क५
ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्वरको नाम
हिब्रू भाषाको मौलिक लेखोटमा परमेश्वरको नामलाई जनाउने टेट्राग्रामटन (יהוה) लगभग ७,००० ठाउँमा पाइन्छ भन्ने कुरा बाइबलविद्हरू मानिलिन्छन्। तर थुप्रैलाई ख्रिष्टियन ग्रीक धर्मशास्त्रको मौलिक लेखोटमा भने टेट्राग्रामटन थिएन जस्तो लाग्छ। त्यसैले आजका धेरैजसो अङ्ग्रेजी बाइबलको नयाँ नियममा ‘यहोवा’ नाम राखिएको छैन। साथै हिब्रू धर्मशास्त्रबाट उद्धरण गरिएका भागहरू, जहाँ टेट्राग्रामटन पाइन्छ, ती भागहरूमा समेत थुप्रै अनुवादकले परमेश्वरको नामको सट्टा “परमप्रभु” भन्ने पदवी प्रयोग गरेका छन्।
तर नयाँ संसार अनुवाद-मा भने यसो गरिएको छैन। ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा यहोवा भन्ने नाम जम्मा २३७ पटक प्रयोग गरिएको छ। अनुवादकहरूले यसो गर्ने निर्णय गर्नुको पछाडि दुई वटा कारण छन्। ती हुन्: (१) आज हामीसित भएका ग्रीक पाण्डुलिपिहरू मौलिक लेखोटका पाण्डुलिपिहरू होइनन्। तीमध्ये धेरैजसो पाण्डुलिपि मौलिक लेखोटहरू तयार भएको लगभग २०० वर्षपछिका मात्र हुन्। (२) त्यतिबेलासम्म पाण्डुलिपिहरूको प्रतिलिपि बनाउनेहरूले या त टेट्राग्रामटनको सट्टा “परमप्रभु” अर्थ दिने ग्रीक शब्द किरिओस् प्रयोग गरे या ती पाण्डुलिपिहरूको प्रतिलिपि बनाए, जसमा पहिल्यै टेट्राग्रामाटनको सट्टा “परमप्रभु” लेखिएको थियो।
नयाँ संसार बाइबल अनुवाद समिति ग्रीक भाषाको मौलिक लेखोटहरूमा टेट्राग्रामटन थियो भन्ने कुराको ठोस प्रमाण छ भनेर ढुक्क छ। समिति त्यस्तो निष्कर्षमा पुग्नुका प्रमाणहरू यसप्रकार छन्:
-
येसु र उहाँका प्रेषितहरूको समयमा हिब्रू धर्मशास्त्रका जे-जति प्रतिलिपिहरू थिए, ती प्रतिलिपिहरूमा सबै ठाउँमा टेट्राग्रामटन थियो। बितेका समयमा थुप्रैले यस कुरामा शङ्का गर्थे। तर कुमराननजिकै भेटिएका इस्वी संवत् प्रथम शताब्दीतिरको हिब्रू धर्मशास्त्रका प्रतिलिपिहरूमा टेट्राग्रामटन पाइएकोले अहिले यस कुरामा शंका गर्ने कुनै ठाउँ छैन।
-
येसु र उहाँका प्रेषितहरूको समयमा हिब्रू धर्मशास्त्रका ग्रीक अनुवादहरूमा पनि टेट्राग्रामटन थियो। सयौँ वर्षसम्म बाइबलविद्हरूले हिब्रू भाषाको ग्रीक अनुवाद अर्थात् सेप्टुआजिन्टका पाण्डुलिपिहरूमा टेट्राग्रामटन थिएन भन्ने धारणा राखेका थिए। तर २० औँ शताब्दीको बीचतिर ग्रीक सेप्टुआजिन्टका पाण्डुलिपिहरूको केही पुराना टुक्राहरूले बाइबलविद्हरूको ध्यान खिच्यो, जुन येसुको समयको थियो। ती टुक्राहरूमा हिब्रू अक्षरमा परमेश्वरको नाम थियो। त्यसैले हामी येसुको समयको ग्रीक भाषाको प्रतिलिपिहरूमा परमेश्वरको नाम थियो भन्न सक्छौँ।
तर इस्वी संवत् चौथो शताब्दीसम्म आइपुग्दा ग्रीक सेप्टुआजिन्ट-का महत्त्वपूर्ण पाण्डुलिपिहरू, जस्तै: कोडेक्स भाटिकानस र कोडेक्स साइनाइटिकसमा उत्पत्तिदेखि मलाकिसम्मका किताबहरूमा परमेश्वरको नाम थिएन। (तर यीभन्दा अगाडिका पाण्डुलिपिहरूमा भने परमेश्वरको नाम थियो।) त्यसैले नयाँ नियम भनेर चिनिने ग्रीक धर्मशास्त्रको चौथो शताब्दीका जति पनि पाण्डुलिपिहरू अहिले सुरक्षित छन्, त्यसमा परमेश्वरको नाम उल्लेख नहुनुमा छक्क मान्नु पर्दैन।येसुले यसो भन्नुभयो: “म आफ्नो बुबाको नाममा आएको छु।” साथै आफूले गरेको सबै काम “बुबाको नाममा” गरिएको हो भनेर पनि उहाँले जोड दिनुभयो
-
येसु अक्सर परमेश्वरको नाम लिनुहुन्थ्यो र अरूलाई पनि यो नाम बताउनुहुन्थ्यो भनेर ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा उल्लेख गरिएको छ। (युहन्ना १७:६, ११, १२, २६) येसुले यसो भन्नुभयो: “म आफ्नो बुबाको नाममा आएको छु।” साथै आफूले गरेको सबै काम “बुबाको नाममा” गरिएको हो भनेर पनि उहाँले जोड दिनुभयो।—युहन्ना ५:४३; १०:२५.
-
परमेश्वरको प्रेरणाद्वारा लेखिएको ख्रिष्टियन ग्रीक धर्मशास्त्र पवित्र हिब्रू धर्मशास्त्रमा थपिएको भाग भएकोले यसबाट परमेश्वरको नाम अचानक हराउनु स्वाभाविक देखिँदैन। इस्वी संवत् प्रथम शताब्दीको बीचतिर चेला याकुबले यरुसलेमका एल्डरहरूलाई यसो भने: “अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्न परमेश्वरले कसरी पहिलो चोटि तिनीहरूतर्फ ध्यान दिनुभयो भनेर सिमियोनले विस्तृत रूपमा बताइसकेका छन्।” (प्रेषित १५:१४) यदि प्रथम शताब्दीमा कसैलाई पनि परमेश्वरको नाम थाह थिएन वा कसैले पनि उहाँको नाम लिँदैनथ्यो भने याकुबले यसो भन्नु तार्किक हुने थिएन।
-
ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्वरको नामको छोटो रूप पाइन्छ। प्रकाश १९:१, ३, ४ र ६ पदमा चलाइएको “हल्लेलूयाह” भन्ने हिब्रू शब्दमा परमेश्वरको नाम लुकेको छ। हल्लेलूयाहको शाब्दिक अर्थ हो, “याहको प्रशंसा गर।” अनि “याह” ‘यहोवा’ नामको छोटो रूप हो। ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा पाइने थुप्रै नाममा “याह” नाम जोडिएको छ। थुप्रै किताबमा बताइएअनुसार येसु नामको अर्थ पनि “यहोवा उद्धारक हुनुहुन्छ” भन्ने हो।
-
यहुदी ख्रिष्टियनहरूले आफ्ना किताबहरूमा परमेश्वरको नाम प्रयोग गरेका थिए भनेर पुराना यहुदी किताबहरूले देखाउँछ। इस्वी संवत् ३०० तिरको तोसेफ्ता नाम गरेको किताब यसको एउटा उदाहरण हो। मौखिक नियमहरूले भरिएको यस किताबमा विश्रामदिनको बेला ख्रिष्टियनहरूका किताबहरू जलाउने विषयमा यस्तो लेखिएको पाइन्छ: “उनीहरू प्रचारकहरू र मिनिमहरूका (सम्भवतः मिनिमहरू यहुदी ख्रिष्टियनहरू थिए) किताबहरू जलाउँछन्। यदि उनीहरूको हातमा यी किताबहरू परे भने उनीहरूलाई ती किताबहरूका साथै त्यसमा भएको
परमेश्वरको नामसमेत जलाउने छुट छ।” इस्वी संवत् दोस्रो शताब्दीको सुरुतिर गालीलमा बस्ने योसी नाम गरेका एक जना रब्बीले हप्ताको अरू दिन ख्रिष्टियनहरूका किताबहरू जलाउने सन्दर्भमा चाहिँ त्यही किताबमा यसो भने: “ती किताबहरूमा (ती किताबहरू ख्रिष्टियन किताबहरू हुन् भन्ने धारणा छ) जहाँ-जहाँ परमेश्वरको नाम लेखिएको छ, ती भागहरू काटेर राखिन्छ अनि बाँकीचाहिँ जलाइन्छ।” -
केही बाइबलविद् ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा जहाँ-जहाँ हिब्रू धर्मशास्त्रबाट उद्धरण गरिएको छ, ती भागहरूमा परमेश्वरको नाम हुन सक्छ भनी स्विकार्छन्।
दी एङ्कर बाइबल डिक्सनरी-मा “नयाँ नियममा टेट्राग्रामटन” भन्ने शीर्षकमुनि यस्तो लेखिएको छ: “नयाँ नियमका किताबहरू लेखिँदा जहाँ-जहाँ पुरानो नियमबाट उद्धरण गरियो, ती भागहरूमध्ये केही ठाउँमा वा सबै ठाउँमा टेट्राग्रामटन अर्थात् परमेश्वरको नाम याहवे थियो भनेर केही प्रमाणहरूले देखाउँछ।” बाइबलविद् जर्ज हावर्ड यसो भन्छन्: “सुरु-सुरुका ख्रिष्टियनहरूले प्रयोग गर्ने ग्रीक बाइबलका [सेप्टुआजिन्ट-का] प्रतिलिपिहरूमा टेट्राग्रामटन थियो। त्यसैले नयाँ नियमका लेखकहरूले सेप्टुआजिन्ट-बाट उद्धरण गर्दा पक्कै पनि टेट्राग्रामटनलाई जस्ताको त्यस्तै सारेको हुनुपर्छ।” -
लुका २:१५ र यहुदा १४ मा “हेओबा” लेखे अनि आफ्नो अनुवादको लगभग १०० वटा भन्दा धेरै ठाउँको फुटनोटमा ‘यहाँ परमेश्वरको नाम प्रयोग गर्नु पनि उचित हुन्छ’ भनेर उल्लेख गरे। माथिका अनुवादहरू तयार हुनुभन्दा धेरै अघि अर्थात् १६ औँ शताब्दीदेखि ख्रिष्टियन ग्रीक धर्मशास्त्रको हिब्रू अनुवादहरूको थुप्रै पदमा टेट्राग्रामटन प्रयोग गरिएको थियो। जर्मन भाषाको बाइबलमा मात्रै ख्रिष्टियन ग्रीक धर्मशास्त्रको ११ वटा संस्करणमा “जेहोभा” (वा हिब्रू भाषाको उच्चारण “याहवे”) लेखिएको छ अनि चार वटा अनुवादमा चाहिँ “परमप्रभु” लेखेर त्यसको पछाडि कोष्ठकमा परमेश्वरको नाम लेखिएको छ। जर्मन भाषाको ७० भन्दा धेरै अनुवादमा परमेश्वरको नाम कि त फुटनोटमा कि टिप्पणीमा समावेश गरिएको छ।
नाम चलेका बाइबल अनुवादकहरूले ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्वरको नाम प्रयोग गरेका छन्। तीमध्ये केही अनुवादकहरूले नयाँ संसार अनुवाद उपलब्ध हुनुभन्दा धेरै अघि नै त्यसो गरेका थिए। ती अनुवादकहरूको नाम र तिनीहरूको अनुवाद यसप्रकार छन्: हर्मन हेनफेटरको अ लिट्रल ट्रान्सलेसन अफ द न्यू टेस्टामेन्ट . . . फ्रम द टेक्स्ट अफ द भ्याटिकन म्यान्यूस्क्रिप्ट (१८६३); बेन्जामिन विल्सनको दी इम्फाटिक डाइग्लोट (१८६४); जर्ज बार्कर स्टिभन्सको दी इपिसल्स् अफ पल इन मोर्डन इङ्लिस (१८९८); डब्लू. जी. रदरफोर्डको सेन्ट पल्स् इपिसल टु द रोमन्स (१९००); लन्डनका बिसप जे. डब्लू. सी. वान्डको द न्यू टेस्टामेन्ट लेटर्स् (१९४६)। साथै २० औँ शताब्दीको सुरुतिर स्पेनिश अनुवादक पाब्लो बेस्सनले -
सयभन्दा धेरै भाषाका बाइबल अनुवादहरूमा ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्वरको नाम पाइन्छ। अमेरिकाका आदिवासीहरूले बोल्ने भाषाहरूको बाइबलमा र अफ्रिका, एसिया, युरोप अनि प्रशान्त महासागरका टापुहरूमा बोलिने भाषाहरूको बाइबलमा परमेश्वरको नाम थुप्रै चोटि प्रयोग गरिएको छ। (पृष्ठ २५१० र २५११ हेर्नुहोस्।) यी भाषाहरूका बाइबल अनुवादकहरूले माथि चर्चा गरिएका कारणहरूको आधारमा आफ्नो अनुवादमा परमेश्वरको नाम उल्लेख गर्ने निर्णय गरे। ख्रिष्टियन ग्रीक धर्मशास्त्रका यी अनुवादहरूमध्ये केही त हालसालै प्रकाशित भएका हुन्। जस्तै, रोतुमन बाइबल (१९९९), जसमा ४८ वटा पदमा ५१ चोटि “जिहोभा” लेखिएको छ र इन्डोनेसियाको बाताक (तोबा) संस्करण (१९८९), जसमा ११० चोटि “जाहोवा” लेखिएको छ।
ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्वरको नाम जहाँ-जहाँ हुनुपर्ने हो, त्यहाँ-त्यहाँ ‘यहोवा’ नाम पुनर्स्थापित गर्नुको पछाडि ठोस कारण छ भन्ने कुरा स्पष्ट छ। नयाँ संसार अनुवाद-का अनुवादकहरूले ठीक यसै गरेका छन्। तिनीहरू परमेश्वरको नामको गहिरो आदर गर्छन् अनि उहाँको डर मान्ने भएकोले मौलिक लेखोटमा भएको कुनै पनि कुरा नहटाउन सजग छन्।—प्रकाश २२:१८, १९.