अध्याय ३२
विश्रामदिनमा के गर्दा नियम उल्लङ्घन हुन्छ?
मत्ति १२:९-१४ मर्कुस ३:१-६ लुका ६:६-११
-
एक जना मानिसको हातलाई विश्रामदिनमा सद्दे पार्नुहुन्छ
येसु अर्को विश्रामदिनमा एउटा सभाघरमा जानुहुन्छ। त्यो सभाघर सम्भवतः गालिलमा छ। त्यहाँ उहाँ दाहिने हात सुकेको एक जना मानिसलाई देख्नुहुन्छ। (लुका ६:६) शास्त्रीहरू र फरिसीहरू येसुलाई नियालेर हेरिरहेका छन्। किन? तिनीहरूले उहाँलाई यो प्रश्न सोध्दा तिनीहरूको वास्तविक मनसाय प्रस्ट हुन्छ: “विश्रामदिनमा निको पार्दा नियम उल्लङ्घन हुन्छ कि हुँदैन?”—मत्ति १२:१०.
यहुदी धर्मगुरुहरू ज्यानै जाने खतरा छ भने मात्र विश्रामदिनमा निको पार्न मिल्छ भन्ने विश्वास गर्छन्। उदाहरणको लागि, तिनीहरू हड्डी भाँचिने वा मर्किनेजस्ता साधारण चोटपटक लाग्दा विश्रामदिनमा उपचार गर्नु नियम उल्लङ्घन गर्नु हो भन्छन्। कुरा स्पष्ट छ, ती शास्त्रीहरू र फरिसीहरूले हात सुकेको त्यस मानिसको अवस्था देखेर दया लागेकोले येसुलाई त्यस्तो प्रश्न सोधेका होइनन्। वास्तवमा तिनीहरू येसुमाथि आरोप लगाउन निहुँ खोजिरहेका छन्।
तर येसुलाई तिनीहरूको मनसाय थाह छ। तिनीहरूले विश्रामदिनमा के गर्नुहुन्छ, के गर्नु हुँदैन भन्ने सन्दर्भमा आफ्नै कठोर नियम बनाएका छन्, जुन व्यवस्थाविपरीत छ। (प्रस्थान २०:८-१०) उहाँले पहिला पनि विश्रामदिनमा असल कामहरू गर्नुभएकोले आलोचना खप्नुपरेको थियो। अब येसु हात सुकेको त्यस मानिसलाई यसो भनेर एउटा नाटकीय मुठभेडको परिस्थिति सृजना गर्नुहुन्छ: “उठ र यहाँ बीचमा आऊ।”—मर्कुस ३:३.
ती शास्त्रीहरू र फरिसीहरूतिर फर्केर येसु यसो भन्नुहुन्छ: “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसले आफूसित भएको एउटै भेडा विश्रामदिनमा खाल्टोमा खस्यो भने त्यसलाई समातेर बाहिर निकाल्दैन?” (मत्ति १२:११) भेडामा पैसा खर्च भएकोले तिनीहरू त्यसलाई भोलिपल्टसम्म खाल्टोमा छोड्दैनन्; नत्र त भेडा मर्न सक्छ र तिनीहरूले आर्थिक नोक्सानी बेहोर्नुपर्छ। धर्मशास्त्रले पनि यसो भनेको छ: “धर्मी मानिसले आफूले पालेको जनावरको हेरविचार गर्छ।”—हितोपदेश १२:१०.
यो कुरासँग समानता देखाउँदै येसु यसो भन्नुहुन्छ: “एउटा भेडाभन्दा मानिस झन् कत्ति बहुमूल्य होला! त्यसैले विश्रामदिनमा असल काम गर्दा नियम उल्लङ्घन हुँदैन।” (मत्ति १२:१२) हो, त्यस मानिसलाई निको पारेर येसुले विश्रामदिनको नियम उल्लङ्घन गरिरहनुभएको हुनेछैन। बरु उहाँले त्यस मानिसलाई करुणा देखाइरहनुभएको हुनेछ र उहाँको तर्क अकाट्य छ। ती शास्त्रीहरू र फरिसीहरू येसुको खण्डन गर्न सक्दैनन् र चुपचाप बस्छन्।
तिनीहरूको गलत सोचाइ देखेर क्रोधित र दुःखी हुँदै येसु चारैतिर हेर्नुहुन्छ। त्यसपछि उहाँ त्यस मानिसलाई भन्नुहुन्छ: “तिम्रो हात तन्काऊ।” (मत्ति १२:१३) हात तन्काउनेबित्तिकै उसको हात सद्दे हुन्छ। यो उसको लागि खुसीको क्षण हो। तर येसुलाई पासोमा पार्न खोजिरहेकाहरूले कस्तो प्रतिक्रिया देखाउँछन्?
त्यस मानिसको हात निको भएकोमा खुसी हुनुको सट्टा ती फरिसीहरू बाहिर जान्छन् र तुरुन्तै ‘हेरोदवादीहरूसित मिलेर उहाँलाई मार्न षड्यन्त्र रच्न थाल्छन्।’ (मर्कुस ३:६) यो राजनैतिक दलमा सम्भवतः सदुकी भनिने धार्मिक समूहका सदस्यहरू पनि छन्। साधारणतया सदुकीहरू र फरिसीहरू आपसमा मिल्दैनन् तर येसुको विरुद्धमा उठ्न भने तिनीहरू एकजुट हुन्छन्।