जागा रहो!
राजनीतिज्ञहरू आरमागेडोनको चेतावनी दिन्छन्—यसबारे बाइबल के भन्छ?
अक्टोबर १०, २०२२ सोमबार बिहान रूसले युक्रेनको विभिन्न सहरहरूमाथि क्षेप्यास्त्र प्रहार गऱ्यो किनभने त्यसको दुई दिनअघि युक्रेनले क्राइमिया र रूसलाई जोड्ने मुख्य पुललाई बम विस्फोट गरेर ध्वस्त पारेको थियो। राजनीतिज्ञहरूले चाँडै आरमागेडोन आउनेछ भनेर चेतावनी दिएको केही समयमै यी घटनाहरू भएका थिए।
“[अमेरिकी राष्ट्रपति जोन एफ.] केनेडीको समयमा भएको क्युबेली क्षेप्यास्त्र सङ्कटदेखि यता हामी आरमागेडोनको यति नजिक कहिल्यै पुगेका थिएनौँ। . . . आणविक हतियारहरूको यत्ति धेरै प्रयोग भएको कुरा विचार गर्दा मलाई लाग्छ आरमागेडोन भएरै छोड्नेछ।”—अमेरिकी राष्ट्रपति जो बाइडन, अक्टोबर ६, २०२२
“आरमागेडोन पक्कै आउनेछ अनि यसले पूरै पृथ्वीको लागि ठूलो खतरा निम्त्याउनेछ।”—आणविक हतियारको प्रयोगले निम्त्याउन सक्ने नतिजाबारे सोधिँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएको जवाफ, बी बी सी समाचार, अक्टोबर ८, २०२२
के आणविक हतियारको प्रयोगले आरमागेडोन निम्त्याउनेछ? यसबारे बाइबल के भन्छ?
के आणविक हतियारको प्रयोगले आरमागेडोन निम्त्याउनेछ?
निम्त्याउनेछैन। “आरमागेडोन” शब्द बाइबलमा एक पटक मात्र प्रयोग गरिएको छ। (प्रकाश १६:१६) यसले राष्ट्रहरूबीच हुने युद्धलाई नभई परमेश्वर र “पृथ्वीभरिका राजाहरू”-बीच हुने युद्धलाई बुझाउँछ। (प्रकाश १६:१४) परमेश्वरले आरमागेडोनको युद्धमा मानव राज्यहरूलाई नाश गर्नुहुनेछ।—दानिएल २:४४.
आरमागेडोनबारे थप कुरा जान्नको लागि आरमागेडोनको युद्ध भनेको के हो? भन्ने लेख पढ्नुहोस्।
के आणविक युद्धले पृथ्वी र मानिसजातिको विनाश गर्नेछ?
गर्नेछैन। मानव शासकहरूले भविष्यमा पनि आणविक हतियारहरू प्रयोग गर्नेछन् तर परमेश्वरले त्यसद्वारा पृथ्वीलाई विनाश हुन दिनुहुनेछैन। बाइबल यसो भन्छ:
“पृथ्वी भने सधैँभरि रहिरहन्छ।”—उपदेशक १:४.
“धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन् र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्।”—भजन ३७:२९.
तर बाइबल भविष्यवाणी र अहिले भइरहेका घटनाहरूले हामी मानव इतिहासको निर्णायक मोडमा पुग्नै लागेका छौँ भनेर सङ्केत गर्छ। (मत्ति २४:३-७; २ तिमोथि ३:१-५) हाम्रो भविष्यको विषयमा बाइबलले के बताएको छ भनेर बुझ्न चाहनुहुन्छ भने निश्शुल्क बाइबल अध्ययन गर्नुहोस्।