के हामीले येशूलाई प्रार्थना गर्नुपर्छ?
एक जना अनुसन्धानकर्ताले विभिन्न चर्च समुदायका ८०० भन्दा धेरै युवामाझ सर्वेक्षण गरे। सर्वेक्षणमा तिनले ती युवाहरूलाई येशूले प्रार्थना सुन्नुहुन्छ भन्ने कुरामा विश्वास लाग्छ कि लाग्दैन भनेर सोधेका थिए। साठी प्रतिशतभन्दा धेरै युवाले येशूले प्रार्थना सुन्नुहुन्छ भन्ने कुरामा विश्वस्त भएको बताए। तर एक जना युवतीले भने सर्वेक्षणको लागि दिइएको पत्रमा येशूको नाम काटेर “परमेश्वर” लेखिन्।
तपाईंलाई चाहिं कस्तो लाग्छ? हामीले कसलाई प्रार्थना गर्नुपर्छ: येशूलाई या परमेश्वरलाई? a यसको उत्तर पाउन सबैभन्दा पहिला येशू स्वयम्ले आफ्ना चेलाहरूलाई कसरी प्रार्थना गर्न सिकाउनुभयो, विचार गरौं।
येशूले कसलाई प्रार्थना गर्नुपर्छ भनेर सिकाउनुभयो?
येशूले प्रार्थना कसलाई गर्नुपर्छ भनेर सिकाउनुभयो र देखाउनु पनि भयो।
उहाँको शिक्षा: येशूको एक जना चेलाले उहाँलाई यसो भने: ‘प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्।’ जवाफमा उहाँले यसो भन्नुभयो: “तिमीहरूले प्रार्थना गर्दा यसो भन: ‘हे बुबा।’” (लूका ११:१, २) साथै डाँडाको उपदेश भनेर चिनिने येशूको प्रख्यात भाषणमा उहाँले श्रोतालाई प्रार्थना गर्न सल्लाह दिंदै यसो भन्नुभयो: ‘तिम्रो बुबालाई प्रार्थना गर।’ अनि उहाँले यस्तो आश्वासन पनि दिनुभयो: “तिमीहरूले माग्नुभन्दा अघिनै तिमीहरूलाई के चाहिन्छ भनेर परमेश्वर, तिमीहरूका बुबालाई थाह छ।” (मत्ती ६:६, ८) मानिसको रूपमा आफूले बिताएको अन्तिम रातमा पनि उहाँले चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरूले बुबासित केही माग्यौ भने मेरो नाममा उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ।” (यूहन्ना १६:२३) यसरी येशूले उहाँको अनि हामी सबैको बुबा, यहोवा परमेश्वरलाई प्रार्थना गर्नुपर्छ भनेर सिकाउनुभयो।—यूहन्ना २०:१७.
उहाँको उदाहरण: परमेश्वरलाई प्रार्थना गर्नुपर्छ भनेर येशूले सिकाउनु मात्र भएन। उहाँ आफैले पनि यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, स्वर्ग र पृथ्वीका मालिक, सबैको अगाडि म तपाईंको प्रशंसा गर्छु।” (लूका १०:२१) अर्को एउटा अवसरमा “येशूले आकाशतिर हेरेर भन्नुभयो: ‘हे बुबा, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो प्रार्थना सुन्नुभएको छ।’” (यूहन्ना ११:४१) आफ्नो मृत्यु हुनुअघि पनि येशूले यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, म आफ्नो सास तपाईंको हातमा सुम्पिन्छु।” (लूका २३:४६) येशूले आफ्नो बुबा अनि “स्वर्ग र पृथ्वीका मालिक” यहोवा परमेश्वरलाई मात्र प्रार्थना गर्नुपर्छ भन्ने कुराको राम्रो उदाहरण बसाल्नुभयो। (मत्ती ११:२५; २६:४१, ४२; १ यूहन्ना २:६) त्यसोभए उहाँका सुरु-सुरुका चेलाहरूले उहाँको निर्देशनलाई कसरी बुझे त?
सुरु-सुरुका ख्रीष्टियनहरूले कसलाई प्रार्थना गरे?
येशू स्वर्ग फर्कनुभएको केही हप्तापछि नै विरोधीहरूले उहाँका चेलाहरूलाई सताए अनि धम्की दिए। (प्रेषित ४:१८) त्यस्तो अवस्थामा तिनीहरूले मदतको लागि प्रार्थना गरे। तर कसलाई? आफ्नो “पवित्र सेवक येशूको नाममार्फत” मदत गरिरहनुहोस् भनी “तिनीहरू सबैले एकसाथ परमेश्वरलाई प्रार्थना गरे।” (प्रेषित ४:२४, ३०) यसरी येशूका चेलाहरूले प्रार्थनासम्बन्धी उहाँले दिनुभएको निर्देशन पालन गरे। तिनीहरूले परमेश्वरलाई नै प्रार्थना गरे, येशूलाई होइन।
वर्षौंपछि प्रेषित पावलले तिनी अनि तिनका साथीहरूले कसरी प्रार्थना गर्दै थिए भनी बताए। आफ्ना ख्रीष्टियन दाजुभाइ दिदीबहिनीलाई लेखेको पत्रमा तिनले यसो लेखे: “तिमीहरूको निम्ति प्रार्थना गर्दा हामी सधैं हाम्रा प्रभु येशू ख्रीष्टका बुबा, हाम्रा परमेश्वरलाई धन्यवाद दिन्छौं।” (कलस्सी १:३) साथै “हाम्रा परमेश्वर अनि बुबालाई हाम्रा प्रभु येशू ख्रीष्टको नाममा सबै कुराका लागि सधैं धन्यवाद चढाइरहो” भनेर पनि तिनले लेखे। (एफिसी ५:२०) यी शब्दहरूबाट पावल अरूलाई आफ्ना ‘परमेश्वर अनि बुबालाई सबै कुराका लागि’ येशू ख्रीष्टको नाममा प्रार्थना गर्न प्रोत्साहन दिन्थे भनेर हामी थाह पाउन सक्छौं।—कलस्सी ३:१७.
सुरु-सुरुका ती ख्रीष्टियनहरूले जस्तै हामीले पनि प्रार्थनासम्बन्धी येशूले दिनुभएको निर्देशन पालन गरेर उहाँलाई प्रेम गरेको देखाउन सक्छौं। (यूहन्ना १४:१५) हामीले स्वर्गमा बस्नुहुने हाम्रो बुबालाई मात्रै प्रार्थना गऱ्यौं भने भजनको किताबका लेखकले जस्तै महसुस गर्न सक्नेछौं, जसले यसो भने: ‘परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्नुभयो। म बाँचुञ्जेल उहाँको पुकार गर्नेछु।’—भजन ११६:१, २, NRV’ b
a बाइबलअनुसार परमेश्वर र येशू बराबर हुनुहुन्न। यस विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्ने किताबको अध्याय ४ हेर्नुहोस्।
b परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभएको चाहन्छौं भने उहाँले तोक्नुभएका केही आवश्यकताहरू पूरा गर्न हामीले प्रयास गर्नै पर्छ। यस विषयमा थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १७ हेर्नुहोस्।