न्यायकर्ता १७:१-१३

  • मिकाका मूर्तिहरू र उनका पुजारी (१-१३)

१७  एप्रैमको पहाडी इलाकामा+ मिका नाम गरेका एक जना मानिस बस्थे। २  तिनले आफ्नी आमालाई भने: “तपाईँलाई याद होला, तपाईँसँग भएको ११ सय टुक्रा चाँदी चोरी भएको थियो र त्यो चोर्नेलाई तपाईँले सराप दिनुभएको थियो। त्यो सराप मैले सुनेको थिएँ। हेर्नुहोस्‌, त्यो चाँदी मसित छ। मैले नै त्यो लिएको थिएँ।” यो सुनेर तिनकी आमाले भनिन्‌: “बाबु, यहोवा परमेश्‍वरले तिमीलाई आशिष्‌ देऊन्‌!” ३  त्यसपछि तिनले ११ सय टुक्रा चाँदी आफ्नी आमालाई फर्काइदिए। तर तिनकी आमाले भनिन्‌: “यो चाँदी म यहोवा परमेश्‍वरको लागि अलग्गै छुट्ट्याएर राख्छु। यसबाट तिमीले दुई वटा मूर्ति बनाऊ, एउटा खोपेर अनि अर्कोचाहिँ पगालेर।+ यो चाँदी तिम्रै लागि हो।” ४  मिकाले चाँदी फर्काएपछि तिनकी आमा २०० टुक्रा चाँदी लिएर सुनारकहाँ गइन्‌। अनि त्यसबाट सुनारले एउटा खोपेर अनि अर्को चाहिँ पगालेर दुई वटा मूर्ति बनाइदिए। त्यसपछि ती मूर्तिहरू मिकाको घरमा राखियो। ५  मिकाको घरमा एउटा पूजाथान थियो। तिनले एउटा एपोद*+ र कुलदेवताका मूर्तिहरू*+ बनाए। अनि तिनले आफ्नो एक जना छोरालाई पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरे।+ ६  त्यतिबेला इस्राएलमा कुनै राजा थिएनन्‌।+ त्यसैले हरेकले आफूलाई जे सही लाग्छ, त्यही गर्थ्यो।+ ७  यहुदाको बेतलेहेममा+ एक जना जवान मानिस केही समयदेखि यहुदाको कुलका मानिसहरूसँगै बसोबास गरिरहेका थिए। तिनी लेवी थिए।+ ८  एकदिन तिनी यहुदाको बेतलेहेम सहर छोडेर गए र बसोबास गर्नको लागि अर्कै ठाउँ खोज्न थाले। यात्रा गर्दै जाँदा तिनी एप्रैमको पहाडी इलाकामा मिकाको घरमा पुगे।+ ९  तिनलाई देखेर मिकाले सोधे: “तिमी कहाँबाट आयौ?” तिनले भने: “म यहुदाको बेतलेहेमबाट आएको हुँ र म लेवी हुँ। बस्नको लागि ठाउँ खोज्दै हिँडिरहेको छु।” १०  त्यसपछि मिकाले तिनलाई भने: “तिमी मसँगै बस अनि मेरो सल्लाहकार* र पुजारी बनिदेऊ। म तिमीलाई एक जोर लुगा, खानेकुरा र हरेक वर्ष १० टुक्रा चाँदी दिनेछु।” यो सुनेपछि ती लेवी घरभित्र गए। ११  ती लेवी मिकाको घरमा बस्न राजी भए र तिनी मिकाको छोराजस्तै भए। १२  साथै मिकाले ती लेवीलाई पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरे+ र तिनी मिकाकै घरमा बस्न थाले। १३  मिकाले भने: “अब भने म ढुक्क छु, यहोवा परमेश्‍वरले मलाई आशिष्‌ दिनुहुनेछ किनभने एक जना लेवी मेरो पुजारी भएका छन्‌।”

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
हिब्रू भाषामा टेराफिम। शब्दावलीमा “टेराफिम” हेर्नुहोस्‌।
शा., “बुबा।”