएका सबै कुरालाई तिनको जिम्मा लगाइदिए।—उत्पत्ति ३९:३-६.
आज परमेश्वरको सेवा गर्ने जवान व्यक्तिहरूका लागि यूसुफ राम्रो नमुना हुन्। उदाहरणका लागि, तिनीहरूलाई स्कुलमा छँदा एउटा अनौठो संसारमा भएजस्तो महसुस हुन सक्छ, जुन संसार टुनामुनामा चुर्लुम्मै डुबेको अनि जीवनमा कुनै आशा नभएका मानिसहरूले भरिएको छ। तपाईं पनि त्यस्तै महसुस गर्नुहुन्छ भने नबिर्सनुहोस्, यहोवा परमेश्वर परिवर्तन हुनुभएको छैन। (याकूब १:१७) उहाँप्रति वफादार रहने र उहाँलाई खुसी तुल्याउने तरिकामा लगनशील भई काम गर्ने सबैको साथमा उहाँ हुनुहुन्छ र तिनीहरूलाई आशिष् दिनुहुन्छ। उहाँले तपाईंलाई पनि प्रशस्तै आशिष् दिनुहुनेछ।
समय बित्दै जाँदा यूसुफ परिपक्व हुँदै गए भनेर बाइबल विवरण बताउँछ। जवान यूसुफ वयस्क भए र तिनी “सुन्दर र हेर्नमा राम्रा थिए।” यी शब्दहरूबाट यूसुफलाई खतरनाक परिस्थितिले घेर्नै लागेको थियो भन्ने कुराको सङ्केत पाउँछौं। किनभने बाहिरी सुन्दरताले अक्सर अरूको अनावश्यक ध्यान खिच्छ।
“यूसुफ मानेनन्”
यूसुफले वफादार हुनुको महत्त्व बुझेका थिए। तर पोतीफरकी पत्नीको लागि भने त्यो गुण कुनै मोलको थिएन। बाइबलमा यसो लेखिएको छ: “मालिककी पत्नीले यूसुफमाथि नजर लगाएर भनिन्, ‘मसँग सुत्।’” (उत्पत्ति ३९:७) यी मूर्तिपूजक स्त्रीको प्रलोभनमा यूसुफ फसे त? जवान पुरुषहरूमा हुने स्वाभाविक चाहना यूसुफमा थिएन भनेर बाइबलमा बताइएको छैन; न त धनी अफिसरकी पुल्पल्याइएकी पत्नी हेर्नमा राम्री थिइनन् भनेर नै बताइएको छ। के यूसुफले आफ्नो मालिकले कहिल्यै थाह पाउनेछैन भन्दै गलत तर्क गरे? पोतीफरकी पत्नीसित अनैतिक सम्बन्ध राख्दा यूसुफले भौतिक फाइदा पनि पाउन सक्थे। तर के तिनी त्यस्तो लालचमा डुबे?
वास्तवमा यूसुफको दिमागमा के-कस्ता कुरा खेले भनेर हामीलाई थाह छैन। तर तिनको हृदयमा के थियो भनेर चाहिं हामी तिनको यो जवाफबाट स्पष्ट थाह पाउन सक्छौं: “हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएका कुनै कुराको पनि फिक्री छैन, र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ। यस घरमा उहाँ पनि मभन्दा ठूला हुनुहुन्न। उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?” (उत्पत्ति ३९:८, ९) जवान यूसुफले दृढ भएर यी शब्दहरू बोलेको कल्पना गर्नुहोस्। पोतीफरकी पत्नीले तिनलाई गराउन खोजेको कामबारे त तिनी सोच्न समेत सक्दैन थिए। किन?
यूसुफले बताएझैं तिनका मालिक तिनलाई पूर्ण भरोसा गर्थे। पोतीफरले आफ्नो पत्नीबाहेक सम्पूर्ण कामकाज यूसुफको जिम्मामा दिएका थिए। यूसुफले कसरी आफ्नो मालिकलाई विश्वासघात गर्न सक्थे र? तिनले यस्तो सोचाइलाई तिरस्कार गरे। तर यसो गर्नुको मुख्य कारण त यहोवा परमेश्वरविरुद्ध पाप नगर्ने तिनको सङ्कल्प थियो। परमेश्वर विवाह र वफादारीलाई कसरी हेर्नुहुन्छ भनेर यूसुफले आफ्ना बुबाआमाबाट सिकेका थिए। यहोवा परमेश्वरले नै पहिलो विवाह गराउनुभएको थियो र त्यसबेला आफ्नो विचार स्पष्ट बताउनुभएको थियो। विवाहपछि पुरुष र तिनकी पत्नी “एउटै जीउ” हुने थिए। (उत्पत्ति २:२४) यो बन्धन तोड्ने व्यक्तिसित परमेश्वर रिसाउनुहुने थियो र तिनीहरूलाई दण्ड दिनुहुने थियो। त्यसैले त यूसुफका जिजुबाजे अब्राहामकी पत्नी र हजुरबुबा इसहाककी पत्नीसित अवैध यौनसम्बन्ध राख्न खोज्ने मानिसहरूलाई यहोवा परमेश्वरले झन्डै विनाश गर्नुभएको थियो। (उत्पत्ति २०:१-३; २६:७-११) यूसुफले पनि यस घटनाबाट राम्रो पाठ सिकेका थिए र तिनी परमेश्वरको इच्छाअनुसारै गर्न दृढ थिए।
तर यूसुफले दिएको जवाफ पोतीफरकी पत्नीलाई पटक्कै मन परेन। सोच्नुहोस् त! एउटा तुच्छ दासले उनलाई तिरस्कार गरेका थिए अनि उनको प्रस्तावलाई “घोर दुष्ट काम” भनेका थिए। तैपनि उनले हार मानिनन्। सायद उनको अहङ्कारमा चोट पुगेकोले होला, यूसुफले गर्न नचाहेको काम हरहालतमा गराउन उनले कम्मर कसिन्। यसरी उनले सैतानको जस्तै मनोभाव देखाइन्, जसले येशूलाई प्रलोभनमा पार्न खोजेको थियो। सैतान असफल भएको थियो। तर त्यसले हार मानेन अनि येशूलाई प्रलोभनमा पार्ने “अर्को अनुकूल मौका” नपाउन्जेल पर्खिबस्यो। (लूका ४:१३) त्यसैले वफादार मानिसहरू अटल र दृढ रहनै पर्छ। यूसुफले पनि त्यसै गरे। पोतीफरकी पत्नीले यूसुफलाई फसाउन “दिनदिनै” कोसिस गरिन्। तर यूसुफले आफ्नो सङ्कल्प कहिल्यै परिवर्तन गरेनन्। हामी यस्तो लेखिएको पाउँछौं: “यूसुफ मानेनन्।” (उत्पत्ति ३९:१०) तर पोतीफरकी पत्नी भने यूसुफलाई फसाउन लागिपरेकी थिइन्।
एकदिन घरमा अरू कोही नोकर नभएको समयमा पोतीफरकी पत्नीले मौका छोपिन्। यूसुफ काम गर्न घर भित्र-बाहिर गर्छन् भनेर उनलाई थाह थियो। यूसुफ घरभित्र पसेको बेला उनले आफ्नो जाल फिंजाइन्। यूसुफको लुगा समात्दै अन्तिम पटक उनले यसो भनिन्: “मसित सुत्!” यूसुफले तुरुन्तै आफूलाई उनको पन्जाबाट छुटाउन प्रयास गरे र पछि हट्न चाहे। तर उनले यूसुफको लुगा च्याप्प समातिरहेकी थिइन्। अन्तमा यूसुफ आफ्नो लुगा उनको हातमै छोडेर भागे!—उत्पत्ति ३९:११, १२.
यूसुफको यस कदमले प्रेषित पावलको यो प्रेरित सल्लाह हामीलाई सम्झाउँछ: “अवैध यौनसम्बन्धदेखि भाग!” (१ कोरिन्थी ६:१८) साँचो ख्रीष्टियनहरूको लागि यूसुफ कत्ति राम्रो उदाहरण हुन्! कहिलेकाहीं हामीले पनि परमेश्वरको नैतिक स्तरको बेवास्ता गर्नेहरूसित बढी समय बिताउनुपर्ने हुन सक्छ। तर त्यसो भए तापनि हामी गलत काम गर्ने प्रलोभनमा पर्नु हुँदैन। परिणाम जस्तोसुकै किन नहोस्, प्रलोभन आइपर्दा हामी भाग्नै पर्छ।
यूसुफले भने डरलाग्दो परिणाम भोग्नुपऱ्यो। पोतीफरकी पत्नी बदला लिन चाहन्थिन्। उनी तुरुन्तै चिच्याउन थालिन् र अरू नोकरहरूलाई जम्मा गरिन्। यूसुफले उनलाई बलात्कार गर्न खोजेको तर उनी चिच्याउँदा यूसुफ भागेर गएको आरोप लगाइन्। उनले यूसुफलाई दोष लगाउन तिनको लुगा आफूसितै राखिन् र आफ्नो पति नफर्कुन्जेल कुरिरहिन्। पोतीफर घर आएपछि उनले यूसुफलाई त्यही झूटो आरोप लगाइन्। साथै पोतीफरले त्यस विदेशीलाई घरमा ल्याएकोले यस्तो अवस्था आएको हो भन्न थालिन्। पोतीफरले के गरे? हामी यस्तो लेखिएको पाउँछौं: “तिनी रीसले राँकिए!” अनि तिनले यूसुफलाई झ्यालखानामा थुन्न लगाए।—उत्पत्ति ३९:१३-२०.
“तिनका खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए”
पुरातन मिश्रमा झ्यालखानाहरू कस्ता हुन्थे भनेर हामीलाई त्यत्ति थाह छैन। पुरातत्त्वविद्हरूले भेट्टाएका भग्नावशेषहरूले त्यस समयका झ्यालखानाहरू ठूलठूला गढजस्तै थिए र त्यसमा कालकोठरीहरू पनि थिए भनी देखाउँछ। मूल भाषाको अनुवाद हेर्ने हो भने यूसुफले आफू बसेको झ्यालखानालाई बुझाउन खाडल भन्ने शब्द चलाएको पाउँछौं। यसबाट त्यो ठाउँ निकै अँध्यारो र डरलाग्दो थियो भनी थाह पाउन सक्छौं। (उत्पत्ति ४०:१५) बाइबलको भजनको किताबका यी शब्दहरूबाट यूसुफले अझ धेरै यातना सहनुपरेको कुरा थाह पाउँछौं: “तिनका खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए, तिनी फलामका जञ्जीरमा राखिए।” (भजन १०५:१७, १८) मिश्रीहरूले कहिलेकाहीं कैदीहरू चल्न नसकोस् भनेर हात पछाडि लगेर नेल ठोकिदिन्थे अर्थात् साङ्लाले बाँधिदिन्थे। कसै-कसैलाई भने घाँटीमा फलामको साङ्ला झुण्ड्याइदिन्थे। आफ्नो कुनै गल्ती नभए पनि यत्ति कठोर यातना भोग्नुपर्दा यूसुफले कस्तो महसुस गरे होलान्, सोच्नुहोस् त!
तिनले भोगेको यातना छोटो समयको लागि मात्र थिएन। बाइबल विवरणअनुसार यूसुफले त्यस्तो भयानक ठाउँमा वर्षौं बिताए! * अनि कहिले छुटकारा पाउने हो भनेर पनि यूसुफलाई थाह थिएन। तिनका कहालीलाग्दा दिनहरू हप्ता अनि महिनामा परिवर्तन भए। तैपनि निराशामा नडुब्न तिनलाई कुन कुराले मदत गऱ्यो?
बाइबलको यो जवाफले हामीलाई ढुक्क बनाउँछ: “परमप्रभु यूसुफका साथ हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि टिठाउनुभयो।” (उत्पत्ति ३९:२१) न झ्यालखानाको पर्खाल, न साङ्ला न कालकोठरी—कुनै कुराले पनि आफ्ना सेवकहरूलाई प्रेम गर्नदेखि यहोवा परमेश्वरलाई रोक्न सक्दैन। (रोमी ८:३८, ३९) पक्कै पनि यूसुफले आफ्नो असह्य वेदना स्वर्गमा बस्नुहुने प्यारो बुबालाई प्रार्थनामा पोखे अनि “सान्त्वनाका परमेश्वर”-ले मात्र दिन सक्नुहुने शान्ति पाएर ढुक्क महसुस गरे। (२ कोरिन्थी १:३, ४; फिलिप्पी ४:६, ७) यहोवा परमेश्वरले यूसुफका लागि अरू के-के गर्नुभयो? हामी यस्तो लेखिएको पाउँछौं: यहोवा परमेश्वरले तिनलाई “झ्यालखानाका हाकिमको निगाह-पात्र बनाउनुभयो।”
कैदीहरूलाई झ्यालखानामा विभिन्न काम दिइएको हुन्थ्यो। यस पटक पनि यूसुफले कडा मेहनत गरेर यहोवाको आशिष् पाउन आफूलाई योग्य बनाए। तिनलाई दिइएको जुनसुकै काम पनि तिनले तनमन लगाएर गरे र बाँकी सबै यहोवाको हातमा छोडिदिए। यहोवा परमेश्वरको आशिष् पाएर यूसुफले पोतीफरको घरमा जस्तै झ्यालखानामा पनि भरोसा र आदर कमाए। बाइबलमा यस्तो लेखिएको छ: “झ्यालखानाका हाकिमले त्यस झ्यालखानामा भएका सबै कैदीहरू यूसुफको जिम्मामा राखिदिए। त्यहाँ जे जे काम हुन्थ्यो ती सबै यूसुफकै खटनमा हुन्थ्यो। यूसुफको जिम्मामा राखेको कुनै कुरामा पनि झ्यालखानाका हाकिमले केही फिक्री गर्दैन थिए, किनभने परमप्रभु यूसुफका साथमा हुनुहुन्थ्यो। यूसुफले जे गरे तापनि परमप्रभुले तिनलाई त्यसमा सफल गराउनुहुन्थ्यो।” (उत्पत्ति ३९:२२, २३) यहोवा परमेश्वरले तिनको ख्याल राख्दै हुनुहुन्छ भनेर थाह पाउँदा तिनले कत्ति सान्त्वना पाए होलान्!
हाम्रो जीवनमा पनि थुप्रै उकाली-ओराली आउन सक्छ र कहिलेकाहीं हामी अन्यायको सिकार समेत हुन सक्छौं। तर हामीले यूसुफको विश्वासबाट धेरै कुरा सिक्न सक्छौं। प्रार्थना गर्दै यहोवा परमेश्वरको नजिक भइरह्यौं; उहाँले दिनुभएका आज्ञा मान्दै वफादार रहिरह्यौं अनि उहाँको नजरमा जे सही छ, त्यो गर्न कडा मेहनत गरिरह्यौं भने हामीले आफूलाई उहाँको आशिष् पाउन योग्य बनाइरहेका हुन्छौं। यहोवा परमेश्वरले यूसुफको लागि अझ ठूलो आशिष् साँचेर राख्नुभएको थियो। यस विषयमा हामी प्रहरीधरहरा-का भविष्यका अङ्कहरूमा पढ्नेछौं।
^ अनु. 23 यूसुफ पोतीफरको घरमा जाँदा १७ वा १८ वर्षका थिए र तिनी वयस्क हुँदासम्म त्यहाँ रहे भनेर बाइबल विवरणले देखाउँछ। मतलब तिनले पोतीफरको घरमा केही वर्ष बिताएको हुनुपर्छ। तिनी झ्यालखानाबाट मुक्त हुँदा ३० वर्षका थिए।—उत्पत्ति ३७:२; ३९:६; ४१:४६.