भिगन जीवनशैली—यसबारे बाइबल के भन्छ?
अहिले संसारमा थुप्रै मानिस भिगन जीवनशैलीतर्फ आकर्षित भइरहेका छन्।
“भिगन जीवनशैली एउटा यस्तो जीवनशैली हो, जसमा मानिसहरू पशुपक्षीलाई खानेकुरा, लुगा वा अन्य प्रयोजनको लागि हानि पुऱ्याउनु हुँदैन र क्रूर व्यवहार गर्नु हुँदैन भन्ने सोचाइ राख्छन्।”—द भिगन सोसाइटी।
केही मानिस पशुपक्षीप्रतिको मायाले मात्र होइन, पर्यावरणप्रतिको सचेतना, स्वास्थ्य वा धार्मिक आस्थाका कारण पनि भिगन जीवनशैली अपनाउँछन्।
“भिगन जीवनशैली अन्य खानपानसम्बन्धी जीवनशैलीभन्दा फरक छ। किनकि मानिसहरू यसलाई एउटा विश्वास, नैतिकताको आधारमा गरिने छनौट र संसारलाई अझै राम्रो बनाउने एउटा अभियानको रूपमा हेर्छन्।”—ब्रिटानिका एकेडेमिक।
के भिगन जीवनशैलीले पृथ्वीका समस्याहरू हटाउन सक्छ? यसबारे बाइबल के भन्छ?
मानिस र पशुपक्षीप्रति परमेश्वरको दृष्टिकोण
हाम्रो सृष्टिकर्ता यहोवा परमेश्वर a मानिसलाई जनावरभन्दा श्रेष्ठ ठान्नुहुन्छ र उहाँले मानिसलाई जनावरमाथि अधिकार गर्ने अनुमति दिनुभएको छ भनेर बाइबलमा बताइएको छ। (उत्पत्ति १:२७, २८) पछि गएर परमेश्वरले मानिसहरूलाई पशुपक्षीको मासु खाने अनुमति दिनुभयो। (उत्पत्ति ९:३) तर उहाँ पशुपक्षीलाई गरिने दुर्व्यवहारलाई बेवास्ता गर्नुहुन्न।—हितोपदेश १२:१०.
मासु खाने वा नखाने, व्यक्तिगत छनौटको b कुरा हो। परमेश्वरले हामीलाई यही छनौटको आधारमा असल वा खराब ठहराउनुहुन्न। (१ कोरिन्थी ८:८) त्यसैले खानेकुरासम्बन्धी अरूले गरेको निर्णयको हामीले आलोचना गर्नु हुँदैन।—रोमी १४:३.
सुन्दर भविष्य—कसरी?
हामीले अपनाउने जीवनशैलीले संसारका समस्याहरूको समाधान गर्न सक्दैन भनेर बाइबलबाट बुझ्न सक्छौँ। अहिले संसारमा भइरहेका थुप्रै समस्याको जड संसारको राजनैतिक, सामाजिक र आर्थिक प्रणाली हो। यसको समाधान कुनै मानिसले गर्न सक्दैन। यसबारे बाइबल यसो भन्छ:
“जे टेढो छ, त्यसलाई सीधा पार्न सकिँदैन।”—उपदेशक १:१५.
सृष्टिकर्ताले हामीले भोगिरहेका समस्याहरू समाधान गर्नुहुनेछ। यसबारे बाइबलमा प्रतीकात्मक रूपमा यसो भनिएको छ:
“मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ किनकि पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए अनि समुद्र पनि रहेन।”—प्रकाश २१:१.
परमेश्वरले “पहिलेको आकाश”-को ठाउँमा “नयाँ आकाश” स्थापना गर्नुहुनेछ। भन्नुको मतलब उहाँले मानव सरकारहरूलाई हटाएर स्वर्गीय राज्य स्थापना गर्नुहुनेछ। उहाँको राज्यले “पहिलेको पृथ्वी”-लाई अर्थात् दुष्ट मानिसहरूलाई हटाउनेछ र “नयाँ पृथ्वी” अर्थात् राजीखुसीले यस राज्यको अधीनमा बस्ने मानिसहरूमाथि शासन गर्नेछ।
मानिसहरूले परमेश्वरको राज्यमा मात्रै पशुपक्षी र वातावरणलाई कुनै हानि नपुऱ्याई जीवन बिताउन सिक्नेछन्।—यसैया ११:६-९.
b बाइबलमा हामीलाई ‘रगतबाट अलग रहनू’ भनेर आज्ञा दिइएको छ। (प्रेषित १५:२८, २९) यसको अर्थ हामीले रगत पिउनु हुँदैन अनि रगत ननिथारिएको मासु खानु हुँदैन न त रगत मिसाइएको कुनै खानेकुरा नै खानु हुन्छ।