सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एक विद्यार्थी दुबिधामा

एक विद्यार्थी दुबिधामा

एक जना शिक्षिकाले चार्ल्स डार्विनको क्रमविकासको शिक्षाले गर्दा विज्ञानका विषयहरू सजिलै बुझ्न सकिएको छ र यसले मानिसहरूलाई अन्धविश्‍वासबाट पनि मुक्‍त गरेको छ भनेर कक्षालाई भर्खरै बयान गरेर सिद्धाएकी छिन्‌। यसरी आफ्नो कुरा बताइसकेपछि तिनी विद्यार्थीहरूलाई आफ्नो कुरा राख्न लगाउँछिन्‌। आफूले आदर गर्ने ती शिक्षिकाको कुरा सुनेर प्रतीकलाई अप्ठ्यारो लाग्छ र तिनलाई के गरूँ कसो गरूँ हुन्छ।

प्रतीक दुबिधामा छन्‌। तिनलाई आमाबुबाले पृथ्वी र यसमा भएका सबै जीवजीवात परमेश्‍वरले सृष्टि गर्नुभएको हो र यो शिक्षा भरोसायोग्य छ भनेर सिकाएका छन्‌। अनि क्रमविकास चाहिँ एउटा सिद्धान्त मात्र हो र यसलाई प्रमाणहरूले समर्थन गर्दैन भन्छन्‌। प्रतीकका आमाबुबा र तिनकी शिक्षिका, कसैको पनि मनसाय गलत छैन। तर प्रतीकले कसको कुरामा विश्‍वास गर्ने?

प्रत्येक वर्ष संसारभरि नै स्कुलमा यस्ता दृश्‍यहरू दोहोरिरहन्छन्‌। यस्तो अवस्थामा प्रतीक र तिनीजस्तै अरू विद्यार्थीहरूले के गर्नु बेस हो? तिनीहरूले यस विषयबारे राम्ररी खोज-अनुसन्धान गर्नुपर्छ भन्‍ने कुरामा के तपाईँ सहमत हुनुहुन्‍न र? तिनीहरूले क्रमविकास र सृष्टिका प्रमाणहरू राम्ररी केलाउनुपर्छ। त्यसपछि केमा विश्‍वास गर्ने भनेर आफैले निर्णय गर्नुपर्छ।

वास्तवमा बाइबलले अरूको कुरा पत्याइहाल्नु हुँदैन भनेर सचेत गराउँछ। एक बाइबल लेखक यसो भन्छन्‌: “सुधो मानिसले सुनेको सबै कुरा पत्याउँछ तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।” (हितोपदेश १४:१५) बाइबलले ख्रिष्टियनहरूलाई “आफ्नो सोचविचार गर्ने क्षमता” चलाउन र आफूले सिकेको कुरा जाँचेर हेरेपछि मात्र विश्‍वास गर्न प्रोत्साहन दिन्छ।—रोमी १२:१, २.

यो पुस्तिका स्कुलमा सृष्टिबारे सिकाउनुपर्छ भनेर आवाज उठाउने धार्मिक समूहहरूलाई समर्थन गर्न तयार पारिएको होइन। यस पुस्तिकाको उद्देश्‍य जीवन आफसेआफ सुरु भयो र सृष्टिबारे बाइबलको विवरण केवल मिथ्या हो भनी दाबी गर्नेहरूको शिक्षा सही हो कि होइन भनेर केलाउनु हो।

यस पुस्तिकामा हामी जीवनको आधारभूत एकाइ कोषबारे चर्चा गर्नेछौँ। कोषहरू कसरी बन्छन्‌ भन्‍नेबारे तपाईँले चाखलाग्दो तथ्यहरू थाह पाउन सक्नुहुनेछ। अनि क्रमविकासको शिक्षा, जुन अनुमानहरूमा आधारित छन्‌, ती केलाउन पनि तपाईँले मदत पाउनुहुनेछ।

हामी सबैले कुनै न कुनै समय यस प्रश्‍नको सामना गर्नै पर्छ, जीवन सृष्टि गरिएको हो वा आफसेआफ आएको हो? सायद तपाईँले यस विषयमा पहिला पनि सोच्नुभएको थियो होला। थुप्रैलाई जीवन सृष्टि गरिएको हो भन्‍ने निष्कर्षमा पुग्न मदत गरेका केही प्रमाणहरू यस पुस्तिकामा प्रस्तुत गरिएको छ।