अध्याय ६२
नम्रताबारे महत्त्वपूर्ण पाठ
मत्ति १७:२२–१८:५ मर्कुस ९:३०-३७ लुका ९:४३-४८
-
येसु आफ्नो मृत्युबारे फेरि भविष्यवाणी गर्नुहुन्छ
-
उहाँ माछाको मुखबाट निकालेको सिक्काले कर तिर्नुहुन्छ
-
स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुनेछ?
सिजरिया फिलिप्पीको इलाकामा आफ्नो रूप परिवर्तनको घटनापछि र प्रेतले सताएको केटालाई निको पार्नुभएपछि येसु कफर्नहुमतिर लाग्नुहुन्छ। “उहाँ कहाँ हुनुहुन्छ भनी कसैले थाह नपाओस्” भनेर उहाँ आफ्ना चेलाहरूलाई मात्र लिएर सुटुक्क जानुहुन्छ। (मर्कुस ९:३०) यसले गर्दा उहाँले तिनीहरूलाई आफ्नो मृत्यु र त्यसपछि तिनीहरूले गर्नुपर्ने कामको लागि तयार पार्ने थप मौका पाउनुहुन्छ। उहाँ यसो भन्नुहुन्छ: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले उसलाई मार्नेछन् अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”—मत्ति १७:२२, २३.
यो कुरा उहाँका चेलाहरूलाई नयाँ जस्तो लाग्नु नपर्ने हो। किनकि पत्रुसले येसुको मृत्युको कुरा पत्याउन इन्कार गरे तापनि उहाँले यसबारे पहिला पनि भनिसक्नुभएको थियो। (मत्ति १६:२१, २२) अनि तीन जना प्रेषितले उहाँको रूप परिवर्तन भएको देख्नुका साथै उहाँको “बिदाइको” कुरा सुनेका थिए। (लुका ९:३१) उहाँले भनिरहनुभएको कुराको अर्थ राम्रोसित नबुझे पनि तिनीहरू “अत्यन्तै दुःखी” हुन्छन्। (मत्ति १७:२३) तैपनि तिनीहरू यसबारे येसुलाई थप प्रश्न सोध्न डराउँछन्।
त्यसपछि उहाँहरू कफर्नहुम आइपुग्नुहुन्छ। कफर्नहुम येसुको गतिविधिको मुख्य केन्द्र हुनुका साथै थुप्रै प्रेषितको गृहनगर पनि हो। त्यहाँ मन्दिरको कर उठाउने मानिसहरू पत्रुसकहाँ आउँछन्। येसुले कर नतिरेको आरोप लगाउने मनसायले सायद तिनीहरू यसो भन्छन्: “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्नुहुन्न?”—मत्ति १७:२४.
पत्रुस यस्तो जवाफ दिन्छन्: “तिर्नुहुन्छ।” तर घरभित्र हुनुभएको येसुलाई यस घटनाबारे थाह भइसकेको छ। त्यसैले पत्रुसले आएर यस घटनाबारे सुनाउनुअघि नै उहाँ तिनलाई यस्तो प्रश्न सोध्नुहुन्छ: “तिमीलाई कस्तो लाग्छ सिमोन? पृथ्वीका राजाहरूले राजस्व वा कर कसबाट उठाउँछन्? आफ्ना छोराहरूबाट कि पराईबाट?” पत्रुस भन्छन्: “पराईबाट।” त्यसपछि येसु भन्नुहुन्छ: “उसोभए छोराहरूले त कर तिर्नु नपर्ने रहेछ।”—मत्ति १७:२५, २६.
येसुको बुबा ब्रह्माण्डको मालिक हुनुहुन्छ र मन्दिरमा उहाँको बुबाकै उपासना गरिन्छ। त्यसैले कानुनी रूपमा हेर्ने हो भने येसुले कर तिर्नु आवश्यक छैन। तर येसु यसो भन्नुहुन्छ: “हामीले गर्दा तिनीहरूलाई ठेस नलागोस्। त्यसैले तिमी समुद्रमा जाऊ र बल्छी हान अनि बल्छीमा परेको पहिलो माछा लेऊ। तिमीले त्यसको मुख खोल्दा चाँदीको एउटा सिक्का [स्टेटर सिक्का अर्थात् टेट्राड्राक्मा] भेट्टाउनेछौ। त्यो लिएर मेरो र तिम्रो तर्फबाट तिनीहरूलाई तिरिदेऊ।”—मत्ति १७:२७.
चेलाहरू एकै ठाउँमा जम्मा भएको बेला तिनीहरूले स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुनेछ भनेर येसुलाई प्रश्न सोध्छन्। केही समयअघि यी चेलाहरू चाँडै हुन लागेको येसुको मृत्युबारे प्रश्न सोध्न डराएका थिए तर अहिले भने तिनीहरू आफ्नो भविष्यबारे उहाँलाई सोध्न पछि हट्दैनन्। तिनीहरू के सोचिरहेका छन् भनेर येसुलाई थाह छ। उहाँको पछि-पछि कफर्नहुम फर्किँदै गर्दा तिनीहरूले यसै विषयमा बहस गरिरहेका थिए। त्यसैले उहाँ यस्तो सोध्नुहुन्छ: “बाटोमा तिमीहरू के कुरामा बहस गर्दै थियौ?” (मर्कुस ९:३३) अप्ठ्यारो मान्दै चेलाहरू केही जवाफ दिँदैनन् किनभने तिनीहरूले आफूहरूमाझ सबैभन्दा ठूलो को हो भनेर बहस गरिरहेका थिए। आखिरमा ती प्रेषितहरूले तिनीहरूबीच चलिरहेको बहसबारे येसुलाई यस्तो प्रश्न गर्छन्: “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुनेछ?”—मत्ति १८:१.
येसुसँग झन्डै तीन वर्ष बिताएर उहाँलाई नजिकबाट चिन्ने र उहाँबाट सिक्ने मौका पाएका चेलाहरूले समेत यस विषयमा बहस गर्नु अपत्यारिलो देखिन्छ। तर तिनीहरू त्रुटिपूर्ण छन्। अनि तिनीहरू हुर्केको समाजमा ओहदा र पदवीलाई धेरै महत्त्व दिइन्छ। साथै हालै मात्र येसुले पत्रुसलाई राज्यका केही “साँचाहरू” दिने प्रतिज्ञा गर्नुभएको थियो। त्यसैले तिनलाई आफू सबैभन्दा ठूलो हुँ
जस्तो लागेको हो कि? याकुब र युहन्नालाई पनि आफूहरू नै सबैभन्दा ठूलो हुँ जस्तो लागेको हुन सक्छ किनकि तिनीहरूले भर्खरै येसुको रूप परिवर्तन भएको देखेका थिए।कुरा जेसुकै होस्, येसु तिनीहरूको मनोवृत्ति सच्याउन कदम चाल्नुहुन्छ। उहाँ एउटा सानो बालकलाई बोलाएर तिनीहरूको बीचमा उभ्याउनुहुन्छ र यसो भन्नुहुन्छ: “यदि तिमीहरू बदलिएर साना केटाकेटीजस्ता भएनौ भने स्वर्गको राज्यमा कुनै पनि हालतमा पस्न पाउनेछैनौ। त्यसकारण जसले आफूलाई यो सानो बालकजस्तै नम्र तुल्याउँछ, ऊ नै स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ अनि जसले मेरो नाममा यस्तै एउटा सानो बालकलाई स्विकार्छ, उसले मलाई पनि स्विकार्छ।”—मत्ति १८:३-५.
सिकाउने कस्तो राम्रो तरिका! येसु चेलाहरूसित रिसाउँदै तिनीहरूलाई लोभी वा पदको भोको भन्नुहुन्न। बरु उहाँ तिनीहरूलाई साना केटाकेटीको उदाहरण चलाउँदै सिकाउनुहुन्छ। साना केटाकेटीलाई ओहदा वा प्रतिष्ठाको कुनै मतलब हुँदैन। चेलाहरूले पनि त्यसै गर्नुपर्छ भनेर येसु तिनीहरूलाई बुझाउनुहुन्छ। त्यसपछि उहाँ यसो भन्दै आफ्नो कुरा टुङ्ग्याउनुहुन्छ: “जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ, उही ठूलो हो।”—लुका ९:४८.