सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ३

मानिसजाति जलप्रलयबाट बच्छ

मानिसजाति जलप्रलयबाट बच्छ

परमेश्‍वर दुष्ट संसारलाई नाश गर्नुहुन्छ तर नूह र तिनका परिवारलाई जोगाउनुहुन्छ

जसै मानिसजातिको संख्या बढ्‌दै गयो, पाप र दुष्टता पनि पृथ्वीमा द्रुत गतिमा फैलियो। परमेश्‍वरले एकदिन दुष्ट मानिसहरू नाश गर्नुहुनेछ भनेर हनोक नाउँ गरेका त्यतिबेलाका एक मात्र अगमवक्‍ताले चेतावनी दिए। तैपनि दुष्टता कम भएन, झन्‌ बढ्‌दै गयो। केही स्वर्गदूतहरूले स्वर्गमा आफ्नो स्थान त्यागेर, पृथ्वीमा मानिसको रूप धारण गरेर अनि लालचसाथ स्त्रीहरूलाई आफ्ना पत्नी बनाएर परमेश्‍वरको विद्रोह गरे। यस्तो अप्राकृतिक सम्बन्धले गर्दा ठिमाहा सन्तानहरू जन्मिए। नपील भनिने यी अजङका राक्षसहरूले संसारमा झनै हिंसा र रक्‍तपात मच्चाए। पृथ्वीमा आफ्ना सृष्टिहरूको अवस्था देखेर परमेश्‍वरको मन असाध्यै दुख्यो।

हनोकको मृत्युपछि त्यस दुष्ट संसारमा एक जना मानिस भने भिन्‍नै थिए। तिनको नाउँ नूह थियो। तिनी र तिनका परिवारले परमेश्‍वरको नजरमा जे सही छ त्यही गर्ने कोसिस गरे। परमेश्‍वरले दुष्ट मानिसहरूलाई नाश गर्ने निर्णय गर्नुभयो। तर नूह र पृथ्वीका पशुपक्षीहरूलाई उहाँ जोगाउन चाहनुहुन्थ्यो। त्यसैकारण परमेश्‍वरले तिनलाई लामो र ठूलो बाकसजस्तै एउटा जहाज बनाउन भन्‍नुभयो। आउनै लागेको विश्‍वव्यापी जलप्रलयबाट बच्न नूह र तिनका परिवार अनि विभिन्‍न प्रजातिका पशुपक्षीहरू यसभित्र पस्नुपर्ने थियो। नूहले परमेश्‍वरको आज्ञा माने। जहाज निर्माण गर्न बिताएको ४०/५० वर्षको समयावधिमा तिनी “धार्मिकताका प्रचारक” पनि थिए। (२ पत्रुस २:५, NRV) तिनले आउनै लागेको जलप्रलयबारे मानिसहरूलाई चेतावनी दिए तर तिनीहरूले टेरपुच्छर लगाएनन्‌। नूह र तिनका परिवार पशुपक्षीसँगै जहाजभित्र पस्ने समय आयो। त्यसपछि परमेश्‍वरले जहाजको ढोका थुनिदिनुभयो। अनि पानी पऱ्‍यो।

चालीस दिन चालीस रात मुसलधारे पानी पऱ्‍यो र पृथ्वी जलमग्न भयो। दुष्टहरू नाश भए। पानी घट्‌दै गयो र महिनौंपछि जहाज एउटा पर्वतमा गएर अडियो। अनि जहाजमा भएकाहरू सुरक्षित तरिकाले बाहिर निस्कन सके। त्यतिन्जेल तिनीहरूले जहाजमा पूरै एक वर्ष बिताइसकेका थिए। धन्यवादस्वरूप नूहले यहोवालाई बलि चढाए। त्यसको जवाफमा परमेश्‍वरले नूह र तिनका परिवारलाई पृथ्वीमा भएका सबै प्राणीलाई जलप्रलयद्वारा फेरि कहिल्यै नाश नगर्ने आश्‍वासन दिनुभयो। यस सान्त्वनादायी प्रतिज्ञाको रूपमा यहोवाले एउटा चिह्न दिनुभयो। त्यो चिह्न इन्द्रेनी थियो।

जलप्रलयपछि परमेश्‍वरले मानिसजातिलाई केही नयाँ आज्ञा पनि दिनुभयो। उहाँले तिनीहरूलाई जनावरको मासु खाने अनुमति दिनुभयो। तर रगत खान भने निषेध गर्नुभयो। उहाँले नूहका सन्तानलाई पृथ्वीमा फैलँदै जान आज्ञा दिनुभयो तर कोही-कोहीले अटेर गरे। मानिसहरू निम्रोद नाउँ गरेका शासकको नेतृत्वमा एकजुट भए र पछि बेबिलोन भनेर चिनिएको बाबेल सहरमा एउटा ठूलो धरहरा बनाउन थाले। तिनीहरूको मनसाय पृथ्वीमा फैलँदै जान परमेश्‍वरले दिनुभएको आज्ञा उल्लङ्‌घन गर्नु थियो। तर तिनीहरूले बोल्ने एउटै भाषालाई परमेश्‍वरले खलबल पारिदिनुभयो र तिनीहरूले विभिन्‍न भाषा बोल्न थाले। यसरी उहाँले ती विद्रोहीहरूको काममा भाँजो हालिदिनुभयो। एक-अर्काको कुरा नबुझेपछि तिनीहरूले काम त्यत्तिकै छोडे र तितरबितर भए।

उत्पत्ति अध्याय ६ देखि ११; यहूदा १४, १५ मा आधारित।