अध्याय एक्काइस
डर र शङ्काविरुद्ध सङ्घर्ष
१-३. पत्रुसको दिन कसरी बितेको थियो? अनि रातीचाहिं तिनी कस्तो अवस्थामा थिए?
पत्रुस सकिनसकी डुङ्गा खियाउँदैछन्। वरपर हेर्छन्, चारैतिर अन्धकार छ। पूर्वतिर हेर्दा आकाश अलिअलि रातो हो कि जस्तो देखिन्छ। तिनी अब घाम झुल्किन्छ कि भन्ने आशा गर्छन्। घण्टौंसम्म डुङ्गा खियाउँदा-खियाउँदा तिनको ढाड र पाखुरा पनि फतक्कै गलिसकेको छ। केहीबेर अघिसम्म मात्र सर्र चलिरहेको हावाले अब त गालील समुद्रमा भयङ्कर छाल उत्पन्न गर्न थालेको छ। ती छालहरूले पत्रुस चढेको जहाजलाई ड्याम-ड्यामी हिर्काइरहेको छ। उर्लंदो छालले गर्दा तिनी पनि निथ्रुक्कै भिजिसकेका छन्। तैपनि तिनी डुङ्गा खियाउँदैछन्।
२ केही समयअघि पत्रुस र तिनका साथीहरूले येशूलाई किनारमै एक्लै छोडेर आएका थिए। त्यो दिन येशूले चमत्कार गरेर केही रोटी अनि माछाहरूबाट हजारौं मानिसहरूलाई खुवाउनुभएको तिनीहरूले देखेका थिए। मानिसहरूले उहाँलाई राजा बनाउन खोजेका थिए तर उहाँ राजनीतिमा मुछिन चाहनुहुन्न थियो। आफ्ना चेलाहरूले पनि त्यसै गरून् भन्ने उहाँ चाहनुहुन्थ्यो। उहाँ भीडलाई छल्नुहुन्छ र आफ्ना चेलाहरूलाई डुङ्गा चढेर समुद्रको पारिपट्टि जान कर लगाउनुहुन्छ। तर उहाँचाहिं प्रार्थना गर्न डाँडातिर जानुहुन्छ।—मर्कू. ६:३५-४५; यूहन्ना ६:१४-१७ पढ्नुहोस्।
३ चन्द्रमा हेर्दा पूर्णिमा पनि हुनै लागेको जस्तो देखिन्छ। यात्रा सुरु गर्दा चन्द्रमा तिनीहरूको मास्तिर चम्किरहेको थियो तर अब बिस्तारै त्यसले पश्चिमी क्षितिजमा डुबुल्की मार्दैछ। यति लामो समय बितिसक्दा पनि चेलाहरूले केही किलोमिटर मात्र यात्रा गर्न सकेका छन्। एकपछि अर्को गर्दै आइरहेको छाल अनि त्यसको आवाजले गर्दा ती चेलाहरूलाई आपसमा कुरा गर्न पनि मुस्किल परिरहेको छ। त्यसैले पत्रुस आफ्नै संसारमा डुबिरहेका छन्।
दुई वर्षभित्रमा पत्रुसले येशूबाट थुप्रै कुरा सिकिसकेका थिए तर सिक्नुपर्ने कुरा अझै बाँकी थियो
४. किन पत्रुस हाम्रो लागि उत्कृष्ट नमुना हुन्?
४ पत्रुसको मनमा अनेकौं तरङ्गहरू उठ्न थाल्छन्। तिनले करिब दुई वर्षअघि
नासरतका येशूलाई पहिलो चोटि भेटेका थिए। तिनले यतिन्जेल उहाँबाट थुप्रै कुरा सिकिसकेका थिए तर सिक्नुपर्ने कुरा अझै पनि बाँकी थियो। तिनले शङ्का अनि डरजस्ता तगारोहरूविरुद्ध सङ्घर्ष गर्न सिके। त्यसैले त तिनी हाम्रो लागि असाधारण नमुना बनेका छन्। हामीले तिनको उदाहरण किन पछ्याउनुपर्छ, आउनुहोस् हेरौं।“हामीले मसीहलाई भेट्टाएका छौं”
५, ६. पत्रुसको दिनचर्या कस्तो थियो?
५ येशूलाई भेटेको त्यो क्षण पत्रुस कहिल्यै भुल्न सक्दैनन्। त्यो दिन तिनका भाइ अन्द्रियासले तिनलाई यस्तो अचम्मको खबर सुनाएका थिए: “हामीले मसीहलाई भेट्टाएका छौं।” तिनै शब्दहरू सुनेपछि पत्रुसको जीवनले नयाँ मोड लियो—सदा-सदाको लागि।—यूह. १:४१.
६ पत्रुस कफर्नहुममा बस्थे। कन्चन पानीले भरिएको गालील समुद्रको उत्तरी किनारातिर पर्थ्यो यो ठाउँ। जब्दीका छोराहरू याकूब र यूहन्नासितै मिलेर पत्रुस र अन्द्रियास माछा मार्ने काम गर्थे। पत्रुसको परिवारमा तिनकी पत्नी मात्र होइन, तिनकी सासू अनि तिनका भाइ अन्द्रियास पनि थिए। माछा मार्ने काम गरेर परिवारको गर्जो टार्न सजिलो थिएन, खलखली पसिना बगाउनुपर्थ्यो अनि दिमाग पनि उत्तिकै लगाउनुपर्थ्यो। हामी कल्पना गर्न सक्छौं: पत्रुस र तिनका साथीहरू दिनरात नभनी काममा खटिरहेका छन्। समुद्रमा जाल हान्दैछन्। दुईवटा डुङ्गामा बसेर तिनीहरू जालमा परेका माछाहरू तान्दैछन्। तिनीहरू जाललाई किनारातिर ल्याएर माछा छान्छन्, बेच्छन्, जालहरू तुन्छन् र जालमा अड्किएको फोहोर निकालेर जाल सफा गर्छन्।
७. पत्रुसले येशूबारे कस्तो कुरा सुने? यो किन खुसीको खबर थियो?
७ अन्द्रियास बप्तिस्मा गराउने यूहन्नाका चेला थिए भनेर बाइबल बताउँछ। यूहन्नाले ‘यसो भने, उसो भने’ भनेर आफ्नो भाइ अन्द्रियासले बताउँदा पत्रुस पक्कै पनि ध्यान दिएर सुन्थे होलान्। अन्द्रियाससँगै हुँदा एकदिन यूहन्नाले नासरतका येशूलाई देखाउँदै यसो भनेका थिए: “हेर, परमेश्वरको थुमा!” यो सुनेर अन्द्रियास तुरुन्तै येशूको चेला बने अनि उत्सुक हुँदै आफ्नो दाइलाई पनि यो खुसीको खबर सुनाए: मसीह आइसके! (यूह. १:३५-४१) करिब ४,००० वर्ष पहिले अदनको बगैंचामा यहोवा परमेश्वरले एउटा प्रतिज्ञा गर्नुभएको थियो। मानिसजातिलाई साँचो आशा दिने एक विशेष व्यक्ति आउनेछन् भनेर उहाँले बताउनुभएको थियो। (उत्प. ३:१५) मानिसजातिको उद्धार गर्ने यही व्यक्तिलाई अन्द्रियासले भेट्टाएका थिए। येशूलाई भेट्न पत्रुस पनि उत्तिकै हतारिन्छन्।
८. येशूले सिमोनलाई दिनुभएको नयाँ नामको अर्थ के थियो? यस अर्थसित किन धेरै जना सहमत छैनन्?
८ त्यतिबेला पत्रुसलाई सिमोन भनेर चिनिन्थ्यो। तर तिनलाई देखेपछि येशू यसो भन्नुहुन्छ: “तिमी यूहन्नाको छोरा सिमोन हौ; तिमी केफास (जसको ग्रीक अनुवाद हो, पत्रुस) भनिनेछौ।” (यूह. १:४२) “केफास” शब्दको अर्थ “ढुङ्गा” वा “चट्टान” हो। येशूले यतिबेला भविष्यसूचक शब्द बोलिरहनुभएको थियो भन्ने कुरा स्पष्ट छ। भविष्यमा पत्रुस चट्टानजस्तै स्थिर, मजबुत अनि भरोसायोग्य हुनेछन् र तिनले सँगी ख्रीष्टियनहरूमाझ राम्रो छाप छोड्नेछन् भनेर येशूले भन्न खोज्दै हुनुहुन्थ्यो। के पत्रुसलाई आफू त्यत्तिको भरोसायोग्य छु जस्तो लाग्थ्यो? सायद लाग्दैनथ्यो। अहिले सुसमाचारको विवरण पढ्ने कतिपय व्यक्तिहरूले पनि पत्रुस चट्टानजस्तो बलियो अनि भरोसायोग्य थिएनन् भन्ने निष्कर्ष निकाल्छन्। तिनी हडबडे, अस्थिर अनि अनकनाउने स्वभावका थिए भन्ने कुरा बाइबल रेकर्डबाट देखिन्छ भनेर कोही-कोही भन्ने गर्छन्।
९. यहोवा र उहाँको छोरा हामीमा के हेर्नुहुन्छ? हामीले पनि किन आफूलाई उहाँहरूको दृष्टिकोणबाट हेर्ने प्रयास गर्नुपर्छ?
९ हो, पत्रुसले कैयौं गल्तीहरू गरेका थिए। त्यो कुरा येशूलाई थाह थियो। तर आफ्नो बुबाले जस्तै येशूले पनि मानिसहरूमा भएको राम्रो कुरा हेर्नुहुन्छ, नराम्रो होइन। येशूले पत्रुसमा थुप्रै असल गुण देख्नुभयो र ती गुणहरू अझ राम्ररी विकास गर्न उहाँले तिनलाई मदत गर्नुभयो। अहिले पनि यहोवा र येशूले हामीमा भएको राम्रो कुरा हेर्नुहुन्छ। ‘ममा त्यस्तो असल गुण छ र?’ भन्ने हामीलाई लाग्ला। तर उहाँहरू हामीमा भएको राम्रो गुण भेट्टाउनुहुन्छ। त्यसैले हामीले आफूलाई उहाँहरूको दृष्टिकोणबाट हेर्ने प्रयास गर्नुपर्छ र पत्रुसले जस्तै यहोवाबाट तालिम पाउन र उहाँको इच्छाअनुसार छाँटकाँट गर्न तयार हुनुपर्छ।—१ यूहन्ना ३:१९, २० पढ्नुहोस्।
“डराउन छोड”
१०. पत्रुसले के-कस्तो कुरा देखेको वा सुनेको हुनुपर्छ? तर तिनले पछि के गरे?
१० यसपछिको प्रचार यात्रामा पत्रुसले पनि येशूलाई साथ दिएको हुनुपर्छ। किनभने तिनले येशूको पहिलो चमत्कार देखेका थिए। उहाँले कानाको विवाह-भोजमा पानीलाई दाखमद्यमा परिणत गर्नुभएको थियो। योभन्दा महत्त्वपूर्ण कुरा त, परमेश्वरको राज्यबारे येशूले बताउनुभएको अचम्मलाग्दो अनि आशालाग्दो सन्देश पत्रुसले सुनेका थिए। यति हुँदाहुँदै पनि तिनी येशूसँग हिंड्न छोडे र माछा मार्ने व्यवसायमै फर्के। तर केही महिनापछि पत्रुस फेरि येशूलाई भेट्छन्। यसपटकचाहिं येशूले आजीवन उहाँलाई पछ्याउन पत्रुसलाई निम्तो दिनुहुन्छ।
११, १२. (क) पत्रुसको रात कसरी कटेको थियो? (ख) येशूको कुरा सुनेपछि पत्रुसको मनमा कस्तो कुरा खेल्यो?
११ पत्रुसको आजको रात साह्रै नै नरमाइलो भयो। जति पटक जाल हान्दा पनि ‘हाता लाग्यो शून्य!’ माछा जालमा पार्न पत्रुसले आफ्नो भएभरको अनुभव र सीप प्रयोग गरे; माछा भेटिने सम्भावना भएको थुप्रै ठाउँमा जाल हाने। सबै जलारीहरूले जस्तै पत्रुसले पनि अन्धकार पानीमा कतै माछा देखिन्छन् कि भनेर चियाइ-चियाइ हेरिरहेका थिए। माछाहरूलाई कसरी जालमा पार्ने भनेर पत्रुस सोचिरहेका थिए। जे गरे पनि माछा जालमा नपर्दा पत्रुस कत्ति निराश भए होलान्! पत्रुस आफ्नो सोख पूरा गर्न माछा मारिरहेका थिएनन्; तिनको परिवार तिनमै भर परेका थिए। आखिरमा खाली हात तिनी किनारातिर फर्कन्छन् र जाल धुन थाल्छन्। जाल धोइरहेको बेला येशू त्यहाँ आइपुग्नुहुन्छ।
येशूले सधैं आफ्नो मूल विषयलाई अर्थात् परमेश्वरको राज्यलाई जोड दिएर कुरा गरेको सुन्दा पत्रुसले दिक्क मानेनन्
१२ येशूलाई एउटा भीडले घेरेको छ। येशूका एक-एक शब्दमा ती मानिसहरू मग्न छन्। मानिसहरू ठेलमठेल गरिरहेकोले येशू पत्रुसको डुङ्गामा चढ्नुहुन्छ र पाखाबाट अलि पर लूका ५:१-३.
लैजान तिनलाई भन्नुहुन्छ। पानीमाथिबाट बोल्दा आवाज प्रस्टै सुनिने भएकोले येशू त्यहाँबाट भीडलाई शिक्षा दिन थाल्नुहुन्छ। किनारामा भएका मानिसहरूजस्तै पत्रुस पनि मग्न भएर येशूको कुरा सुन्छन्। उहाँ फेरि पनि आफ्नो मूल विषयबारे कुरा गर्नुहुन्छ। हो, सधैंझै अहिले पनि येशूले परमेश्वरको राज्यलाई जोड दिएर कुरा गरेको सुन्दा पत्रुस दिक्क मान्दैनन्। यो सन्देश चारैतिर फिंजाउन ख्रीष्टलाई मदत गर्न पाउनु त ठूलो सुअवसर हो भनेर पत्रुस सोच्छन्। तर के तिनले यसरी येशूलाई सधैं मदत गर्नु साँच्चै सम्भव थियो र? फेरि पत्रुसको परिवार पनि त थियो। ‘परिवारलाई कसले हेर्ने? त्यसमाथि रातभर मेहनत गर्दा पनि एउटै माछा मार्न सकिएको होइन।’ यस्तै-यस्तै कुरा सोच्छन् पत्रुस!—१३, १४. येशूले पत्रुसको लागि कस्तो चमत्कार गरिदिनुभयो? पत्रुसले कस्तो प्रतिक्रिया देखाए?
१३ आफ्नो कुरा सिध्याइसकेपछि उहाँ पत्रुसलाई यसो भन्नुहुन्छ: “डुङ्गालाई गहिरो ठाउँतिर लैजाऊ र माछा समात्न तिमीहरूले आ-आफ्ना जाल खसाल।” पत्रुसलाई शङ्का लाग्छ। तिनी उहाँलाई यस्तो जवाफ दिन्छन्: “गुरुज्यू, हामीले रातभरि मेहनत गऱ्यौं तर केही भेट्टाएनौं, तैपनि तपाईंको आग्रहमा म जाल खसाल्नेछु।” सायद तिनले भर्खरै मात्र जाल धोएका थिए। तिनका शब्दहरूलाई विचार गर्ने हो भने तिनलाई फेरि जाल हान्न मन लागेको थिएन जस्तो देखिन्छ। झन् यतिखेर त माछाहरू आहारा खोज्न निस्केका पनि हुँदैनन्। तैपनि तिनी येशूको कुरा मान्छन्। तिनी अर्को डुङ्गामा भएका आफ्ना साथीहरूलाई इसारा गर्दै आफूलाई पछ्याउन भन्छन्।—लूका ५:४, ५.
१४ जाल हानिसकेपछि पत्रुस बिस्तारै जाल तान्छन्। आम्मामा कत्ति गह्रौं! तान्नै मुस्किल! पत्रुसलाई विश्वास गर्नै गाह्रो हुन्छ। भएभरको बल लगाएर तिनी जाल तान्छन्। जालभरि माछाहरू सलबलाइरहेका छन्। तिनी अत्तालिंदै अर्को डुङ्गामा भएका आफ्ना साथीहरूलाई बोलाउँछन्। तिनीहरूले पनि ती माछाहरू एउटा डुङ्गामा मात्र अटाउँदैन भनेर तुरुन्तै थाह पाउँछन्। तिनीहरूले दुइटै डुङ्गा भर्छन्। भर्दा-भर्दा डुङ्गा नै डुब्ला जस्तो हुन्छ। पत्रुस यो सब देखेर तीनछक पर्छन्। हुन त तिनले यसअघि पनि ख्रीष्टको शक्ति देखिसकेका थिए तर यो चमत्कारले भने विशेषगरि तिनलाई र तिनको परिवारलाई लाभ पुऱ्यायो। माछालाई खुरुखुरु जालमा पस्न लगाउने शक्तिसमेत येशूमा थियो! त्यसैले पत्रुस डराउँछन्। तिनी येशूसामु घुँडा टेक्दै यसो भन्छन्: “हे प्रभु, म पापी मानिस हुँ, त्यसैले मदेखि टाढा गइहाल्नुहोस्।” सायद पत्रुसलाई यस्तो लागेको थियो: ‘परमेश्वरको शक्तिलाई यस्तो अद्भुत तरिकामा चलाउन सक्ने व्यक्तिसित म कसरी सङ्गत गर्न सक्छु र?’—लूका ५:६-९ पढ्नुहोस्।
१५. शङ्का गर्नुपर्ने वा डराउनुपर्ने कुनै कारण छैन भनेर येशूले पत्रुसलाई कसरी सम्झाउनुभयो?
१५ दयालु हुँदै येशू तिनलाई यसो भन्नुहुन्छ: “डराउन छोड। अबदेखि उसो तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।” (लूका ५:१०) यो शङ्का गर्ने वा डराउने समय थिएन। माछा मार्ने व्यवसायबारे औधी चिन्ता गरेर शङ्कामा डुब्नु वा आफ्नो गल्ती वा अनुभवको कमीले गर्दा डराउनु, त्यो सब पत्रुसको लागि बेकार थियो। येशूले थुप्रै काम गर्न बाँकी थियो, जुन कामले मानवजातिको भविष्य नै बदलिने थियो। उहाँ “प्रशस्त गरी क्षमा” गर्नुहुने परमेश्वरको सेवा गर्नुहुन्थ्यो। (यशै. ५५:७) पत्रुसको आवश्यकता यहोवा आफैले पूरा गरिदिनुहुने थियो, भौतिक र आध्यात्मिक दुवै!—मत्ती ६:३३.
१६. येशूको निम्तो पाएपछि पत्रुस, याकूब र यूहन्नाले के गरे? यो तिनीहरूले गर्न सक्ने सबैभन्दा राम्रो निर्णय थियो भनेर हामी किन भन्न सक्छौं?
१६ याकूब र यूहन्नाजस्तै पत्रुस पनि तुरुन्तै येशूको कुरा मान्छन्। बाइबल भन्छ: “तिनीहरूले डुङ्गाहरू पाखामा ल्याए र सबै कुरा छोडेर उहाँको पछि लागे।” (लूका ५:११) यसरी पत्रुसले येशूमा अनि उहाँलाई पठाउनुहुने परमेश्वरमा विश्वास गरेको कुरा देखाए। तिनले गर्न सक्ने सबैभन्दा राम्रो निर्णय त्यही नै थियो। आफ्नो शङ्का र डरलाई हटाएर परमेश्वरको सेवा गरिरहेका आजका ख्रीष्टियनहरूले पनि त्यस्तै विश्वास देखाउँछन्। यहोवाप्रतिको त्यस्तो भरोसा कहिल्यै खेर जाँदैन।—भज. २२:४, ५.
“तिमीले किन शङ्का गऱ्यौ?”
१७. येशूलाई भेटेको दुई वर्षपछि पत्रुसको दिमागमा के-कस्ता कुरा खेलिरहेका हुन सक्छन्?
१७ पत्रुसले येशूलाई भेटेको लगभग दुई वर्षपछि सुरुका अनुच्छेदहरूमा चर्चा गरिएको घटना घट्छ। जोडसित बतास चलिरहेको बेलामा तिनी गालील समुद्रमा डुङ्गा खियाउँदैछन्। तिनको दिमागमा अहिले के कुरा खेलिरहेको छ, त्यो हामी यकिनका साथ भन्न सक्दैनौं। थुप्रै कुरा हुन सक्छ। जस्तै: येशूले पत्रुसकी सासूलाई निको पार्नुभएको थियो; उहाँले केही समयअघि मात्र डाँडामा उपदेश दिनुभएको थियो; उहाँले कैयौं पटक आफ्नो शिक्षा अनि शक्तिशाली कामद्वारा आफू नै यहोवाले चुनेको व्यक्ति अर्थात् मसीह हुँ भनेर प्रमाणित गर्नुभएको थियो। महिनौंको दौडान पत्रुसले आफ्नो डर अनि शङ्का पनि केही हदसम्म हटाउन सिकिसकेका थिए। येशूले पत्रुसलाई १२ प्रेषितमध्ये एक जनाको रूपमा समेत छानिसक्नुभएको थियो। तैपनि पत्रुसमा डर अनि शङ्काको जरा बाँकी नै थियो भनेर तिनले चाँडै नै थाह पाउने थिए।
१८, १९. (क) पत्रुसले गालील समुद्रमा के देखे, बताउनुहोस्। (ख) पत्रुसले पानीमाथि हिंड्ने अनुमति माग्दा येशूले कस्तो जवाफ दिनुभयो?
१८ रातको चौथो प्रहरमा पत्रुस अचानक डुङ्गा खियाउन रोक्छन्। त्यो समय लगभग ३:०० बजेदेखि ६:०० बजेतिरको हुनुपर्छ। परतिर छालको बीचमा पत्रुस केही अनौठो कुरा देख्छन्। तिनी झसङ्ग हुन्छन्। कतै त्यो चन्द्रमाले गर्दा देखिएको छालको छायाँ हो कि? अहँ, होइन। त्यो त एकदमै ठिङ्ग उभिएको स्थिर वस्तु जस्तो देखिन्छ। मान्छे पो रहेछ! अनि त्यो समुद्रमा हिंड्दै आइरहेको छ। त्यो मान्छे नजिक-नजिक, झन्-झनै नजिक आइरहेको छ, डुङ्गा भएतिरै। चेलाहरू सबै डराउँछन् र दृष्टिभ्रम भएको हो कि भनेर सोच्छन्। तर त्यो मान्छेले यसो भन्छ: “साहस गर, मै हुँ, नडराओ।” ओहो! उहाँ त येशू पो हुनुहुँदो रहेछ!—मत्ती १४:२५-२७.
१९ पत्रुस उहाँलाई यस्तो जवाफ दिन्छन्: “प्रभु, यदि तपाईं नै हुनुहुन्छ भने मलाई पानीमाथि हिंडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्।” (मत्ती १४:२८) सुरुमा त तिनी निकै साहस देखाउँछन्। यस्तो चमत्कार देखेर तिनी निकै उत्साहित हुन्छन् र आफ्नो विश्वासलाई अझ बलियो बनाउन चाहन्छन्। तिनी पनि यो चमत्कार अनुभव गर्न चाहन्छन्। येशूले दयालु हुँदै तिनलाई ‘आऊ’ भन्नुहुन्छ। पत्रुस डुङ्गाको छेउमा आउँछन् र यताउता छचल्किरहेको समुद्रमा बिस्तारै आफ्नो खुट्टा राख्छन्। तिनलाई कुनै साह्रो वस्तुमाथि हिंडेको जस्तो पो लाग्छ! तिनी पानीमाथि टक्क उभिन्छन्। त्यसपछि छप्लङ्ग-छप्लङ्ग गर्दै येशू भएतिर जान्छन्। तर चाँडै नै तिनी फरक प्रतिक्रिया देखाउँछन्।—मत्ती १४:२९ पढ्नुहोस्।
२०. (क) पत्रुसको ध्यान किन खलबलियो? परिणाम के भयो? (ख) येशूले पत्रुसलाई कस्तो पाठ सिकाउनुभयो?
२० पत्रुसले येशूमाथि आफ्नो ध्यान केन्द्रित गर्नुपर्थ्यो। किनभने उहाँले नै यहोवाको शक्ति चलाएर पत्रुसलाई उर्लंदो छालमाथि उभिन मदत गर्नुभएको थियो। पत्रुसले विश्वास देखाएकोले नै येशूले त्यस्तो चमत्कार गर्नुभएको थियो। तर चाँडै नै पत्रुसको ध्यान मत्ती १४:३०, ३१.
खलबलिन्छ। हामी बाइबलमा यस्तो लेखिएको पाउँछौं: “आँधी चलिरहेको देखेर तिनी डराए।” तिनी छालले डुङ्गालाई ड्याम-ड्याम हिर्काइरहेको देख्छन् अनि छालहरू भयानक तरिकाले उर्लिंदै गरेको पनि देख्छन्। तिनी अत्तालिन्छन्। तिनी समुद्रमा डुब्दै गरेको कल्पना गर्छन्। तिनको मनमा डर बढ्दै गएपछि विश्वास घट्दै जान्छ। तिनले भविष्यमा देखाउन सक्ने स्थिरतालाई ध्यानमा राखेर तिनको नाम चट्टान राखिएको थियो तर अहिले त्यही व्यक्ति अस्थिर विश्वासको कारण ढुङ्गाजस्तै समुद्रमा डुब्दैछन्। पत्रुसलाई पौडन पनि आउँथ्यो तर अहिले तिनको आत्मबल कमजोर भएको छ। तिनी यसो भन्दै चिच्याउँछन्: “प्रभु, मलाई बचाउनुहोस्!” येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पानीमाथि तान्नुहुन्छ। पानीको सतहमा छँदै उहाँ पत्रुसलाई यस्तो अनमोल पाठ सिकाउनुहुन्छ: “ए थोरै विश्वास हुने मानिस, तिमीले किन शङ्का गऱ्यौ?”—२१. शङ्का गर्नु किन खतरनाक छ? हामी यसविरुद्ध कसरी लड्न सक्छौं?
२१ “तिमीले किन शङ्का गऱ्यौ?” कत्ति उपयुक्त प्रश्न! शङ्का एकदमै विध्वंसकारी हुन सक्छ। यदि हामीले शङ्का गऱ्यौं भने त्यसले हाम्रो विश्वासलाई खर्लप्पै खाइदिन सक्छ र हामीलाई आध्यात्मिक रूपमा चुर्लुम्मै डुबाइदिन सक्छ। त्यसैले हामीले शङ्काविरुद्ध डटेर लड्नुपर्छ! तर कसरी? सही कुरामा ध्यान केन्द्रित गरेर। डर लाग्ने कुरामा, निराश बनाउने कुरामा अनि यहोवा र येशूबाट अलमल्याउने कुरामा ध्यान दियौं भने हाम्रो शङ्का बढ्दै जान सक्छ। तर यहोवा र उहाँको छोरामा ध्यान दियौं भने अनि उहाँहरूले आफ्ना प्यारा जनहरूका खातिर पहिला गर्नुभएको, अहिले गरिरहनुभएको र भविष्यमा गर्नुहुने कुरामा ध्यान दियौं भने शङ्काले हाम्रो केही बिगार गर्न सक्दैन।
२२. पत्रुसको विश्वास किन अनुकरण गर्न लायकको छ?
२२ येशूको पछि-पछि लाग्दै डुङ्गामा चढिसकेपछि बतास मत्थर भएको पत्रुसले देख्छन्। एकाएक गालील समुद्र शान्त हुन्छ। पत्रुस अरू साथीहरूसित स्वरमा स्वर मिलाउँदै यसो भन्छन्: “तपाईं साँच्चै परमेश्वरको छोरा हुनुहुँदो रहेछ।” (मत्ती १४:३३) समुद्रमा बिहानीको किरण छरिउन्जेलसम्ममा त पत्रुसको मन कृतज्ञताले कत्ति भरियो होला! डरको कारण यहोवा र येशूलाई शङ्का गर्नु हुँदैन भन्ने गतिलो पाठ तिनले सिके। येशूले तिनमा देख्नुभएको सम्भावनालाई सार्थक रूप दिन तिनले अझै पनि थुप्रै छाँटकाँट गर्नुपर्थ्यो। अनि मात्र तिनी चट्टानरूपी ख्रीष्टियन बन्न सक्थे। पत्रुसले हार मानेनन्, तिनले प्रयास गर्न अनि अघि बढ्न कहिल्यै छोडेनन्। के तपाईं पनि यस्तै सङ्कल्प गर्नुहुन्छ? यसो गर्नुभयो भने पत्रुसको विश्वास अनुकरण गर्न लायकको छ भनेर तपाईंले थाह पाउनुहुनेछ।