के बाइबलले लागूपदार्थको कुलत छोड्न मदत गर्न सक्छ?
हरेक वर्ष विभिन्न कुलतमा फसेका लाखौँले ज्यान गुमाउँछन्। त्यसमा लागूपदार्थको दुर्व्यसनीहरू पनि पर्छन्। कोभिड-१९ महामारीको बेला लागूपदार्थको कुलतमा फस्नेहरूको सङ्ख्या झनै बढेको पाइयो। बाइबलले थुप्रैलाई लागूपदार्थको कुलत छोड्न मदत गरेको छ। यदि तपाईँ पनि त्यस्तो कुलतमा फस्नुभएको छ र त्यो छोड्न प्रयास गर्दै हुनुहुन्छ भने बाइबलले तपाईँलाई पनि मदत गर्न सक्छ। a
यस लेखमा
कुलत छोड्न बाइबलले कसरी मदत गर्न सक्छ?
अनुसन्धानहरूले देखाएअनुसार मानिसहरूले अक्सर एक्लोपन, तनाव, चिन्ता अनि डिप्रेसनको सामना गर्न नसकेकोले लागूपदार्थको सहारा लिन्छन्। बाइबलले तपाईँलाई यस्ता समस्याहरूको सामना गर्न मदत दिन सक्छ। साथै बाइबलले तपाईँ कसरी परमेश्वरको घनिष्ठ मित्र बन्न सक्नुहुन्छ भनेर पनि सिकाउँछ। (भजन २५:१४) कतिपय समस्याहरू हामी आफ्नै भरमा पार लगाउन सक्दैनौँ। तर परमेश्वरसित मित्रता गाँस्यौँ भने हामी ती समस्याहरू सामना गर्न बल पाउनेछौँ।—मर्कुस ११:२२-२४.
कुलत छोड्न चाल्नुपर्ने चार वटा कदम
१. यहोवा परमेश्वरलाई चिन्नुहोस्। b (युहन्ना १७:३) उहाँ सृष्टिकर्ता हुनुहुन्छ र उहाँसित असीमित शक्ति छ। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा उहाँ तपाईँको मायालु बुबा हुनुहुन्छ। उहाँ तपाईँसित घनिष्ठ सम्बन्ध गाँस्न र तपाईँलाई बल दिन चाहनुहुन्छ। (यसैया ४०:२९-३१; याकुब ४:८) उहाँ तपाईँलाई असाध्यै प्रेम गर्नुहुन्छ। उहाँसित मित्रता गाँस्नुभयो भने तपाईँले उज्ज्वल भविष्यको आशा पाउनुहुनेछ।—यर्मिया २९:११; युहन्ना ३:१६.
२. यहोवा परमेश्वरसित मदत माग्नुहोस्। परमेश्वरको निम्ति “पवित्र अनि ग्रहणयोग्य” हुन तपाईँले आफ्नो कुलत छोड्नुपर्छ। (रोमी १२:१) त्यसैले प्रार्थना गरेर परमेश्वरसित मदत माग्नुहोस्। उहाँले तपाईँलाई कुलत त्याग्न “असाधारण शक्ति” दिनुहुनेछ। (२ कोरिन्थी ४:७; लुका ११:१३) साथै तपाईँले परमेश्वरलाई मनपर्ने “नयाँ व्यक्तित्व” धारण गर्न सक्नुहुनेछ।—कलस्सी ३:९, १०.
३. परमेश्वरको सोचाइ बुझ्नुहोस्। (यसैया ५५:९) उहाँले तपाईँलाई आफ्नो ‘सोच्ने तरिकालाई नयाँ बनाउन’ मदत गर्नुहुनेछ र तपाईँले कुलत त्याग्न सक्नुहुनेछ। (एफिसी ४:२३) बाइबलले तपाईँलाई परमेश्वरको सोचाइ बुझ्न मदत गर्छ। त्यसैले तपाईँले नियमित रूपमा बाइबल पढ्नुपर्छ। (भजन १:१-३) बाइबलको कुनै-कुनै कुरा बुझ्न हामीलाई अरूको मदत चाहिन्छ। (प्रेषित ८:३०, ३१) यहोवाका साक्षीहरू तपाईँलाई त्यस्तो मदत दिन तयार छन्। तपाईँ तिनीहरूसित निश्शुल्क बाइबल अध्ययन गर्न सक्नुहुन्छ। तपाईँलाई हाम्रा सभाहरूमा पनि स्वागत छ। त्यहाँ तपाईँले बाइबलका कुराहरू सिक्न सक्नुहुनेछ र ती आफ्नो जीवनमा कसरी लागू गर्ने भनेर बुझ्न सक्नुहुनेछ।
४. राम्रो साथीहरू छान्नुहोस्। तपाईँका साथीहरूले तपाईँमा राम्रो या नराम्रो प्रभाव पार्न सक्छन्। तपाईँले कुलत त्याग्न सक्नु या नसक्नुमा साथीहरूको ठूलो हात हुन्छ। (हितोपदेश १३:२०) परमेश्वरका उपासकहरूमाझ तपाईँ असल साथीहरू पाउन सक्नुहुन्छ। परमेश्वर तपाईँले त्यस्ता व्यक्तिहरूलाई साथी बनाएको चाहनुहुन्छ। (भजन ११९:६३; रोमी १:१२) मनोरञ्जन छान्दा पनि होसियार हुनुपर्छ। तपाईँले पढ्ने, सुन्ने अनि हेर्ने कुराले तपाईँमा राम्रो या नराम्रो प्रभाव पार्न सक्छ। सही काम गर्ने तपाईँको सङ्कल्पलाई कमजोर बनाउने कुराहरूदेखि टाढै रहनुहोस्।—भजन १०१:३; आमोस ५:१४.
कुलत छोड्न मदत गर्ने बाइबल पदहरू
भजन २७:१०: “मेरा आमाबुबाले मलाई त्यागे पनि यहोवा आफैले मलाई अङ्गाल्नुहुनेछ।”
“मलाई जन्म दिने बुबालाई मैले कहिल्यै चिनिनँ। त्यो कुराले मलाई भित्रभित्रै सताइरहन्थ्यो। तर मैले यहोवा परमेश्वरलाई चिन्न पाएँ। उहाँ वास्तविक हुनुहुन्छ र मलाई माया गर्नुहुन्छ भनेर बुझ्न सकेँ। यसले गर्दा मेरो जीवन अर्थपूर्ण भयो र मैले कुलत त्याग्न सकेँ।”—हाइटीका विल्बि।
भजन ५०:१५: “दुःखको बेला मलाई पुकार। म तिमीहरूलाई बचाउनेछु।”
“ड्रग्स छोड्न मैले धेरै प्रयास गरेँ। हुनत म बेलाबेलामा चुक्थेँ र फेरि खान थाल्थेँ। तर यस पदले मलाई हार नमान्न मदत गरेको छ। यहोवाले आफ्नो प्रतिज्ञाअनुसारै मलाई धेरै चोटि बचाउनुभएको छ।”—युक्रेनका सर्हि।
हितोपदेश ३:५, ६: “आफ्नो सारा हृदयले यहोवामा भरोसा राख, आफ्नै बुद्धिमा भर नपर। जुनसुकै काम गर्दा उहाँलाई सम्झ; उहाँले तिमीलाई सही बाटो देखाउनुहुनेछ।”
“यी पदहरूबाट मैले आफैमा होइन बरु यहोवा परमेश्वरमा भरोसा राख्न सिकेँ। उहाँको मदत पाएर मैले जीवनमा ठूलो परिवर्तन गर्न सकेँ।”—इटालीका मिकेले।
यसैया ४१:१०: “नडराऊ किनकि म तिमीसित छु; फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ। म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु। धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।”
“ड्रग्स लिन नपाउँदा मलाई असाध्यै छटपटी हुन्थ्यो। तर त्यस्तो बेला परमेश्वरले मलाई सम्हाल्नुहुनेछ भनेर यस पदबाट बुझ्न सकेँ। हुन पनि उहाँले मलाई थुप्रै चोटि सम्हाल्नुभएको छ।”—दक्षिण अफ्रिकाका एन्डि।
१ कोरिन्थी १५:३३, फुटनोट: “नबहकिओ। नराम्रो सङ्गतले नैतिकतालाई भ्रष्ट पार्छ।”
“नराम्रो साथी सङ्गतले गर्दा मैले ड्रग्स लिन थालेँ। तर त्यस्तो व्यक्तिहरूसित सङ्गत गर्न छोडेर राम्रो व्यक्तिहरूलाई साथी बनाएपछि मैले कुलत त्याग्न सकेँ।”—केन्याका आइज्याक।
२ कोरिन्थी ७:१: “तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ।”
“यस पदले मलाई फेरि कुलतमा नफस्ने अनि आफ्नो शरीरलाई हानि पुऱ्याउने कुनै काम नगर्ने मेरो मनोबललाई अझ बलियो बनाएको छ।”—कोलम्बियाकी रोसा।
फिलिप्पी ४:१३: “किनकि जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”
“मैले आफ्नै भरमा ड्रग्सको कुलत त्याग्न सक्दिनँ भनेर मलाई थाह थियो। त्यसैले मैले परमेश्वरसित मदत मागेँ। उहाँले मलाई कुलत त्याग्न बल दिनुभयो।”—इटालीकी पट्रिसिया।
बाइबलको मदत पाएर कुलत छोड्न सकेका व्यक्तिहरूको अनुभव
जोसेफ इरेनबोगेन हिंस्रक वातावरणमा हुर्केका थिए। तिनी रक्सी, चुरोट, गाँजा अनि हेरोइनको कुलतमा फसे। कतिपटक त तिनी ड्रग्सको ओभरडोजले गर्दा झन्डै मरेका थिए। तर खासगरि एउटा बाइबल पदले कुलत त्याग्ने तिनको मनोबल बलियो बनायो। तिनको अनुभव पढ्न “मैले स्त्रीहरूलाई र आफैलाई आदर गर्न सिकेँ” भन्ने लेख हेर्नुहोस्।
डिमीट्रि कोर्सुनोभले रक्सीको कुलत त्याग्न निकै सङ्घर्ष गर्नुपरेको थियो। तिनले कसरी कुलत त्याग्न सके भनेर थाह पाउन आफ्नो जीवनदेखि म वाक्कै भइसकेको थिएँ भिडियो हेर्नुहोस्।
के बाइबलले कुलत त्याग्न औषधी-उपचार गर्नुलाई निषेध गर्छ?
अहँ, गर्दैन। बरु बाइबल यसो भन्छ: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई चिकित्सकको खाँचो पर्छ।” (मत्ति ९:१२, फुटनोट) लागूऔषध र त्यसको प्रयोगबारे अनुसन्धान गर्ने अमेरिकाको एउटा संस्था यसो भन्छ: “लागूपदार्थको दुर्व्यसन एउटा रोग नै हो। मनोबल अनि आत्मसंयम हुँदैमा लागूपदार्थको कुलत त्याग्न सकिँदैन। हुनत हो, परमेश्वरले कुलत त्याग्न मदत गर्नुहुन्छ तर बाइबलको सल्लाह लागू गरेर कुलत त्यागेका थुप्रैलाई औषधी-उपचार पनि चाहिएको थियो। c जस्तै, एलन यसो भन्छन्: “मैले रक्सीको कुलत त्याग्न निकै प्रयास गरिरहेको थिएँ तर रक्सी नखाँदा जीउ असाध्यै दुख्थ्यो; सहनै सक्दिनथेँ। हुनत मैले बाइबलको सल्लाह पनि लागू गर्दै थिएँ तर त्यतिले मात्र पुगेन। औषधी-उपचार नै गर्नुपर्ने भयो।”
के बाइबलले उपचारको लागि लागूऔषधीको प्रयोग गर्न निषेध गर्छ?
गर्दैन। बाइबलमा रोगको उपचार गर्न वा जीवनको अन्तिम क्षणमा पुगेकाहरूको पीडा कम गर्न रक्सी प्रयोग गर्नेबारे बताइएको छ। (हितोपदेश ३१:६; १ तिमोथि ५:२३) तर रक्सीजस्तै पीडा कम गर्न प्रयोग गरिने औषधीहरूको पनि लत लाग्न सक्छ। त्यसैले डाक्टरले लेखिदिएको पेनकिलर प्रयोग गर्ने सन्दर्भमा पनि होस पुऱ्याउनुपर्छ।—हितोपदेश २२:३.
a यस लेखमा खासगरि लागूपदार्थको कुलत छोड्नेबारे छलफल गरिएको छ। तर यसमा पाइने बाइबल सिद्धान्तहरूले रक्सी, चुरोट, खानेकुरा, जुवा, अश्लील सामग्री वा सामाजिक सञ्जालको कुलतमा फसेकाहरूलाई पनि मदत गर्न सक्छ।
b परमेश्वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्।
c उपचार केन्द्र, हस्पिटल र पुनर्स्थापना केन्द्रहरूबाट कुलत त्याग्न मदत पाउन सकिन्छ। प्रत्येकले कुनचाहिँ उपचार गर्ने भनेर सोचविचार गरेर निर्णय गर्नुपर्छ।—हितोपदेश १४:१५.