सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय चौध

तिनले कृपालु हुन सिके

तिनले कृपालु हुन सिके

१. योनालाई कस्तो यात्राले पर्खिरहेको थियो? आफ्नो गन्तव्यबारे तिनलाई कस्तो लागिरहेको थियो?

योना घोरिएर बसिरहेका छन्‌, सोचमा मग्न। तिनलाई लामो यात्राले पर्खिरहेको छ। आठ सय किलोमिटर लामो यो यात्रा गर्न सायद एक महिना वा अझ धेरै समय लाग्न सक्छ। यात्रा सुरु गर्नुअघि कुन बाटो जाने हो भनेर तिनले निधो गर्नुपर्छ। तिनीसामु दुई बाटा छन्‌। छोटो तर खतरनाक र लामो तर सुरक्षित। त्यसपछि उकाली ओराली गर्दै, भन्ज्याङहरू पार गर्दै तिनी लगातार हिंडिरहन्छन्‌। तिनले सिरियाको मरुभूमिको किनारै किनार भएर हिंड्‌नुपर्छ। यूफ्रेटिसजस्ता ठूला नदीहरू पनि तर्नुपर्छ। सिरिया, मेसोपोटामिया र अश्‍शूरजस्ता अपरिचित ठाउँहरूमा तिनले शिर ढल्काउने ठाउँ पनि खोज्नुपर्छ। दिनहरू बित्दै जान्छन्‌। जुन सहरमा जान तिनलाई डर लागिरहेको छ, त्यही सहरबारे सोच्न तिनी बाध्य छन्‌। हरेक पाइलासँगसँगै त्यो सहर तिनको नजिक-नजिक, अझै नजिक आइरहेको छ। हो, त्यही सहर—निनवे!

२. आफूले पाएको जिम्मेवारीबाट भाग्न असम्भव छ भनेर योनाले कसरी बुझे?

योनालाई यो कुरा पक्का थियो: तिनी आफूले पाएको जिम्मेवारीबाट भाग्न सक्दैनथे। पहिला एक चोटि भाग्ने प्रयास नगरेका त होइनन्‌। तर योना भागिरहेको बेला यहोवाले समुद्रमा आँधी चलाउनुभयो र ठूलो माछालाई प्रयोग गरेर चमत्कारपूर्ण ढङ्‌गमा तिनलाई बचाउनुभयो भनेर हामीले अघिल्लो अध्यायमा सिक्यौं। यसरी यहोवाले योनालाई धीरजी भई पाठ सिकाउनुभयो। तीन दिनपछि माछाले योनालाई समुद्रको किनारमा उकेलिदिएको थियो। तिनी जीवितै थिए। त्यसपछि योना नम्र र आज्ञाकारी भए।—योना अध्या. १, २.

३. योनासित व्यवहार गर्दा यहोवाले कुन गुण देखाउनुभयो? तर योनाबारे कस्तो प्रश्‍न उठ्‌छ?

जब दोस्रो पटक यहोवाले योनालाई निनवे जाने आज्ञा दिनुभयो, तब आज्ञाकारी भई योना निनवे जान पूर्वतिर लागे। (योना ३:१-३ पढ्‌नुहोस्‌) यहोवाबाट अनुशासन पाइसकेपछि के योनाको सोचाइमा आमूल परिवर्तन आयो? यहोवाले योनालाई समुद्रमा डुबेर मर्नदेखि जोगाउनुभयो, तिनी अनाज्ञाकारी भए पनि कुनै सजाय दिनुभएन र जिम्मेवारी पूरा गर्न अर्को एउटा मौका दिनुभयो। यहोवाले योनालाई यत्तिको कृपा देखाउनुभयो। तर के योनाले चाहिं अरूलाई कृपा देखाउन सिके? अरूलाई कृपा देखाउन सिक्नु पापी मानिसहरूको लागि गाह्रै कुरा हो। यस सम्बन्धमा योनाको उदाहरणबाट हामी के सिक्न सक्छौं, अब विचार गरौं।

न्यायको सन्देश र आसै नगरेको परिणाम

४, ५. यहोवाले निनवेलाई किन ठूलो सहर भन्‍नुभयो? यसबाट हामी यहोवाबारे के सिक्न सक्छौं?

यहोवाको लागि निनवे सहर महत्त्वपूर्ण थियो। तर योनाले त्यस सहरलाई यहोवाको दृष्टिकोणले हेरेनन्‌। यहोवाले निनवेलाई “ठूलो शहर” भनेर तीन पटक भन्‍नुभएको कुरा योनाको किताबमा उल्लेख गरिएको छ। (योना १:२; ३:२; ४:११) यहोवाको नजरमा त्यो सहर किन ठूलो अर्थात्‌ महत्त्वपूर्ण थियो?

निनवे पुरानो सहर थियो। जलप्रलयपछि निम्रोदले बनाएका सुरु-सुरुका सहरहरूमध्ये निनवे पनि एक थियो। त्यो निकै विशाल सहर थियो। सम्भवतः त्यसभित्र अरू थुप्रै स-साना सहरहरू पनि थिए। त्यस सहरको वल्लो छेउदेखि पल्लो छेउसम्म हिंडेर जान तीन दिन लाग्थ्यो। (उत्प. १०:११; योना ३:३) निनवेमा भव्य मन्दिरहरू, बलिया पर्खालहरू र अरू विभिन्‍न आकर्षक संरचनाहरू थिए। तर यी कुराहरूले गर्दा यहोवाको नजरमा त्यो सहर महत्त्वपूर्ण भएको होइन। यहोवा परमेश्‍वरको लागि त्यहाँका मानिसहरू महत्त्वपूर्ण थिए। त्यतिबेला अरू सहरको तुलनामा निनवेमा धेरै मानिसहरू बस्थे। तिनीहरूको जीवनशैली खराब भए तापनि यहोवा तिनीहरूलाई बचाउन चाहनुहुन्थ्यो। यहोवा हरेक मानिसको जीवनलाई अनमोल ठान्‍नुहुन्छ र प्रत्येक मानिसले पश्‍चात्ताप गरेर सही बाटोमा आएको चाहनुहुन्छ।

ठूलो सहर निनवे जताततै दुष्टताले भरिएको योनाले देखे

६. (क) निनवे पुगेपछि योना किन आत्तिए होलान्‌? (फुटनोट पनि हेर्नुहोस्‌) (ख) योनाले गरेको प्रचारकार्यबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

योना निनवे सहरभित्र पस्छन्‌। त्यहाँ १,२०,००० भन्दा धेरै मानिसहरू बसोबास गर्थे। त्यहाँ थुप्रै मानिसहरूलाई देखेर योना आत्तिए होलान्‌। * तिनी एक दिनको बाटो हिंडेर सहरको भित्री भागमा पुग्छन्‌। आफ्नो सन्देश सबैतिर फैलाउन उपयुक्‍त ठाउँ कुन होला भनेर तिनी सहरको मुख्य स्थान खोजिरहेका छन्‌। त्यत्तिका मानिसहरूलाई तिनले यहोवाको सन्देश कसरी सुनाउने? के तिनले अश्‍शूरीहरूको भाषा सिके? अथवा योनाले त्यहाँको भाषा बोल्न सकोस्‌ भनेर यहोवाले कुनै चमत्कार पो गरिदिनुभयो कि? त्यो सब त हामीलाई थाह छैन। हुन सक्छ, योनाले आफ्नो सन्देश हिब्रू भाषामै सुनाए र दोभासेमार्फत मानिसहरूलाई बुझाए। जेहोस्‌, तिनले सुनाएको सन्देश प्रस्ट थियो। तर मानिसहरूलाई मनपर्ने खालको देखिंदैनथ्यो। तिनी यस्तो सन्देश सुनाउँछन्‌: “अबको चालीस दिनमा निनवे नाश हुनेछ!” (योना ३:४) तिनी साहसी हुँदै बारम्बार यो सन्देश सुनाउँछन्‌। त्यसो गर्नको लागि तिनलाई चानचुने साहस र विश्‍वास भएर पुग्दैनथ्यो। अहिलेका ख्रीष्टियनहरूले योनाले जस्तै साहस र विश्‍वास देखाउनु झनै आवश्‍यक छ।

योनाले सुनाएको सन्देश प्रस्ट थियो तर मानिसहरूलाई मनपर्ने खालको थिएन

७, ८. (क) योनाको सन्देश सुनेपछि मानिसहरूले के गरे? (ख) राजाले नि?

योनाको सन्देश सुन्‍न सहरका मानिसहरूले आफ्नो कान ठाड्‌ठाडो पारे। आफ्नो सन्देश सुनेर मानिसहरू रिसाउलान्‌ र कुटपिट गर्लान्‌ भनेर योनाले सोचिरहेका थिए होलान्‌। तर ठीक उल्टो पो भयो! मानिसहरूले योनाको सन्देश सुने! जङ्‌गलमा आगो फैलिएझैं तिनको सन्देश फैलियो। जताततै योनाकै सन्देशको चर्चा थियो—विनाशको सन्देश! (योना ३:५ पढ्‌नुहोस्‌) धनी-गरिब, बलिया-निर्धा, वृद्ध-बालक सबैले पश्‍चात्ताप गर्न थाले। तिनीहरू उपवास बसे। एक कान दुई कान मैदान हुँदै यो समाचार राजाको कानमा पनि पऱ्‍यो।

निनवेमा प्रचार गर्न योनालाई साहस र विश्‍वास चाहिन्थ्यो

योनाको सन्देश सुनेपछि राजाले समेत पश्‍चात्ताप गरे। परमेश्‍वरदेखि भयभीत भएर उनले आफ्नो राजसी पोसाक फुकाले र सबै मानिसहरूले जस्तै भाङ्‌ग्रा लगाए। उनी पश्‍चात्ताप गर्न “खरानीमा बसे।” उनले ‘भारदारहरूसँग’ मिलेर देशका सबै मानिसहरूले उपवास बस्नुपर्ने शाही उर्दी पनि जारी गरे। सबै मानिसले, यहाँसम्म कि पशुहरूले समेत भाङ्‌ग्रा लगाऊन्‌ भनेर उनले हुकुम गरे। * देशका सारा मानिसहरू खराब काम र हिंसाको दोषी छन्‌ भनेर उनले नम्र हुँदै स्वीकारे। तिनीहरूको पश्‍चात्ताप देखेर साँचो परमेश्‍वरले कृपा देखाउनुहोला कि भनेर राजाले आशा गरेका थिए। उनले यसो भने: ‘परमेश्‍वरले आफ्नो भयानक रीस रोक्नुहोला, र हामी नष्ट हुनेछैनौं।’—योना ३:६-९.

९. निनवेका मानिसहरूबारे आलोचकहरूले के भनेका छन्‌? तिनीहरूको सोचाइ गलत हो भनेर हामी किन भन्‍न सक्छौं?

निनवेका मानिसहरूले त्यत्ति छिटो आफ्नो मन परिवर्तन गरेका त हुनै सक्दैनन्‌ भनेर केही आलोचकहरूले भनेका छन्‌। तर बाइबलविद्‌हरूका अनुसार निनवेका मानिसहरू कुनै प्रमाणविना नै अरूको कुरा पत्याइहाल्ने स्वभावका थिए। त्यसैले तिनीहरू परिवर्तन हुनु छक्कलाग्दो कुरा होइन। त्यसबाहेक येशू ख्रीष्टले पनि निनवेका मानिसहरूले पश्‍चात्ताप गरेका थिए भनेर बताउनुभयो। (मत्ती १२:४१ पढ्‌नुहोस्‌) यसबाट आलोचकहरू गलत हुन्‌ भनेर हामी भन्‍न सक्छौं। येशू ख्रीष्ट स्वयम्‌ नै निनवेको घटनाको प्रत्यक्षदर्शी हुनुहुन्थ्यो। किनभने उहाँले स्वर्गबाट ती सबै घटना देख्नुभएको थियो। (यूह. ८:५७, ५८) हाम्रो नजरमा मानिसहरू जतिसुकै भ्रष्ट देखिए तापनि तिनीहरूले पश्‍चात्ताप गर्दैनन्‌ वा तिनीहरू परिवर्तन हुँदैनन्‌ भनेर अडकल काट्‌नु हुँदैन। मानिसको मनको अवस्था कस्तो छ, त्यो त यहोवालाई मात्र थाह छ।

परमेश्‍वरको कृपा र मानिसको पत्थरजस्तो मन

१०, ११. (क) निनवेका मानिसहरूले पश्‍चात्ताप गरेपछि यहोवाले कस्तो निर्णय गर्नुभयो? (ख) यहोवाको न्याय गर्ने तरिकामा कुनै खोट थिएन भनेर हामी कसरी भन्‍न सक्छौं?

१० निनवेवासीहरूले पश्‍चात्ताप गरेपछि परमेश्‍वरले के गर्नुभयो? योनाले पछि यस्तो लेखे: “तब तिनीहरूले के गरे, कसरी तिनीहरू आफ्ना कुमार्गबाट फिरेर आए, सो परमेश्‍वरले देख्नुभयो। तब तिनीहरूमाथि आपत्ति ल्याउने आफ्नो इच्छालाई परमेश्‍वरले बदल्नुभयो। उहाँले सो गर्नुभएन।”—योना ३:१०.

११ यसको मतलब निनवेलाई नाश गर्ने आफ्नो निर्णय गलत थियो भनेर यहोवाले स्वीकार्नुभएको हो त? होइन। यहोवाको न्यायमा कुनै खोट छैन भनेर बाइबलले बताएको छ। (व्यवस्था ३२:४ पढ्‌नुहोस्‌) निनवेका मानिसहरूसँग अब रिसाइराख्नुपर्ने कुनै कारण यहोवासित थिएन। ती मानिसहरूले पश्‍चात्ताप गरेर आफ्नो जीवनशैली परिवर्तन गरेको उहाँले देख्नुभयो र तिनीहरूलाई सजाय दिनु अब उपयुक्‍त छैन भनेर महसुस गर्नुभयो। त्यसकारण यहोवाले तिनीहरूलाई कृपा देखाउने निर्णय गर्नुभयो।

१२, १३. (क) यहोवा व्यावहारिक, छाँटकाँट गर्न तयार र कृपालु हुनुहुन्छ भनेर उहाँले कसरी देखाउनुभयो? (ख) योनाले सुनाएको सन्देश किन झूटो थिएन?

१२ धर्मगुरुहरूले परमेश्‍वरको मन कठोर छ र उहाँ कसैलाई पनि कृपा देखाउनुहुन्‍न भन्‍ने छाप मानिसहरूमा पारिदिएका छन्‌। तर यहोवा त्यस्तो हुनुहुन्‍न। उहाँ व्यावहारिक, छाँटकाँट गर्न तयार र कृपालु हुनुहुन्छ। यहोवाले कसैलाई दण्ड दिने निर्णय गरेपछि पृथ्वीमा रहेको आफ्नो प्रतिनिधिमार्फत सुरुमा तिनीहरूलाई चेतावनी दिनुहुन्छ। किन? किनभने निनवेका मानिसहरूले जस्तै सबैले पश्‍चात्ताप गरेको र आफ्नो जीवनशैली परिवर्तन गरेको उहाँ चाहनुहुन्छ। (इज. ३३:११) यहोवाले आफ्ना भविष्यवक्‍ता यर्मियालाई यसो भन्‍नुभयो: “यदि कुनै जाति अथवा कुनै राज्यको विषयमा ‘त्यसलाई उखेलिदिन्छु, तोडिदिन्छु र नाश पारिदिन्छु’ भनी म भनूँला, औ यदि जसको विषयमा मैले यस्तो भनें र त्यो जाति आफ्नो खराबीदेखि फर्क्यो भने त्यसमाथि विपत्ति ल्याउने मेरो मन म बद्‌लनेछु।”—यर्मि. १८:७, ८.

निनवेका मानिसहरूले जस्तै सबैले पश्‍चात्ताप गरेको र आफ्नो जीवनशैली परिवर्तन गरेको यहोवा चाहनुहुन्छ

१३ त्यसोभए के योनाले सुनाएको सन्देश झूटो थियो? होइन। बरु त्यो सन्देशले गर्दा मानिसहरूले चेतावनी पाए। तिनीहरूले खराब जीवनशैली बिताएकोले यहोवाले त्यस्तो चेतावनी दिनुभएको थियो। तर तिनीहरूले परिवर्तन गरे। निनवेवासीहरूले फेरि खराब जीवनशैली बिताउन थालेका भए यहोवाले तिनीहरूलाई कहाँ छोड्‌नुहुने थियो र! हुन पनि पछि त्यस्तै भयो।—सप. २:१३-१५.

१४. यहोवाले निनवेलाई कृपा देखाउँदा योनालाई कस्तो लाग्यो?

१४ योनाले आशा गरेको समयमा निनवे नाश नहुँदा तिनलाई कस्तो लाग्यो? हामी यस्तो लेखिएको पाउँछौं: “योनालाई यो साह्रै मन परेन, र तिनलाई रिस उठ्यो।” (योना ४:१) तिनले सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई प्रार्थना गर्दा रिससमेत पोखाए। निनवे नआएर बरु घरमै बसेको भए हुन्थ्यो भने! यहोवाले निनवेलाई नाश गर्नुहुन्‍न भनेर पहिले नै थाह भएकोले आफू तर्शीशतिर भागेको कुरा पनि तिनले बताए। त्यसपछि तिनले मर्न पाए पनि हुन्थ्यो भने। बाँच्नुभन्दा त तिनलाई मर्नु नै निको लागेको थियो।—योना ४:२, ३ पढ्‌नुहोस्‌।

१५. (क) योना किन रिसाए? (ख) निराश भएका आफ्ना भविष्यवक्‍तासित यहोवाले कस्तो व्यवहार गर्नुभयो?

१५ योना किन त्यसरी विचलित भएका? तिनको मनमा के-कस्ता कुरा थिए, त्यो त हामी जान्दैनौं। तर हामीलाई यति कुरा भने थाह छ, निनवे सहर नाश हुनेछ भनेर सारा मानिसहरूको अगाडि तिनले घोषणा गरिसकेका थिए। मानिसहरूले तिनको कुरा पत्याएका थिए। तर कहाँ नाश हुनु! निनवे त जस्ताको तस्तै थियो! आफूलाई मानिसहरूले खिसी गर्लान्‌ वा झूटा भविष्यवक्‍ता भन्लान्‌ भनेर तिनी डराएका थिए कि? जेहोस्‌, निनवेका मानिसहरूले पश्‍चात्ताप गरेकोमा र तिनीहरूलाई यहोवाले कृपा देखाएकोमा योना खुसी थिएनन्‌। बरु यस्तो देखिन्छ, तिनी अझै रिसाए, निनवे आएकोमा आफैलाई धिक्कारे, आफ्नो ठूलो बेइज्जती भयो भन्ठाने। तर कृपालु परमेश्‍वर यहोवाले भने निराश भएका आफ्ना भविष्यवक्‍तामा अझै पनि राम्रा गुण देख्नुभयो। अनादरपूर्ण व्यवहार गरेकोमा दण्ड दिनुको सट्टा यहोवाले योनालाई यस्तो सोचनीय प्रश्‍न सोध्नुभयो: “के रिसाउनु असल कुरो हो?” (योना ४:४) योनाले यसको जवाफ दिए त? यसबारे बाइबलले केही बताएको छैन।

१६. के-कस्ता कुरामा मानिसहरू र परमेश्‍वरको विचार फरक हुन सक्छ? योनाको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१६ ‘योनाले त्यस्तो गर्न नहुने!’ भन्‍न त सजिलो छ। तर नबिर्सनुहोस्‌, त्रुटिपूर्ण मानिस र परमेश्‍वरको विचार सधैं मिल्छ भन्‍ने छैन। कतिपय मानिसलाई यस्तो लाग्न सक्छ: यहोवाले दुष्टताको सुरुवात नै हुन दिनु हुँदैनथ्यो अथवा दुष्ट व्यक्‍तिलाई उहाँले ठाउँको ठाउँमै नाश गर्नुपर्थ्यो अथवा यो दुष्ट रीतिरिवाजलाई नाश गर्न यत्तिको ढिलो गर्नु हुँदैनथ्यो। यहोवाको सोचाइ र हाम्रो सोचाइ नमिल्दा यहोवाले होइन वास्तवमा हामीले चाहिं आफूलाई सच्याउनुपर्छ। योनाको उदाहरणले हामीलाई यही कुरा सिकाउँछ।

यहोवाले योनालाई कसरी पाठ सिकाउनुभयो?

१७, १८. (क) निनवेबाट हिंडेपछि योनाले के गरे? (ख) कुभिन्डोको बोट उम्रिंदा र नाश हुँदा योनाले कस्तो प्रतिक्रिया देखाए?

१७ योना घोसे मुन्टो लगाएर निनवेबाट हिंड्‌छन्‌। तिनी आफ्नो घरतिर होइन तर पूर्वको अग्लो पहाडी भेगतिर लाग्छन्‌। त्यहाँबाट निनवे पनि देखिन्छ। त्यहाँ तिनी एउटा छाप्रो बनाउँछन्‌ र निनवेलाई के हुँदोरहेछ भनेर हेर्न पर्खिरहन्छन्‌। तिनी अझै पनि निनवे नाश भएको हेर्न चाहन्छन्‌। ढुङ्‌गाजस्तो कठोर मन भएका यी मानिसलाई यहोवा कृपालु हुन कसरी सिकाउनुहुन्छ?

१८ रातभरमा यहोवाले कुभिन्डोको एउटा बोट उमार्नुहुन्छ। बिउँझिएपछि योना अचम्म मान्छन्‌। आफूले झिक्राझिक्री बटुलेर बनाएको छाप्रोले भन्दा कुभिन्डोको पातले पो धेरै छाया दिइरहेको थियो! योना फुरुङ्‌ङ पर्छन्‌! त्यो बोटले गर्दा “योना अत्यन्तै खुशी भए” किनभने त्यो बोट ठूलो थियो। योनाले त्यसलाई सायद परमेश्‍वरको आशिष्‌ भन्ठाने। तर यहोवाको उद्देश्‍य योनालाई चर्को घामबाट बचाउनु र तिनको रिस मार्नु मात्र थिएन। उहाँ तिनलाई अझै केही सिकाउन चाहनुहुन्थ्यो। उहाँ योनाको मनसम्मै पुग्न चाहनुहुन्थ्यो। त्यसैले परमेश्‍वरले अर्को एउटा चमत्कार पनि गर्नुभयो। त्यो बोटलाई खाइदिन उहाँले एउटा किरा खटाउनुभयो। त्यसपछि उहाँले “पूर्वीय बतास चलाइदिनुभयो” र चर्को घामले गर्दा तिनी “हैरान भए।” योना फेरि निराश भए र मर्न पाए पनि हुन्थ्यो भने।—योना ४:६-८.

१९, २०. कुभिन्डोको बोटको उदाहरण चलाउँदै यहोवाले योनासित कसरी तर्क गर्नुभयो?

१९ योना यसपटक एउटा कुभिन्डोको बोट मरेकोमा रिसाए। ‘त्यसरी रिसाउनु असल कुरा हो र?’ भनेर यहोवाले तिनलाई फेरि पनि सोध्नुभयो। गल्ती स्वीकार्नुको सट्टा आफ्नो सफाइ दिंदै योनाले यसो भने: “ज्यू, असल कुरो हो। अँ, मरुञ्जेलसम्मै म रिसाउन पनि ठीकै हो।” अब यहोवाले योनालाई पाठ सिकाउने बाटो खुल्यो।—योना ४:९.

योनालाई कृपालु हुन सिकाउन यहोवाले कुभिन्डोको बोट प्रयोग गर्नुभयो

२० आफूले केही मेहनत नगरेको बोट मर्दा योना रिसाएका थिए। त्यो कुभिन्डोको बोट रातभरमा उम्रेको थियो। त्यसलाई योनाले न रोपेका थिए न त मलजल नै गरेका थिए। त्यसैले यहोवा परमेश्‍वर योनासित यसरी तर्क गर्नुहुन्छ: “त के यति ठूलो शहर निनवे, जसमा एक लाख बीस हजारभन्दा बढ्‌ता मानिसहरू छन्‌, जसले दाहिने र देब्रे हातै चिन्‍न सक्‍तैनन्‌, जसमा यतिका वस्तुहरू पनि छन्‌, के मैले त्यसमाथि दया नगर्नु?”—योना ४:१०, ११. *

२१. (क) यहोवाले योनालाई पाठ सिकाउन कस्तो उदाहरण चलाउनुभयो? (ख) योनाको उदाहरणले आफ्नो मनोवृत्ति जाँच्न हामीलाई कसरी घचघच्याउँछ?

२१ यहोवाले यो उदाहरण चलाउँदै सिकाउन खोज्नुभएको पाठ के तपाईंले बुझ्नुभयो? त्यो बोटको हेरचाह गर्न योनाले केही पनि गरेका थिएनन्‌। अर्कोतर्फ पृथ्वीमा भएका अरू प्राणीलाई जस्तै निनवेका मानिसहरूलाई पनि यहोवाले सृष्टि गर्नुभएको थियो र तिनीहरूको हेरचाह गर्नुभएको थियो। निनवेका १,२०,००० मानिसहरू र तिनीहरूका वस्तुभाउलाई भन्दा जाबो एउटा बोटलाई योनाले माया गरिरहेका थिए। यो एकदमै नसुहाउने देखिन्छ नि, होइन र? आफ्नो स्वार्थ मात्र हेरेकोले नै योनाले यसो गरेका होइनन्‌ र? वास्तवमा आफूले छहारी पाएको बोट मरेकोले तिनी रिसाएका थिए। निनवे सहर नाश नहुँदा तिनी रिसाउनुको पछाडि पनि त्यस्तै स्वार्थी कारण थियो। आफूले सुनाएको सन्देशअनुसारै भयो भनेर के तिनी आफ्नो नाक ठड्याउन चाहँदैनथे र? योनाको उदाहरणले हामीलाई पनि आफ्नो मनोवृत्ति जाँच्न घचघच्याउँछ। हामीमध्ये कसमा पो त्यस्तो स्वार्थी झुकाव छैन र? यहोवाले हामीलाई अझै निस्स्वार्थी हुन, अझै समानुभूति देखाउन र अझै कृपालु हुन धैर्य गर्दै सिकाउनुहुन्छ। यसको लागि हामी कत्ति कृतज्ञ हुनुपर्छ!

२२. (क) कृपा देखाउने सम्बन्धमा यहोवाले बुद्धिमानीपूर्वक सिकाउँदा योनाले सिके भनेर हामी कसरी भन्‍न सक्छौं? (ख) हामी सबैले कस्तो पाठ सिक्नुपर्छ?

२२ तर के योनाले पाठ सिके त? योनाको पुस्तकको अन्तमा यहोवाले सोध्नुभएको प्रश्‍न अहिलेसम्म अनुत्तरित छ। योनाले यसको जवाफ कहिल्यै दिएनन्‌ भनेर केही आलोचकहरू भन्‍ने गर्छन्‌। वास्तवमा तिनले जवाफ दिएका छन्‌। योनाको पुस्तक नै त्यसको जवाफ हो। प्रमाणहरूले देखाएअनुसार योनाको पुस्तक तिनी आफैले लेखेका थिए। यसो सोच्नुहोस्‌ त, ती भविष्यवक्‍ता आफ्नो घरमा सुरक्षित साथ फर्के र यो सारा विवरण लेखे। हामी यस्तो कल्पना गर्न सक्छौं, एक जना वृद्ध अनि नम्र मानिसले आफ्नै गल्तीबारे लेख्दैछन्‌। तिनी आफूले गरेको विद्रोह र आफूले फिटिक्कै कृपा देखाउन नचाहेको विवरणबारे लेख्दैछन्‌। यी सब लेख्दा तिनी उदास भएर टाउको हल्लाइरहेका छन्‌। कुरा प्रस्ट छ, यहोवाले बुद्धिमानीपूर्वक सिकाउँदा तिनले सिके। हो, योनाले कृपालु हुन सिके। हामीले नि?—मत्ती ५:७ पढ्‌नुहोस्‌।

^ अनु. 6 योनाको समयमा इस्राएलको दस गोत्रे राज्यको राजधानी सामरियामा लगभग २०,००० देखि ३०,००० मानिसहरू बसोबास गर्थे भनेर अनुमान गरिएको छ। यो सङ्‌ख्या निनवेमा बस्ने मानिसहरूको चार भागको एक भाग भन्दा पनि थोरै हो। निनवे शक्‍तिमा भएको बेला सायद त्यो संसारकै ठूलो सहर कहलिएको थियो।

^ अनु. 8 पशुहरूले पनि भाङ्‌ग्रा लगाएको कुरा अनौठो लाग्न सक्छ। तर इतिहास केलाउने हो भने यस्तो घटना पहिला पनि भइसकेको थियो। ग्रीक इतिहासकार हेरोडोटसले बताएअनुसार पुरातन समयका फारसीहरूले आफ्नो प्यारो सेनापतिको मृत्युमा शोक गर्दा पाल्तुपशुलाई पनि समावेश गरेका थिए।

^ अनु. 20 निनवेका मानिसहरू दाहिने र देब्रे हातै चिन्‍न सक्दैनन्‌ भनेर बताउँदा तिनीहरू यहोवाको स्तरबारे केही थाह नभएका बालकहरू जस्तै थिए भनेर यहोवा भन्‍न खोज्दै हुनुहुन्थ्यो।